कोप–२६ पछिको मार्गचित्र- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

कोप–२६ पछिको मार्गचित्र

वित्त, अनुकूलन र हानिनोक्सानीका विषयमा नेपालले उठाएका विषयले ठाउँ पाए पनि कतिपय मुद्दा एउटा देशको मात्र छैनन्
अब्दुल्लाह मियाँ

काठमाडौँ — ठ्याक्कै एक वर्षअघि बेलायती सांसद र ‘कोप–२६’ को अध्यक्षसमेत रहेका आलोक शर्मा नेपाल भ्रमणमा आए, र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतसँग भेटेर जलवायु परिवर्तनको मुद्दामा बहस गरे ।

त्यही मौकामा उनी मुस्ताङ भ्रमण पनि गएर त्यो भ्रमणमा उनले जलवायु परिवर्तनले हिमाली समुदायको जनजीवनमा पारेको वास्तविक प्रभाव प्रत्यक्ष देखे ।

त्यसको आठ महिनापछि गत कात्तिकमा बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा भएको कोप–२६ को उद्घाटन सत्रमै शर्माले आफूले भ्रमण गरेको मुस्ताङको प्रसंग कोट्याए । विभिन्न देशका राष्ट्रप्रमुख र कार्यकारी तथा मन्त्रीहरू, करिब दुई सय देशका उच्चअधिकारी तथा विज्ञहरूमाझ जलवायु परिवर्तनका कारण मुस्ताङजस्ता हिमाली क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर गरेको, बाढीपहिरो र बसाइँ सराइ बढेको देखेर आएकाले हिमाल र हिमाली क्षेत्रका मुद्दालाई कोप–२६ मा महत्त्वपूर्ण स्थान दिनुपर्ने उनको तर्क थियो ।

ग्लास्गो सम्मेलन चलिरहँदा (अन्तिम दिन) शर्माले अनुभव गरेझैं सुनाएजस्तै मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटको सिरानमा मानापाथी हिमालको फेदीबाट हिमपहिरो झर्‍यो र तल्लोतटीय क्षेत्रका बस्तीमा भागदौड मच्चिँदा ११ जना घाइते भए भने हिमपहिरोमा करिब ४ सय ४६ चौंरी परे । हुन त, हिमालय क्षेत्रमा त्यस्तो किसिमको हिमपहिरो र क्षति पहिलो पटक थिएन र नौलो थिएन । तर, त्यस्ता घटनाका कारण हुने मानवीय र धनको क्षतिको परिमाण र घटनामा भने बढोत्तरी भइरहेको छ । त्यही भएर यस्ता विषयहरूलाई गम्भीर रूपमा लिँदै कोप–२६ बाट जलवायुजन्य प्रभाव रोक्न महत्त्वाकांक्षी निर्णय लिनुपर्ने शर्माको जोड थियो ।

१५ दिन चलेको ग्लास्गो सम्मेलनमा हिमाली क्षेत्रदेखि सामुद्रिक मुलुकहरूले भोगिरहेका समस्याबारे चरणबद्ध बहस भए पनि जलवायु परिवर्तनको प्रभाव रोक्न तत्काल चाल्नुपर्ने वाचा गर्न भने विकसित मुलुकहरू फेरि पनि चुके ।

कोप–२६ आयोजना गरेको बेलायतले ग्लास्गो सम्मेलनबाट जलवायु परिवर्तनका कारण विश्वमा देखा परेका प्रभाव रोक्न देशहरूबीच महत्त्वाकांक्षी सम्झौता गराउन पहल गरेको थियो । सन् २०१५ को पेरिस सम्झौतामा सन् २०३० सम्ममा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन ४५ प्रतिशतमा झार्ने र २०५० सम्ममा खुद शून्य (नेट जिरो) को लक्ष्य लिइएको थियो ।

