पर्यावरण अभियन्ता- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

पर्यावरण अभियन्ता

नदी संरक्षणमा सक्रिय मेघ आले कर्णालीको दोहन रोक्न सक्रिय छन् । उनी भन्छन्, ‘नदीलाई सधैं जोगाएर राख्न जरूरी छ तर शाखा नदीलाई वातावरणीय दृष्टिले प्रयोग गर्न सकिन्छ । मूलमै समस्या आयो भने भोलि ठूलो धनजनको क्षति हुन सक्छ । विकासका नाममा विनाश गर्नुभएन, सन्तुलित विकास मात्र हुनुपर्छ ।’
विमल खतिवडा

नदी संरक्षणमा सक्रिय मेघ आले अहिले कर्णाली नदी जोगाउ अभियानमा छन् । अन्य नदीछेउमा मोटर पुग्यो । क्रसर पुग्यो । जताततै नदी दोहन भइरहेको छ । कर्णालीलाई यस्तो हुनबाट जोगाउन ढिला भइसकेको आले सुनाउँछन् । त्यसो त सन् १९९१ मा उनले कर्णाली नदी देखे । अन्यत्र नदी दोहन भए पनि कर्णालीलाई जोगाउनैपर्छ भनेर अभियानमा जुटे । 

औपचारिक रूपमा उनी सन् १९९५ बाटै नदी संरक्षणमा जुटेका हुन् । पेसाले रिभर गाइड । र्‍याफ्टिङ चलाउँछन् । ‘अहिले फोकस कर्णालीमा छ,’ उनी भन्छन्, ‘जलवायु परिवर्तनले नदीहरूमा ठूलो असर गरेको छ ।’ कर्णाली नेपालकै सबैभन्दा ठूलो नदी हो । यसको सोर्स तिब्बतको कैलाश क्षेत्रमा पर्छ । शिरदेखि पुच्छरसम्मको लम्बाइ १ हजार ८० किमि छ । नदीलाई निर्बाध र शुद्ध रूपमा बग्न दिनुपर्ने उनी बताउँछन् । ‘वातावरण मात्र होइन, धर्म संस्कृतिका कुरा छन् । सभ्यताका कुरा छन्,’ उनी भन्छन्, ‘राउटे, माझी, थारूलगायत समुदायको सभ्यता यहींबाट सुरु भएको हो ।’

ठूलाठूला बाढीपहिरो आउन सक्छन् । बनाइएका बाँध भत्किन सक्छन् । अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुन सक्छ । त्यसैले मूललाई मास्न नहुने उनको तर्क छ । ‘नदीलाई सधैं जोगाएर राख्न जरुरी छ,’ उनी भन्छन्, ‘तर शाखा नदीलाई वातावरणीय दृष्टिले प्रयोग गर्न सकिन्छ ।’ मूलमै समस्या आयो भने भोलि ठूलो धनजनको क्षति हुन सक्ने आले औंल्याउँछन् । त्यति मात्र होइन । प्रकृतिकै नाश हुन्छ । ‘विकासका नाममा विनाश गर्नुभएन, सन्तुलित विकास मात्र हुनुपर्छ,’ उनी भन्छन्, ‘कु विकास हुनुभएन ।’

कर्णाली प्रदेशमा जतिबेला पनि अरू क्षेत्रबाट बिजुली ल्याउन सकिने उपाय छन् । शाखा नदीबाट झन्डै ७ हजार मेगावाटको लाइसेन्स बाँडिसकेको कुरा उनले सुनेका छन् । ‘शाखा नदीमै त्यत्रो बिजुली उत्पादन हुन्छ, मूल नदी किन मास्ने ?’ उनी प्रश्न गर्छन्, ‘पहिला शाखा नदीबाट काम गरौं ।’ नेपाल नदी नै नदी भएको देश हो तर संरक्षित नदी घोषणा गरिएको छैन । जलवायु परिवर्तनले हिमनदीहरू फुट्ने जोखिम छ । ‘मूलमै ड्याम राख्यौं भने पानीको निकास हुँदैन,’ उनी भन्छन्, ‘राष्ट्रिय सम्पदाका रूपमा नदी जोगाउन आवश्यक छ ।’

