कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

‘रोलमोडल’ किशोरी

हरेक शुक्रबार विद्यालय जान छाडेर उनी रिक्सडगअघि प्लेकार्डसहित उभिन्थिन्, सुरूवाती दिनमा उनको आडमा उभिइदिने अर्को कोही भएन तर ३ महिनाभित्रै उनको ‘स्कुल स्ट्राइक’ मा २४ युरोपेली मुलुकका १७ हजारभन्दा बढी विद्यार्थी जोडिइसकेका थिए
बुद्धिसागर मरासिनी

चार वर्षअघि शरद ऋतु सुरु हुनै लाग्दा स्विडेनको राजधानी स्टकहोमको अवस्था सदाकै जस्तो सामान्य थियो । घामका किरण केही मधुर हुन थालेका भने थिए । चिल्ला सडकमा सवारीसाधन आउजाउ चलेकै थियो । मानिसहरू आ–आफ्नै दैनिकीमा व्यस्त । त्यही सहरकी एक किशोरीको मन भने बेचैन थियो । त्यो बेचैनीको कारण थियो– मानिसहरूको भौतिकवादी जीवनशैलीले पृथ्वीमा पारेको प्रभाव ।

‘रोलमोडल’ किशोरी

भविष्यका सन्ततिप्रतिको चिन्ताले सताउन थालेपछि अन्ततः ती किशोरीले संसद् भवन ‘रिक्सडग’ पुग्ने चिल्ला सडकहरू पछ्याइन् र हातले लेखिएका प्लेकार्डसहित सुरु गरिन् एक अभियान ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’ अर्थात् जलवायुका लागि विद्यालय हडताल । जलवायु परिवर्तनले पारेको असर र प्रभाव न्यूनीकरणका लागि शक्ति राष्ट्रलाई दबाब दिन विश्वभरका विद्यार्थीहरूलाई एकीकृत पार्नु यो अभियानको ध्येय थियो ।

भारतीय स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबारे कुनै बेला भनेका थिए, ‘भीडमा उभिन सहज हुन्छ तर एक्लै उभिन साहस चाहिन्छ ।’ गान्धीले संसार छाडेको ७ दशकपछि १५ वर्षीया ग्रेटा थनवर्गले त्यो साहस जुटाएकी थिइन् ।

हरेक शुक्रबार विद्यालय जान छाडेर उनी रिक्सडगअघि प्लेकार्डसहित उभिन्थिन् । सुरुवाती दिनमा उनको आडमा उभिइदिने अर्को कोही भएन । तर ३ महिनाभित्रै उनको ‘स्कुल स्ट्राइक’ ले २४ युरोपेली मुलकका १७ हजारभन्दा बढी विद्यार्थीलाई जोडिसकेको थियो । एक वर्ष नपुग्दै ग्रेटा आफ्नो अभियानका कारण यति चर्चित बनिसकेकी थिइन् कि जलवायु परिवर्तनका विषयमा युरोपमा हुने सबैजसो कार्यक्रममा वक्ताका रूपमा देखिन थालिन् । सन् २०१८ मा उनले पोल्यान्डको क्याटाविसमा भएको जलवायु सम्मेलन कोप–२४ मा दिएको मन्तव्यको चौतर्फी प्रशंसा भयो । उनले जलवायु परिवर्तनले निम्त्याएका समस्या र भविष्यमा आफूजस्ता करोडौं बालबालिकाहरूले भोग्नुपर्ने समस्याबारे तार्किक र मार्मिक मन्तव्य दिएकी थिइन् ।

सन् २०१९ को मार्चमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेपछि उनको लोकप्रियताको उचाइ निकै चुलियो । अर्को वर्ष टाइम म्यागेजिनले उनलाई ‘विश्वकै प्रभावशाली व्यक्ति’ को सूचीमा राख्यो । टाइमले अर्को पुस्ताकी ‘रोलमोडल नेता’ भन्दै कभर स्टोरी नै गरेको थियो ।

विश्वभरका स्कुले विद्यार्थीलाई लक्षित गरी पृथ्वी र भावी पुस्ताको सुनिश्चित भविष्यका लागि उनले सुरु गरेको अभियान पछिल्लो समय देखिएका जलवायुजन्य जोखिम र असर न्यूनीकरणका लागि क्रियाशील छ । उनको अभियानलाई विश्वका सबैजसो मुलुकका युवाहरूले साथ दिइरहेका छन् । उनीहरूको उद्देश्य र लक्ष्य समान छ, जलवायु परिवर्तनका कारण पृथ्वीमा देखा परेको असर कम गराउन सरकार तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनु । त्यसैले त १६९ मुलकका ४० लाखभन्दा बढी अभियानकर्मीहरू ‘भविष्यको सुनिश्चितताका लागि जलवायु न्याय’ को एउटै छातामुनि उभिएका छन् । स्विडेनको स्टकहोममा सन् २००३ को जनवरी ३ मा जन्मिएकी हुन् ग्रेटा । उनको पूरा नाम ग्रेटा टिनटिन एलिवोनोरा एमान थनवर्ग हो । उनका बुबा अभिनेता हुन् भने आमा गायिका । बहिनी बेटा स्विडेनकी चर्चित गायिका हुन् । यी दिदीबहिनी मस्तिष्कको विकाससम्बन्धी समस्या ‘एसपर्गर्स’ बाट पीडित छन् ।

आफ्नो प्रभावशाली भाषणका कारण चर्चामा आउने ग्रेटा जलवायुसम्बन्धी समिति र बैठकहरूमा भने कमै बोल्ने गर्छिन् । उनी सार्वजनिक रूपमै भन्ने गर्छिन्, ‘तपाईंले मेरो कुरा सुन्नुपर्छ भन्ने छैन तर वैज्ञानिकहरूको कुराचाहिँ सुन्नुहोस् ।’