पेरिस सम्झौतापछि महत्त्वाकांक्षी निर्णयको अपेक्षा गरिएको ग्लास्गो सम्मेलनमा हरितगृह ग्यास कटौतीमा कुनै नयाँ वाचा हुन सकेन । बरु, अर्को वर्ष इजिप्टको शर्म–अल–शेखमा हुने कोप–२७ अघिसम्म कार्बन उत्सर्जन कटौतीको दसवर्षे महत्त्वाकांक्षी योजना पेस गर्न छुट दिइएको छ । कोप–२७ आगामी नोभेम्बरमा हुनेछ ।

कार्बन उत्सर्जन कटौती गर्न पक्ष मुलुकहरूले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको संरचना महासन्धि (यूएनएफसीसीसी) मा पेस गरेका योजना अक्षरशः कार्यान्वयन भएको खण्डमा पनि उत्सर्जन बढ्ने र पृथ्वीमा जलवायुजन्य उथलपुथल मच्चिने भनी वैज्ञानिकहरूको चेतावनीपछि नयाँ योजनाका लागि समय दिइएको हो ।

कोप–२६ को अध्यक्षता गरेका बेलायती सांसद आलोक शर्मा मुस्ताङ आउँदा ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले अहिलेकै हिसाबले कार्बन उत्सर्जन जारी रहे पृथ्वीको औसत तापक्रम सन् २०४० भित्रै १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी गत साउनमा दिएको छ । हरितगृह ग्यास उत्सर्जन कटौती नगर्ने हो भने पृथ्वीको तापक्रम पेरिस सम्झौताले निर्धारण गरेको थ्रेसहोल्ड अर्थात् १.५ डिग्रीभन्दा माथि जाने र विश्वभर नै जलवायुजन्य उथलपुथल मच्चिने बताइएको छ ।

आईपीसीसीले अहिले नै नियन्त्रण गर्नेतिर ध्यान नदिने हो भने आगामी वर्षहरूमा खडेरी, बाढी, पहिरो, हिमपहिरो, हिमआँधी, हिमताल विस्फोट, अनियन्त्रित डढेलो, अति वर्षाजस्ता घटना बढ्ने चेतावनीसमेत दिइसकेको छ । नेपालले त झन् त्यस्ता घटनाहरूको बर्सेनि सामना गर्दै आएको छ ।

हरितगृह ग्यास उत्सर्जनमा बढी जिम्मेवार मुलुकहरू चीन, अमेरिका, भारत र युरोपियन युनियन (ईयू) अन्तर्गतका मुलुकहरू काबर्न उत्सर्जन घटाउने योजनामा अग्रसर नबनेपछि विगतको वाचालक्षित समयमा पूरा नहुने देखिएको हो ।

सन् २०५० मा खुद शून्य हासिल गर्ने वाचा भुल्दै उनीहरूले त्यो सीमा १० देखि २० वर्षपछिसम्म धकेलेका छन्, जसले गर्दा कार्बन उत्सर्जनको मात्रा बढ्न गई तापक्रम वृद्धि उकालो लाग्ने देखिन्छ । ग्लास्गो सम्मेलनमा हरितगृह ग्यास उत्सर्जनको स्रोत खनिज इन्धन र कोइला प्रयोग घटाउने संकल्प गरिएको छ । हरितगृह ग्यास उत्सर्जनमा अग्रसर चीन र भारतले कोइला र खनिज इन्धनको प्रयोग घटाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले कोइलालाई फेजडाउन (प्रयोग घटाउने) वाचा गरेका छन् ।

नेपालको सक्रियता

नेपालजस्तै जलवायुजन्यविपद् सामना गरिरहेका दक्षिण एसियालीसहित कम विकसित र साना टापु मुलुकहरूले हानिनोक्सानीको मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए ।