मूल नदीहरूलाई संरक्षण गर्ने नीति चाहिन्छ । हरेक प्रदेशमा एउटा नदीलाई संरक्षित बनाउन सके धेरै राम्रो हुने उनको सुझाव छ । नदीको संरक्षण नगरे खतरा सधैं रहन्छ । त्यसैले नदीहरूलाई बिनाअवरोध बग्न दिनुपर्छ । सन् २००१ बाट वाग्मती सरसफाइ अभियान सुरु भयो । ‘दुई दशकको अवधिमा नदीमा के परिवर्तन आयो ?’ उनी भन्छन्, ‘केही न केही सुधार भएको छ । बगैंचाहरू, पैदल हिँड्ने ठाउँ बनेका छन् ।’ तर नदी त फोहोरै छ । ‘नीति निर्माता र राजनीतिज्ञहरूले हाम्रो कुरै सुनेका छैनन्,’ उनी भन्छन्, ‘उनीहरूलाई कुरा सुनाउने कसरी ?’

०००

त्रिशूली नदी बचाउ महाअभियानका अभियन्ता श्रवण त्रिपाठीलाई ज्यान मार्नेसम्मको धम्की आए । २०७३ बाट अभियानमा जोडिएका उनी मलेखुमा बस्छन् । पहिल्यैबाट उत्तम कँडेललगायतले अभियान चलाएका थिए । ‘नदी संरक्षण गर्न दबाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा धर्ना र मुख्य राजमार्गमा र्‍यालीसमेत गरियो,’ उनी भन्छन्, ‘सडकमै डुंगासम्म चलाएर खबरदारी गरियो ।’

यो धार्मिक पर्यटकीय नदी हो । पहिला यसलाई विश्वकै ‘ह्वाइट वाटर र्‍याफ्टिङ’ गर्ने नदीका रूपमा चिनिन्थ्यो । अहिले यसको पहिचान नदीजस्तै धमिलिएको छ । नदी दोहनमा जनप्रतिनिधि नै संलग्न छन् । जसले गर्दा सफाइमा जिम्मेवार निकाय प्रायः मौन रहन्छ । खानीबाट माटो ल्याई नदी किनारको फिरफिरेमा धोएर बालुवा निकाल्ने गरिन्छ । नुवाकोट र धादिङका नदी करिडोरमा यस्ता फिरफिरे १ हजारभन्दा बढी छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाबाट फिरफिरेका लाम सुरु छन् । यो नदी नुवाकोटको तादीबाटै धमिलो भएर आउँछ । बालुवा धुँदा त्यसको लेदो सिधै नदीमा मिसाइन्छ । वडाध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्मका यस्ता फिरफिरे नदीमा निर्बाध चलेका छन् । यसमा सांसद पनि संलग्न छन् । ‘ठूलो गिरोहलाई चिरेर प्रदेशमा नीति–नियम बनाउन सफल भयौं, फिरफिरे नदी किनारबाट ५ सय मिटर टाढा राख्नुपर्ने नीतिमा छ,’ उनी भन्छन्, ‘तर कसले मान्ने ?’

दुई वर्षअघि त्रिशूली सङ्लियो । त्यो पनि १२ वर्षपछि । अभियान सुरु भएको १५ वर्ष भयो । अभियानमा अहिले १ सय जना आबद्ध छन् । जनचेतनामूलक कार्यक्रम भए । राजमार्गछेउका होटल, रेस्टुरेन्टले सिधै नदीमा ढल मिसाउँथे । यस्ता कार्य गर्नमा रोक लगाइयो । नीति–नियम कार्यान्वयन गर्नुपर्ने स्थानीय तहले हो तर पालिकाकै प्रतिनिधि नदी दोहन गरेर कमाइरहेका छन् । ‘एकचोटि त त्रिशूली पनि वाग्मतीजस्तै बन्न लागेको थियो, अहिले त्यस्तो छैन,’ उनी भन्छन् । ‘तर पनि दिगो रूपमा संग्लो बनाउन सकिएन ।’ तस्करको सञ्जाल नै ठूलो भएको त्रिपाठी दुःखेसो पोख्छन् । ‘यहाँको रकम वडाध्यक्षदेखि मन्त्रीसम्म पुग्छ अनि कसले रोक्ने, कसले बोल्ने ?’ उनले भने ।

भूकम्पपछि साना खोला/नाला सुकेपछि त्रिशूलीकै पानीबाट जीविकोपार्जन गर्ने बढ्दै गएका छन् । बोरिङ गरेर पानी तानिएको छ । ‘भोलिका दिनमा मनपरी दोहन गरेर यो नदी पनि सुकाइयो भने के गर्ने ?’ उनी प्रश्न गर्छन् । २०६२/६३ सालपछि यो नदी धमिलिन थाल्यो ।