सन् २०२० मा उनले आफ्नो पुरस्कारबाट प्राप्त एक लाख अमेरिकी डलर बालबालिकासम्बन्धी राष्ट्र संघीय निकायलाई प्रदान गरेकी थिइन् । त्यस्तै, कोरोना महामारीका समयमा ब्राजिलको अमेजनमा आश्रित समुदायको सहयोगका लागि उनले आर्थिक संकलनको अभियान नै चलाइन् । गत वर्ष स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा पनि उनले कोरोनाविरुद्धको खोप अभियानका लागि एक लाख युरो सहयोग गरेकी थिइन् ।

कोप–२६ का क्रममा हजारौं युवायुवतीको सहभागिता रहेको र्‍यालीमा बोल्दै ग्रेटाले ‘जलवायु सम्मेलनहरू व्यापारमै सीमित हुने गरेका’ टिप्पणी गरिन् । ‘प्रकृतिलाई जोगाउने हो भने हरितगृह ग्यास उत्सर्जन घटाउन तत्काल कठोर निर्णय गर,’ जलवायु वार्ताकारहरूको ध्यानाकर्षण गराउँदै उनले भनेकी थिइन् । शासनसत्तामा रहेकाहरूले सधैं जालझेल गर्ने र अग्रपंक्तिका सामान्य मानिसहरू सधैं जलवायु संकटको पीडा भोग्न बाध्य भइरहेका उनको भनाइ थियो । जलवायु न्यायको पक्षमा विश्वभर अभियान चलाए पनि नेतृत्वले त्यसलाई खासै महत्त्व नदिएको र आफूले सोचेअनुसार प्रगति नभएको उनको बुझाइ छ । पेरिस सम्झौताअनुसार विकसित मुलुकहरूले कामै नगरेकामा उनी सधैं गुनासो गर्छिन् । पेरिस सम्झौतामा विश्वको तापक्रम १.५ डिग्रीभन्दा बढीले बढ्न नदिइने प्रतिबद्धता जनाइएको छ । त्यसका लागि सबैभन्दा बढी जिम्मेवार विकसित मुलुकहरूले हरित गृह ग्यास कटौती गर्नुपर्ने हुन्छ । कोप–२६ मा भेला भएका सयभन्दा बढी मुलुकका नेताहरू सन् २०३० भित्र वन विनाश रोक्न सहमत भएपछि भने केही आशा पलाएको छ ।

सन् २०१९ मा ग्रेटा राष्ट्रसंघीय जलवायु कार्यक्रममा भाग लिन १४ दिन लगाएर अमेरिका पुगिन् । कार्बन उत्सर्जन नगर्ने पानीजहाज चढेर उनी बेलायतबाट अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । कार्बन उत्सर्जन गर्ने भएकाले उनी हवाईजहाज चढ्न मान्दिनन् । शाकाहारी हुन् र सम्भव भएसम्म जैविक इन्धनबाट चल्ने सवारीसाधन पनि प्रयोग गर्दिनन् । कार्यक्रममा भाग लिने क्रममा उनी पानीजहाजमै उत्तर अमेरिकी देश चिलीसम्म पुगेकी छन् । जहाँ पुग्छिन्, उनी आकर्षणको केन्द्र बन्छिन् ।

‘एक १६ वर्षीया किशोरीले जलवायु संकटमा आफ्नो अडान कायम राख्न एट्लान्टिक महासागर पार गर्नु पागलपना हो,’ न्युयोर्कमा थनवर्गले भनेकी थिइन्, ‘निश्चय नै म यो सबैले गरून् भन्ने चाहन्नँ ।’ कार्यक्रममा बोल्दै उनले नेताहरू, विधायक र राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको कडा आलोचना गरेकी थिइन् । ‘तपाईंहरूले आफ्नो मौनतामार्फत मेरो बाल्यकाल र सपना चोर्नुभयो । यद्यपि, म केही भाग्यमानी हुँ, मानिसहरू पीडित छन्, मरिरहेका छन्,’ ग्रेटाले भनेकी थिइन्, ‘हामीहरू लोप हुने अवस्थाको सुरुवातमा छौं तर तपाईंहरू सबै पैसा र आर्थिक वृद्धिको कुरा गर्नुहुन्छ । यो कस्तो आँट !’

उक्त भाषण सुनेपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको व्यंग्य गर्दै ट्वीट गरेका थिए । ‘उनी उज्ज्वल र सुन्दर भविष्यको पर्खाइमा रहेकी निकै खुसी केटीजस्ती लाग्यो । उनलाई देखेर खुसी लाग्यो,’ ट्रम्पले ट्वीटरमा लेखेका थिए । त्यसको प्रतिक्रिया स्वरूप ग्रेटाले ट्रम्पको ट्वीट नै केही समयका लागि आफ्नो ट्वीटर ह्यान्डलको ‘बायो’ मा राखेकी थिइन् । ग्रेटा सामाजिक सञ्जालमा पनि उत्तिकै क्रियाशील र चर्चित छिन् । ट्वीटरमा उनलाई ५० लाखले पछ्याएका छन् ।

ट्रम्पजस्तै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका नेताहरू पनि उनका कडा आलोचक हुन् । आलोचकहरू जतिसुकै शक्तिशाली वा धनी नै किन नहुन्, ग्रेटाले एक्लै उभिने साहस जुटाइन् र आफ्नै वरिपरि भीड जम्मा पारिन् । उनी जहाँ जान्छिन्, सधैं हजारौंको घेरामा हुन्छिन् ।

प्रकाशित : फाल्गुन ७, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?