नेपालसमेत रहेको अतिकम विकसित मुलुकहरूको समूह (एलडीसी) ले समेत जलवायुजन्य हानिनोक्सानी सम्बोधन गर्न विगतका आर्थिक सहायताले सम्भव नहुने देखिएकाले अलग्गै अर्थ प्रवाह र क्षतिपूर्तिको माग गरेको थियो ।

नेपालसहित ४६ देश सदस्य रहेको अतिकम विकसित मुलुकहरूको समूह (एलडीसी) का अध्यक्ष भुटानका सोनाम फुन्थ्सो वाङ्दीले कोप–२६ मा भएको सम्झौताले जलवायुजन्य संकटको मापन गर्न नसकेको र कमविकसित मुलुकहरूको आवश्यकता पूरा नगरेको टिप्पणी गरे ।

नेपालसहित १३३ सदस्य रहेको ‘जी ७७’ र ‘चीन समूह’ ले कोप–२६ को निर्णय पाठ (कभर डिसिजन) मै ‘ग्लास्गो फ्यासिलिटी अन लस एन्ड ड्यामेज’ समेट्न समूहको दबाब दिएको थियो । विकसित मुलुकहरूले वार्ताको अन्तिमसम्मै विगतमा घोषणा गरिएका जलवायु कोष (फाइनाइन्स) हरूबाटै जलवायुजन्य विपद्लाई समाधान सकिने भन्दै नयाँ संरचनामा जान अस्वीकार गरे । वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख तथा जलवायु परिवर्तनकी फोकल पर्सन डा. राधा वाग्लेका बुझाइमा जी ७७, चीन समूह र एलडीसीमा रहेका मुलुकहरूलाई समेत हाम्रा मुद्दाबारे पहिले नै सचेत गराउन सकिएको भए नेपालले उठाएका मुद्दा स्थापित गर्न मद्दत पुग्थ्यो ।

‘हाम्रा मुद्दालाई पनि उनीहरूले बोकिदिए भने वार्ताका क्रममा ती मुद्दा बलियो बन्ने रहेछन्’, उनको अनुभव छ, ‘जस्तो पर्वतीय मुद्दामा हामी र भुटानले जस्तै अफ्रिकी मुलुकहरूलाई पनि बुझाउन सकिएको भए त्यो मुद्दाले स्थान पाउँथ्यो ।’

नेपालले सम्मेलनअघि नै पूर्वतयारी गरेको र कुन मुद्दालाई फोकस गर्ने भनेर छलफल गरिएकाले त्यसअनुसार विषयवस्तुले स्थान पाए पनि ती मुद्दाहरूलाई स्थापित गराउन भने नसकिएको उनको अनुभव छ । ‘ग्ल्यासियर र माउन्टेनको मुद्दालाई स्थापित गर्न अझै हामीले धेरै काम गर्नुपर्ने देखिन्छ । ती मुद्दालाई स्थापित गर्नेगरी अझै पूर्वाधारहरू बनाउनुपर्ने हुन्छ’, डा.वाग्ले भन्छिन्, ‘वित्त, अनुकूलन र हानिनोक्सानीका विषयमा हामीले उठाएका विषयले स्थान पाएको छ । तर, कतिपय मुद्दाहरू एउटा देशको मात्र नहुने र त्यसमा सबैको सहमति आवश्यक पर्ने भएकाले चरणबद्ध रूपमा ती मुद्दा स्थापित हुँदै जान्छन् भन्ने लाग्छ ।”

कोप–२६ का दौरान नेपालले उठाएको हिमताल र हिमनदीको मुद्दालाई नर्वे, स्वीट्जरल्यान्ड र चिलीलगायतका मुलुकहरूले पनि सहयोग गरेका थिए । ‘कुनै पनि मुद्दालाई निर्णयमा पुर्‍याउनका लागि बहुसरोकारवालाहरूसँग समन्वय हुनु आवश्यक हुने रहेछ’, उनले भनिन्, ‘विविध स्वार्थ भएका समूहहरूबीच सहमति जुटाउनुपर्ने भएकाले पनि आफूले उठाएका मुद्दालाई स्थापित गर्न धेरै संघर्ष गर्नुपर्ने देखियो ।’