०००

चितवन भरतपुरका संरक्षणकर्मी रामप्रित यादवको संरक्षण क्षेत्रप्रतिको लगाव देखेर सबै छक्क पर्छन् । ७६ वर्षीय यादवले २७ वर्ष सहायक संरक्षण अधिकृत र मुख्य संरक्षण अधिकृतका रूपमा चितवन राष्ट्रिय निकुञ्जमा काम गरे । उमेर ढल्किए पनि उनको जोस जाँगरमा कमी आएको छैन । अहिले पनि बिहान उठेदेखि साँझ नपर्दासम्म संरक्षणसम्बन्धी कार्यमै खटिरहेका हुन्छन् । विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध भई बाघ, गैंडा संरक्षणमा जुटे । जनचेतना अभियान चलाए । पर्यावरणीय सन्तुलनका लागि तालतलैयाको व्यवस्थापनमा जुटिरहे । निकुञ्ज र संरक्षित वनमा दुर्लभ वन्यजन्तुका लागि ठाउँ–ठाउँमा ताल बनाउन अग्रसर बने । घाँसे मैदानको व्यवस्थापनमा जुटे ।

हिजोआज जिल्लाका विभिन्न स्थानमा सामुदायिक वनले गर्ने कार्यक्रम प्रायः छुटाउँदैनन् । त्यहाँ आउने सर्वसाधारणलाई संरक्षणका कुरा सिकाउँछन् । आफ्नो अनुभव बाँड्छन् । वन्यजन्तुको महत्त्व के छ ? राष्ट्रिय निकुञ्ज किन स्थापना भयो । संरक्षण भनेको के हो ? यी सबै कुरा सिकाउँछन् । ‘जंगल र वन्यजन्तु जोगाउन सकिए वातावरण स्वच्छ हुन्छ,’ उनी भन्छन्, ‘यो सबै कुरा मानवीय जीवनसँग जोडिएको हुन्छ ।’ मध्यवर्ती क्षेत्रबाट आउने आम्दानी समुदायमा जान्छ । जुन रकम संरक्षण शिक्षामा खर्च गरिन्छ । आयआर्जनसम्बन्धी तालिम दिने गरिन्छ । पर्यटन प्रवर्द्धन गर्ने काम हुन्छ ।

सौराहाबाट सुरु पर्यटन व्यवसाय जिल्लाभर फैलिएको छ । जिल्लामा होटलको संख्या बढे । दुर्लभ वन्यजन्तु नै अहिले पर्यटन प्रवर्द्धन गर्ने आधार बनेका छन् । यही हेर्न देश तथा विदेशबाट पाहुना आउँछन् । आम्दानीको स्रोत बढेको छ । रोजगारी बढेको छ ।

०००

सोलुखुम्बुकी २३ वर्षीया श्रेया केसी ललितपुर बस्छिन् । उनी अहिले जलवायु परिवर्तनसम्बन्धी जनेतनामूलक कार्यक्रममा सक्रिय छिन् । पहिला यसबारे आफूले सिकिन्, अहिले अरूलाई सिकाउन सक्रिय छिन् । पाटन क्याम्पसमा वातावरण विज्ञानमा ब्याचलर गरेकी उनी वातावरण जोगाउने अभियानमा सक्रिय छिन् । उनले विभिन्न युथ नेटवर्कमा स्वयंसेवकका रूपमा काम गरिन् । जलवायु परिवर्तनसम्बन्धी नेपाली युवाको सञ्जाल छ । त्यसमा पनि केही समय काम गरिन् । ‘घरनजिकैको स्कुलमा कक्षा ७ सम्मका विद्यार्थीलाई विज्ञान र वातावरण विषय दुई वर्ष पढाएँ,’ उनी भन्छिन्, ‘यो सबै गर्नुको उद्देश्य कसरी हुन्छ, वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउन सकियोस् भन्ने थियो ।’ एनवाईसीए नेटवर्कमा स्कुल कलेजको कोअर्डिनेटरका रूपमा पनि काम गरिन् । धेरैवटा विद्यालय र कलेजमा जलवायु परिवर्तनबारे सिकाइन् ।