आगामी दिनमा आफूले उठान गरेका मुद्दालाई वार्तामा प्रवेश गराउन र त्यहाँबाट पारित गराउन विभिन्न विषयमा ज्ञान राख्ने विज्ञहरूलाई परिचालन गर्नुपर्ने सिकाइ नेपालको छ । “नेगोसिएसन प्रक्रियामा सहभागी हुँदा विविध विषयमा छलफल हुने भएकाले त्यहाँ सहभागी हुने वार्ताकारसँग पनि ती विषयमा ज्ञान भएको हुनपर्छ,’ वाग्ले भन्छिन्, ‘आगामी दिनमा हामी सशक्त टिम बनाउन सक्यौं भने हामीले उठान गरेका विषयलाई निष्कर्षमा पुर्‍याउन सक्छौं ।”

नेपालको संकल्प

‘राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०)’ मा नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले पहिल्याएका ८ वटा विषयगत र ४ वटा अन्तरविषयगत क्षेत्रमा गरी कुल ६४ वटा प्राथमिकता प्राप्त अनुकूलनका कार्यक्रमहरू समावेश छन् ।

अनुकूलन कार्यक्रमहरूको कार्यान्वयनका लागि सन् २०५० सम्म कुल ४७.४ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने सरकारले प्रतिवेदनमा उल्लेख गरेको छ । सो रकममध्ये नेपालले कुल १.५ अर्ब अमेरिकी डलर आन्तरिक स्रोत परिचालन गरेर योगदान गर्न सक्नेछ भने बाँकी ४५.९ अर्ब अमेरिकी डलर बाह्य स्रोतको आवश्यकता पर्नेछ । दातृ निकायहरू र प्राविधिकहरूसँगको सहकार्यमा ‘हानिनोक्सानीसम्बन्धी राष्ट्रिय कार्यढाँचा’ तयार गरेको छ । जलवायु परिवर्तनका हिसाबले जोखिममा रहेका मुख्य प्राकृतिक, सामाजिक र आर्थिक क्षेत्रहरू र सेवा प्रदायकहरूको अनुकूलन क्षमता र उत्थानशीलता वृद्धि गर्ने लक्ष्यसहित यो ढाँचा तयार गरिएको हो । सरकारले पारित गरेको ‘खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति’ अनुसार कार्बन उत्सर्जन न्यूनीकरण लक्ष्य २०२०–२०३० मा हासिल गर्ने र त्यसपछि एकदमै न्यून उत्सर्जन गरी सन् २०४५ मा पूर्ण खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य लिइएको छ ।

कोप–२६ र नेपाल

१. अनुकूलन (एडाप्टेसन) का कार्यक्रमका लागि विकसित मुलुकहरुले दिने आर्थिक अनुदान दोब्बर भएको छ ।

२. अनुकूलनका कार्यक्रका लागि न्यूनीकरण (मिटिगेसनमा जस्तै) नयाा गोल निर्धारण भएको छ ।

३. जलवायुजन्य उथलपुथल (हानिनोक्सानी) मा काम गर्न आवश्यक पर्ने वित्त (फाइनान्स) सहज गराउने विषय टुंगोमा नपुगे पनि वित्त व्यवस्थापनका लागि सान्टियागो नेटवर्कलाई चलायमान बनाउने निर्णय भएको छ ।

४. फाइनान्स (वित्त) सहयोगमा नयाँ प्रतिबद्धता आएका छन् ।

५. विकसित मुलुकहरुले सन् २०२०–२०२५ सम्म वार्षिक १ सय अर्ब अमेरिकी डलर विकासशील मुलुकहरुलाई प्रदान गर्ने प्रतिबद्धता जनाए पनि त्यो रकम प्राप्त हुन सकेको छैन । त्यसका लागि थप प्रतिबद्धता आएको छ ।