अहिले झापा, तनहुँ, लमजुङ, पोखरा, स्याङ्जा, हुम्लालगायत १४ जिल्लामा यसको नेटवर्क छ । ‘हामीजस्तै युवा स्वयंसेवकका रूपमा तल्लो तहसम्म पुगेर काम गर्ने गर्नुभएको छ, अरू संघसंस्थासँग मिलेर पनि काम गर्ने गरिएको छ,’ उनी भन्छिन्, ‘पोलिसीमा धेरै कुरा परिवर्तन गर्न जरुरी छ । बाह्य मुलुकमा गएर पनि युवाका आवाज उठाउने गरिएको छ ।’ जलवायु परिवर्तनसम्बन्धी बाह्य मुलुकमा हुने कार्यक्रममा उनले बेलाबेला सहभागिता जनाउने अवसर पाएकी छन् । ‘अहिले सरकारी निकायलाई झक्झकाउने तहमा पुगेकी छु,’ उनी भन्छिन्, ‘यो क्षेत्रमा लागेको ६ वर्ष भयो ।’

०००

सिन्धुलीका सौरभ ढकाल काठमाडौंको मूलधारको पत्रकारिता छाडेर गाउँघरमा सक्रिय छन् । पहिला उनले वातावरणसम्बन्धी रिपोर्टिङ गरे । जुन क्षेत्रको रिपोर्टिङ गर्थे, उनलाई त्यसप्रति चासो जाग्थ्यो । भेटघाट त्यही क्षेत्रका व्यक्तिहरूसँग हुन्थ्यो । ‘मैले सन् २०१० मा स्टोरी साइकल ब्लक सुरु गरें, स्टोरी साइकलबाट वातावरणमा परेका प्रभावसम्बन्धी विभिन्न कथा ल्याउने भनेर काम थालिएको थियो,’ उनी भन्छन्, ‘सन् २०१२ मा केही साथीसँग मिलेर पूर्वको कञ्चनजंघा फेदीदेखि पश्चिमको दार्चुलासम्म ग्रेट हिमालयन ट्रेलमा गइयो ।’ उनका अनुसार उक्त यात्रा ९९ दिनमा पूरा भएको थियो ।

‘त्यसपछि मेरो हिँड्ने, सोच्ने तरिका परिवर्तन हुँदै गयो,’ उनी भन्छन्, ‘त्यतिबेला जलवायु परिवर्तनले पारेको प्रभावबारे समाचारहरू आइरहेका थिए, प्राविधिक रूपमा यसको चर्चा भइरहेको थियो ।’ उनले क्लाइमेट स्मार्ट हुने गरी जीवन शैली परिवर्तन गरेको सुनाए । ‘अहिले स्मार्ट सिटीको परिकल्पना गर्छौं, प्रविधि जीवनको कुरा गर्छौं, यो कसका लागि हो ?’

सहर छन् तर फुटपाथ छैनन् । सहरहरू युवामैत्री बनाउन सकिन्छ । ‘सहर बनाउने प्रक्रियामा युवालाई सहभागी गराउनुपर्‍यो, हाम्रो इच्छा र आकांक्षा के छन् भन्ने बुझेर काम गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘अहिले म विभिन्न सहरमा डिजिटल म्यापिङ गर्न सिकाउँछु । सानो–ठूलो सहरमा त्यहाँ भएको व्यापार, पर्यटकीय क्षेत्र, प्राकृतिक रिसोर्स आदिलाई नक्सामा राख्दा पछि लोकेसन खोज्न र जानकारी लिन पाइन्छ ।’ प्रकृतिमैत्री सहर बनाउन दबाब दिइराखेको उनले सुनाए । म्यापिङसम्बन्धी तालिम सबैतिर दिइरहेका छन् । सहरमा गलत तरिकाले बिरुवा रोपिएकामा उनको गुनासो छ । रैथाने जातका रूखबिरुवा रोप्दा राम्रो हुने उनको सुझाव छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वानुमानका सकस

तीन हजार मिटरभन्दा माथिका स्थानमा मौसम अवलोकन निकै कम छ, यो नेपालको मात्र नभई विश्वव्यापी मौसम पूर्वानुमानका लागि महत्त्वपूर्ण चुनौती हो
डा. अर्चना श्रेष्ठ