६. तापक्रम १.५ डिग्रीमै सीमित गर्न सकिए पनि हिमाली क्षेत्रमा भयावह असर पर्ने भएकाले नेपालले हरितगृह ग्यास कटौतीमा महफ्वाकांक्षी बन्न विकसित मुलुकहरुलाई झकझक्याउादै आएको छ । देशहरुले यसै वर्षभित्र (कोप–२७ अघि) उत्सर्जन कटौतीसम्बन्धी १० वर्षे नयाा वाचासहितको योजना पेस गर्नेछन् ।

७. रुखले सोसेर राखेको कार्बनडाइअक्साइड बेचेर (कार्बनको व्यापार) आम्दानी लिन मार्गप्रशस्त भएको छ । यसले नेपाललगायत विकासोन्मुख मुलुकहरुलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

८. हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गरेबापत ३० करोड अमेरिकी डलर (करिब ३६ अर्ब रूपैयाा) प्राप्त गर्ने गरी लिफ (लोअरिङ इमिसन बाई एक्सेलेरेटिङ फरेस्ट फाइनान्स) गठबन्धनको आशयपत्रमा नेपालले हस्ताक्षर गरेको छ । र, त्यसका लागि वन मन्त्रालयले तयारी सुरू गरेको छ ।

९. हिमाली क्षेत्रको महफ्व दिने गरी ‘ग्लास्गो क्लाइमेट प्याक्ट’ को भूमिकामा ‘क्रायोस्फेयर’ भन्ने शब्द समेटिएको छ । त्यस्तै हिमाली क्षेत्रका विभिन्न तथ्य–तथ्यांकमा भएको कमीलाई ध्यान दिँदै अनुसन्धानमा जोड दिइएको छ ।

ब्रिटिस काउन्सिलबाट कोपमा युवा सहभागिता

ब्रिटिस काउन्सिल नेपालले कोप–२६ लाई प्रभावकारी बनाउन र त्यहाँबाट ठोस निर्णय गराउन ‘रोड टु कोप–२६’ अभियान चलाएको थियो । त्यस अभियानमा युवाहरुलाई समेत समेटिएको थियो । त्यसअन्तर्गत जलवायु परिवर्तनका विषयमा सक्रिय युवाले ग्लास्गो सम्मेलनमा भाग लिएका थिए ।

उनीहरुले जलवायु परिवर्तनका विभिन्न प्राविधिक सत्रमा अग्रपंक्तिमा रहेर भाग लिएका थिए । कोप–२६ ले पनि युवा, उनीहरुका काम, नेतृत्व र आकांक्षाहरुलाई एकसाथ ल्याउने अवसर प्रदान गरेको थियो ।

नेपालबाट सहभागी युवाहरुले युथ क्लाइमेट क्याफे शृंखलाअन्तर्गत नेपाली युथ इन क्लाइमेट एक्सनसँगको साझेदारीमा विभिन्न छलफलमा भाग लिएका थिए, त्यसमा कोप–२६ का अध्यक्षसमेत रहेका आलोक शर्मा र अनिल चित्रकारसमेत संलग्न थिए । कोप–२६ पछि काउन्सिलले सहभागीहरुले प्रतिबद्धता र महफ्वकांक्षाका साथ कार्यदिशा अघि बढाउने अपेक्षा गरेको छ ।

क्लाइमेट क्याफे ब्रिटिस काउन्सिलमार्फत नेपाली युवाहरुको सरोकार, काम र आकांक्षालाई युवा सम्मेलनका लागि अभिलेखीकरण र प्याकेजको काम गरेको ठानिएको छ । कोप–२६ मार्फत युवा प्रतिनिधिहरुले नेपाली युवाहरुलाई आफ्नो अनुभूतिसमेत साझा गरेका थिए ।

ग्लास्गो सम्मेलनपछि युवा सहभागीहरुलाई समेटेर एक छलफलको आयोजना गरिएको थियो । त्यसमा कोप–२६ का नतिजा र मुख्य उपलब्धिबारे चर्चा गरिएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

‘रोलमोडल’ किशोरी

हरेक शुक्रबार विद्यालय जान छाडेर उनी रिक्सडगअघि प्लेकार्डसहित उभिन्थिन्, सुरूवाती दिनमा उनको आडमा उभिइदिने अर्को कोही भएन तर ३ महिनाभित्रै उनको ‘स्कुल स्ट्राइक’ मा २४ युरोपेली मुलुकका १७ हजारभन्दा बढी विद्यार्थी जोडिइसकेका थिए
बुद्धिसागर मरासिनी

चार वर्षअघि शरद ऋतु सुरु हुनै लाग्दा स्विडेनको राजधानी स्टकहोमको अवस्था सदाकै जस्तो सामान्य थियो । घामका किरण केही मधुर हुन थालेका भने थिए । चिल्ला सडकमा सवारीसाधन आउजाउ चलेकै थियो । मानिसहरू आ–आफ्नै दैनिकीमा व्यस्त । त्यही सहरकी एक किशोरीको मन भने बेचैन थियो । त्यो बेचैनीको कारण थियो– मानिसहरूको भौतिकवादी जीवनशैलीले पृथ्वीमा पारेको प्रभाव ।

भविष्यका सन्ततिप्रतिको चिन्ताले सताउन थालेपछि अन्ततः ती किशोरीले संसद् भवन ‘रिक्सडग’ पुग्ने चिल्ला सडकहरू पछ्याइन् र हातले लेखिएका प्लेकार्डसहित सुरु गरिन् एक अभियान ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’ अर्थात् जलवायुका लागि विद्यालय हडताल । जलवायु परिवर्तनले पारेको असर र प्रभाव न्यूनीकरणका लागि शक्ति राष्ट्रलाई दबाब दिन विश्वभरका विद्यार्थीहरूलाई एकीकृत पार्नु यो अभियानको ध्येय थियो ।

भारतीय स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबारे कुनै बेला भनेका थिए, ‘भीडमा उभिन सहज हुन्छ तर एक्लै उभिन साहस चाहिन्छ ।’ गान्धीले संसार छाडेको ७ दशकपछि १५ वर्षीया ग्रेटा थनवर्गले त्यो साहस जुटाएकी थिइन् ।

हरेक शुक्रबार विद्यालय जान छाडेर उनी रिक्सडगअघि प्लेकार्डसहित उभिन्थिन् । सुरुवाती दिनमा उनको आडमा उभिइदिने अर्को कोही भएन । तर ३ महिनाभित्रै उनको ‘स्कुल स्ट्राइक’ ले २४ युरोपेली मुलकका १७ हजारभन्दा बढी विद्यार्थीलाई जोडिसकेको थियो । एक वर्ष नपुग्दै ग्रेटा आफ्नो अभियानका कारण यति चर्चित बनिसकेकी थिइन् कि जलवायु परिवर्तनका विषयमा युरोपमा हुने सबैजसो कार्यक्रममा वक्ताका रूपमा देखिन थालिन् । सन् २०१८ मा उनले पोल्यान्डको क्याटाविसमा भएको जलवायु सम्मेलन कोप–२४ मा दिएको मन्तव्यको चौतर्फी प्रशंसा भयो । उनले जलवायु परिवर्तनले निम्त्याएका समस्या र भविष्यमा आफूजस्ता करोडौं बालबालिकाहरूले भोग्नुपर्ने समस्याबारे तार्किक र मार्मिक मन्तव्य दिएकी थिइन् ।