खराब मौसमबाट हुने नोक्सानलाई कम गर्न र राम्रो मौसमबाट फाइदा लिन भरपर्दो मौसम पूर्वानुमानको ठूलो भूमिका हुन्छ । हाल जल तथा मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमानमा धेरै सुधार भएको छ । तर यसलाई भरपर्दो, समय सान्दर्भिक बनाउन चुनौती छन् ।

हालको मौसम अवस्थाको आधारमा गणितीय समीकरणको संग्रह मौसम मोडल प्रयोग गरी भविष्यको पूर्वानुमान गरिन्छ । त्यसैले जति धेरै संख्यामा मौसम मापन गरिन्छ, मौसम पूर्वानुमान त्यति नै भरपर्दो हुन्छ । नराम्रो वा कम तथ्यांकले मौसम पूर्वानुमान पनि कम भरपर्दो हुन्छ । नेपालमा जल तथा मौसम विज्ञान विभागले लगभग ५ सयको हाराहारीमा विभिन्न प्रकारका म्यानुयल र स्वचालित मौसम मापन केन्द्र जडान गरेको छ । यी केन्द्रमा जडित यन्त्रले पृथ्वीसँग जोडिएको तल्लो वायुमण्डलका विभिन्न मौसम अवयवको मापन गर्दछ । त्यसैले यसलाई सतही मौसम मापन केन्द्र पनि भनिन्छ । यी मापन यन्त्र पनि विभिन्न किसिमका छन् । एउटा वर्षाको मापन, अर्को तापक्रम, आर्द्रता र वर्षाको मापन गर्ने हावापानी केन्द्र पनि छन् ।

कुनै कृषि प्रयोजनका लागि पनि हामी वायु, पानी, तापक्रम आर्द्रता, सौर्य ऊर्जा, माटोको तापक्रम, वाष्पीकरण आदिको मापन लिन्छौं । त्यसैगरी आधारभूत मौसम पूर्वानुमान प्रयोग हुने सिनोप्टिक र हवाई मौसमका लागि एरो–सिनोप्टिक केन्द्रमा तापक्रम, हावाको गति र दिशा, वर्षादेखि वायुको चाप, बादल, पारदर्शिता आदि मौसम अवयवको मापन गरिन्छ ।

मौसम पूर्वानुमानमा वायुको चापको ठूलो महत्त्व हुन्छ । न्यून चापीय प्रणालीले खराब मौसम ल्याउँछ भने उच्च चापीय प्रणालीले सफा मौसम दिन्छ । मौसम पूर्वानुमानलाई भरपर्दो बनाउन मौसम अवलोकनमा भू–उपग्रह, राडार, चट्याङ मापन केन्द्र तथा उपल्लो वायुमण्डल मापन गर्ने रेडियोसोन्ड केन्द्र पनि प्रयोग गरिन्छ । भरपर्दो मौसम पूर्वानुमान गर्न नेपालको मात्रै तथ्यांक भएर हुँदैन ।

विश्वव्यापी मौसम प्रणालीले नेपालको मौसमलाई असर गरिरहेको हुन्छ, त्यसैले तथ्यांक पनि त्यही किसिमको चाहिन्छ । नेपालको मौसम पूर्वानुमानको स्तर विश्वव्यापी र क्षेत्रीय तथ्यांकहरूको उपलब्धमा पनि भर पर्छ ।

तुलनात्मक रूपमा हाम्रोमा वर्षा मापन यन्त्र चार सयभन्दा बढी छन् । पहाडी भूगोलका कारण नेपालमा धेरै स्थानिक विविधता हुन्छ र वर्षा पर्ने दर पनि फरक–फरक हुन्छ । गोदावरीमा पानी पर्दा ताहाचलमा पानी नपरेको हुन सक्छ । पोखरामा सबैभन्दा बढी पानी पर्छ भने उत्तरमा जोमसोममा धेरै कम वर्षा हुन्छ ।

पहाडी क्षेत्र भएका मुलुकमा यस्ता मापन यन्त्र जति धेरै भए त्यति राम्रो आकलन गर्न सहयोग हुन्छ । काठमाडौं र चितवनको तथ्यांक छ तर त्योबीचको स्थानबाट तथ्यांक लिइएन भने यी दुई स्थानबीचको पूर्वानुमान यही दुई तथ्यांकको आधारमा हुन्छ । त्यो पूर्ण रूपमा सही नहुन सक्छ । त्यसैले जति धेरै तथ्यांक, त्यति धेरै अनुमान गर्न सहज हुन्छ ।