सन् २०१९ को मार्चमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेपछि उनको लोकप्रियताको उचाइ निकै चुलियो । अर्को वर्ष टाइम म्यागेजिनले उनलाई ‘विश्वकै प्रभावशाली व्यक्ति’ को सूचीमा राख्यो । टाइमले अर्को पुस्ताकी ‘रोलमोडल नेता’ भन्दै कभर स्टोरी नै गरेको थियो ।

विश्वभरका स्कुले विद्यार्थीलाई लक्षित गरी पृथ्वी र भावी पुस्ताको सुनिश्चित भविष्यका लागि उनले सुरु गरेको अभियान पछिल्लो समय देखिएका जलवायुजन्य जोखिम र असर न्यूनीकरणका लागि क्रियाशील छ । उनको अभियानलाई विश्वका सबैजसो मुलुकका युवाहरूले साथ दिइरहेका छन् । उनीहरूको उद्देश्य र लक्ष्य समान छ, जलवायु परिवर्तनका कारण पृथ्वीमा देखा परेको असर कम गराउन सरकार तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनु । त्यसैले त १६९ मुलकका ४० लाखभन्दा बढी अभियानकर्मीहरू ‘भविष्यको सुनिश्चितताका लागि जलवायु न्याय’ को एउटै छातामुनि उभिएका छन् । स्विडेनको स्टकहोममा सन् २००३ को जनवरी ३ मा जन्मिएकी हुन् ग्रेटा । उनको पूरा नाम ग्रेटा टिनटिन एलिवोनोरा एमान थनवर्ग हो । उनका बुबा अभिनेता हुन् भने आमा गायिका । बहिनी बेटा स्विडेनकी चर्चित गायिका हुन् । यी दिदीबहिनी मस्तिष्कको विकाससम्बन्धी समस्या ‘एसपर्गर्स’ बाट पीडित छन् ।

आफ्नो प्रभावशाली भाषणका कारण चर्चामा आउने ग्रेटा जलवायुसम्बन्धी समिति र बैठकहरूमा भने कमै बोल्ने गर्छिन् । उनी सार्वजनिक रूपमै भन्ने गर्छिन्, ‘तपाईंले मेरो कुरा सुन्नुपर्छ भन्ने छैन तर वैज्ञानिकहरूको कुराचाहिँ सुन्नुहोस् ।’

सन् २०२० मा उनले आफ्नो पुरस्कारबाट प्राप्त एक लाख अमेरिकी डलर बालबालिकासम्बन्धी राष्ट्र संघीय निकायलाई प्रदान गरेकी थिइन् । त्यस्तै, कोरोना महामारीका समयमा ब्राजिलको अमेजनमा आश्रित समुदायको सहयोगका लागि उनले आर्थिक संकलनको अभियान नै चलाइन् । गत वर्ष स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा पनि उनले कोरोनाविरुद्धको खोप अभियानका लागि एक लाख युरो सहयोग गरेकी थिइन् ।

कोप–२६ का क्रममा हजारौं युवायुवतीको सहभागिता रहेको र्‍यालीमा बोल्दै ग्रेटाले ‘जलवायु सम्मेलनहरू व्यापारमै सीमित हुने गरेका’ टिप्पणी गरिन् । ‘प्रकृतिलाई जोगाउने हो भने हरितगृह ग्यास उत्सर्जन घटाउन तत्काल कठोर निर्णय गर,’ जलवायु वार्ताकारहरूको ध्यानाकर्षण गराउँदै उनले भनेकी थिइन् । शासनसत्तामा रहेकाहरूले सधैं जालझेल गर्ने र अग्रपंक्तिका सामान्य मानिसहरू सधैं जलवायु संकटको पीडा भोग्न बाध्य भइरहेका उनको भनाइ थियो । जलवायु न्यायको पक्षमा विश्वभर अभियान चलाए पनि नेतृत्वले त्यसलाई खासै महत्त्व नदिएको र आफूले सोचेअनुसार प्रगति नभएको उनको बुझाइ छ । पेरिस सम्झौताअनुसार विकसित मुलुकहरूले कामै नगरेकामा उनी सधैं गुनासो गर्छिन् । पेरिस सम्झौतामा विश्वको तापक्रम १.५ डिग्रीभन्दा बढीले बढ्न नदिइने प्रतिबद्धता जनाइएको छ । त्यसका लागि सबैभन्दा बढी जिम्मेवार विकसित मुलुकहरूले हरित गृह ग्यास कटौती गर्नुपर्ने हुन्छ । कोप–२६ मा भेला भएका सयभन्दा बढी मुलुकका नेताहरू सन् २०३० भित्र वन विनाश रोक्न सहमत भएपछि भने केही आशा पलाएको छ ।

सन् २०१९ मा ग्रेटा राष्ट्रसंघीय जलवायु कार्यक्रममा भाग लिन १४ दिन लगाएर अमेरिका पुगिन् । कार्बन उत्सर्जन नगर्ने पानीजहाज चढेर उनी बेलायतबाट अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । कार्बन उत्सर्जन गर्ने भएकाले उनी हवाईजहाज चढ्न मान्दिनन् । शाकाहारी हुन् र सम्भव भएसम्म जैविक इन्धनबाट चल्ने सवारीसाधन पनि प्रयोग गर्दिनन् । कार्यक्रममा भाग लिने क्रममा उनी पानीजहाजमै उत्तर अमेरिकी देश चिलीसम्म पुगेकी छन् । जहाँ पुग्छिन्, उनी आकर्षणको केन्द्र बन्छिन् ।

‘एक १६ वर्षीया किशोरीले जलवायु संकटमा आफ्नो अडान कायम राख्न एट्लान्टिक महासागर पार गर्नु पागलपना हो,’ न्युयोर्कमा थनवर्गले भनेकी थिइन्, ‘निश्चय नै म यो सबैले गरून् भन्ने चाहन्नँ ।’ कार्यक्रममा बोल्दै उनले नेताहरू, विधायक र राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको कडा आलोचना गरेकी थिइन् । ‘तपाईंहरूले आफ्नो मौनतामार्फत मेरो बाल्यकाल र सपना चोर्नुभयो । यद्यपि, म केही भाग्यमानी हुँ, मानिसहरू पीडित छन्, मरिरहेका छन्,’ ग्रेटाले भनेकी थिइन्, ‘हामीहरू लोप हुने अवस्थाको सुरुवातमा छौं तर तपाईंहरू सबै पैसा र आर्थिक वृद्धिको कुरा गर्नुहुन्छ । यो कस्तो आँट !’

उक्त भाषण सुनेपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको व्यंग्य गर्दै ट्वीट गरेका थिए । ‘उनी उज्ज्वल र सुन्दर भविष्यको पर्खाइमा रहेकी निकै खुसी केटीजस्ती लाग्यो । उनलाई देखेर खुसी लाग्यो,’ ट्रम्पले ट्वीटरमा लेखेका थिए । त्यसको प्रतिक्रिया स्वरूप ग्रेटाले ट्रम्पको ट्वीट नै केही समयका लागि आफ्नो ट्वीटर ह्यान्डलको ‘बायो’ मा राखेकी थिइन् । ग्रेटा सामाजिक सञ्जालमा पनि उत्तिकै क्रियाशील र चर्चित छिन् । ट्वीटरमा उनलाई ५० लाखले पछ्याएका छन् ।

ट्रम्पजस्तै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका नेताहरू पनि उनका कडा आलोचक हुन् । आलोचकहरू जतिसुकै शक्तिशाली वा धनी नै किन नहुन्, ग्रेटाले एक्लै उभिने साहस जुटाइन् र आफ्नै वरिपरि भीड जम्मा पारिन् । उनी जहाँ जान्छिन्, सधैं हजारौंको घेरामा हुन्छिन् ।

प्रकाशित : फाल्गुन ७, २०७८ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×