तापक्रमको अवस्थामा केही थाहा पाउन सजिलो हुन्छ । वर्षा गराउने प्रणालीको प्रक्रिया अलि जटिल हुन्छ । सबै बादलले पानी पार्दैन । वर्षात्को प्रणाली र प्रक्रियामा नन–लिनियर विशेषता हुन्छ । तापक्रममा चाहिँ केही हदसम्म लिनियर विशेषता हुन्छ । यो धेरै हदमा अक्षांश र उचाइमा भर पर्छ । जस्तैः कुनै पहाडको फेदी, ५ सय मिटर र त्यसको चुचुरो, ५ हजार मिटर उचाइमा मापन गरेको तापक्रमको आधारमा ५ सय मिटर र ५ हजार मिटरबीचको उचाइको तापक्रम धेरै हदसम्म आकलन गर्न सकिन्छ ।

३ हजार मिटरभन्दा माथिका स्थानमा मौसम अवलोकन निकै कम छ । यो नेपालको मात्र नभई विश्वव्यापी मौसम पूर्वानुमानका लागि महत्त्वपूर्ण चुनौती हो ।

नेपालको सिधा माथिको वायुमण्डलमा हावाको आर्द्रता, अवस्था, वायुको अवस्था/गति के छ भन्ने मापन भएको थिएन । सन् २०१९ देखि मात्रै अवलोकन गर्न थालिएको छ । कीर्तिपुरको रेडियोसेन्ड केन्द्रबाट दैनिक एक पटक बेलुन उडाएर तथ्यांक लिन्छौं । नेपालभरमा एक ठाउँमा मात्रै यसको तथ्यांक संकलन हुन्छ । निकै महँगो भएकाले अरू ठाउँमा यसको अध्ययन गर्न सम्भव भइरहेको छैन । अब्जर्भेसन ग्यापले गर्दा पनि मौसम पूर्वानुमान गर्दागर्दा हाम्रोमा गाह्रो भइरहेको छ ।

अर्को चुनौती भनेको मौसम अवयवहरूको विशेषता र अन्तरसम्बन्ध नन–लिनियर हुन्छ र पूर्वानुमानको समयसीमासँगै पूर्वानुमानको त्रुटि पनि बढ्दै जाने यसको विशेषता हुन्छ । त्यसैले मौसम पूर्वानुमान गर्दा जति लामो समयको आकलन गरिन्छ, त्यति नै एक्युरेसी घट्दै जान्छ । त्यसैले हाल नेपालमा नियमित रूपमा केही घण्टादेखि तीन दिनसम्मको मौसम पूर्वानुमान, साप्ताहिक गुणात्मक मौसम पूर्वानुमान र मनसुन तथा हिउँदको ऋतुगत पूर्वानुमान गरिन्छ ।

युरोप र अमेरिकामा मौसम र जलवायुका विविध पक्षको अध्ययन/अनुसन्धान भएका छन् । त्यसैले त्यहाँको मौसम पूर्वानुमान गर्ने मोडलले त्यहाँको मौसम विविधतालाई समेटेको हुन्छ । अर्थात्, मौसम पूर्वानुमान मोडल त्यस स्थानको लागि क्यालिब्रट र भेरिफाइ गरेको हुन्छ । त्यसैले ती देशमा भरपर्दो मात्रात्मक मौसम पूर्वानुमान हुन्छ र तीन–चार हप्तासम्मको मात्रात्मक र गुणात्मक साप्ताहिक मौसम पूर्वानुमान गरिन्छ । तर नेपालको सन्दर्भमा मौसमी विविधताको धेरै अध्ययन गर्न बाँकी छ ।

हामी अहिले नियमित रूपमा वर्षा र तापक्रमको पूर्वानुमान मात्र गर्छौं । तर, विकसित देशमा अरू मौसम प्रणाली (कुहिरो, हावाहुरी, असिना, घुम्रपात (टोर्नेडो), चक्रवात, चिसो लहर, तातोलहर, सुख्खा, अतिवृष्टी) को पनि पूर्वानुमान गरिन्छ । यसका लागि विभिन्न किसिमको मौसम प्रणालीका लागि फरकफरक मौसम मोडल प्रयोग गर्नुपर्ने हुन्छ । यी प्रणाली विकसित गर्ने मौसमका कारण उत्तरी अमेरिकामा भन्दा नेपालमा फरक हुन सक्छ । नेपालमा मुख्यतया वर्षा मनसुनी प्रणालीले गराउँछ भने अमेरिकामा फ्रन्टल सिस्टमले गराउँछ । त्यसैले यसका लागि नेपालमा मौसम प्रणालीको डाइनामिक्सको अध्ययन अनुसन्धान गरी सोहीअनुसारको मोडल क्यालिब्रेसन र विकास गर्न जरुरी छ । नेपालमा अहिले एकै किसिमको मोडल मात्र प्रयोग गर्छौं ।

मौसम पूर्वानुमानको एक्युरेसी कस्तो प्रकारको मौसम प्रणाली हो भन्ने कुरामा पनि सम्बन्ध छ । ठूलो क्षेत्रफलको मौसमी प्रणाली हो भने मोडलहरूले क्याप्चर गर्छ । अवलोकनमा भएको ग्याप मिलाउन पनि सजिलो हुन्छ तर स्थानीय स्तर वा सानो क्षेत्रफलको मौसम प्रणाली अनुमान गर्न गाह्रो हुन्छ । त्यही भएर प्रि–मनसुन र पोस्ट मनसुनमा कतिपय पूर्वानुमान नमिल्न पनि सक्छन् । मनसुन तथा हिउँदमा धेरै हदसम्म पूर्वानुमान मिल्छ । तर, जहाँ स्थानीय वायुको अवस्थाले भूमिका खेल्न थाल्छन् तब चुनौती थपिन्छन् ।

जलवायुको अध्ययन मौसम घण्टा–घण्टामा, दैनिक रूपमा परिवर्तन भइरहने वायुमण्डलीय अवस्था हो भने जलवायु भन्नाले कुनै पनि स्थानको औसत (कम्तीमा ३० वर्षको) वायुमण्डलीय अवस्था हो । त्यसैले भविष्यमा हुने मौसमी अवस्थाको आकलन गर्नेलाई मौसम पूर्वानुमान भनिन्छ । जलवायुको आकलन गर्नेलाई जलवायु प्रक्षेपण भनिन्छ ।

नेपालको विगतको तापक्रमको अवस्था हेर्दा देशभर तापक्रम बढिरहेको संकेत दिन्छ । अधिकतम तापक्रम (दिउँसो) बढ्ने दरमा वृद्धि भइरहेको छ । सन् १९७१ देखि २०१४ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा अधिकतम तापक्रम वृद्धिदर वार्षिक रूपमा ०.०५६ डिग्री सेल्सियसले बढ्दै गएको देखिन्छ । यो अवस्था तराईभन्दा उच्च हिमाली क्षेत्रमा धेरै छ । हिमनदी पग्लनु, हिमतालको क्षेत्रफल बढ्नुलाई पनि तापक्रम वृद्धिको संकेत र असरका रूपमा लिन सकिन्छ ।

हरित गृह ग्यासका कारण तापक्रम बढाइदिएको छ र त्यो सिधै देखिन्छ । अत्यधिक वर्षा हुने घटना पहिला नभएको ठाउँमा बढेको छ । जस्तैः पहिला हामीले सुन्दा पूर्वतिर बाढीले धेरै नोक्सान गरेको सुनिन्थ्यो, पश्चिमतिर कम हुन्थ्यो । अहिले बाढीबाट धेरै नोक्सान पश्चिमतिर देखिन थालेको छ । यस्ता जटिल मौसम परिस्थतिका लागि तयार हुन र क्षति न्यूनीकरण गर्न भर पर्दो मौसम पूर्वानुमानको ठूलो महत्त्व र आवश्यकता हुन्छ ।

जलवायु परिवर्तन भइरहेको छ र नेपालले पनि हरेक वर्ष धेरै नोक्सान व्यहोर्नुपरेको छ । तर यी विषम मानव सिर्जित जलवायु परिवर्तनका कारणले हो भनेर यकिन गर्न ‘क्लाइमेट चेन्ज एट्रिब्युसन’ विश्लेषण गर्न आवश्यक छ । यसका लागि राष्ट्रले लगानी गर्नुपर्छ ।

जल तथा मौसम पूर्वानुमान विभागकी उपमहानिर्देशक श्रेष्ठसँग कान्तिपुर संवाददाता गोविन्द पोखरेलले गरेको कुराकानीमा आधारित ।

प्रकाशित : फाल्गुन ७, २०७८ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×