बर्खाले घर लग्यो, हिउँदले श्रीमती- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

बर्खाले घर लग्यो, हिउँदले श्रीमती

हिमालपारि बदलियो वर्षाको चरित्र, पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमाल पग्लिएकाले पानी पर्ने क्षेत्र माथिमाथि सर्दै गएको विज्ञहरुको भनाइ
दीपक परियार

काठमाडौँ — आँगन र पाखो बारीमा पग्लिइसके पनि खोल्साखोल्सीमा अझै हिउँ बाँकी छ । धौलागिरि, टुकुचे र नीलगिरि हिमालको चिसो स्याँठ मंगललाल परियारको अस्थायी टहरोले हम्मेसी छेक्दैन । घाम देखिन थालेपछि उनी टहरो बाहिर निस्कन्छन् । अलि मास्तिर भत्किएको घर हेर्दै टोलाउँछन् ।

घर हेर्दै विरक्तिन अब उनको साथमा श्रीमती छैनन् । टहरोमा बस्दाबस्दै यो ठण्डीमा रसमायालाई निमोनिया भयो । मंगललालले बर्खामा घर गुमाए, हिउँदमा श्रीमती ।

मुस्ताङको थासाङ गाउँपालिका–२ नौरीकोटमा ४ दशकअघि मंगललालले कम्ता दुःखले घर बनाएका थिएनन् । ढुंगा, माटोको गारो । ढुंगा, माटो र काठकै छानो । दुई–तीन वर्षमा छानो फेरिराख्नुपर्ने । दुई तले घरको तल्लो तलामा गाईबस्तु पाल्ने । माथि परिवार बस्ने । खेतीपाती र ज्याला मजदुरीले गुजारा चल्थ्यो । गएको असार १८ को दिन सधैंजसो एकनासको रहेन । हिमालपारिको मुसलधारे पानी छानो हुँदै घरभित्रै पसिसकेको थियो । भित्ताहरू ओसिला थिए । श्रीमती, छोरा, बुहारी र दुई नातिलाई चनाखै बस्न भने । छानो रसाएर तपतप चुहिएको पानीबाट बच्न मंगललालले प्लास्टिक ओढे । राति साढे २ बजेको हुँदो हो, घरको एकापट्टिको गारो घक्रक्क लडेको आवाज आयो । सबै जना जर्‍याकजुरुक उठे । झरी परिरहेकै रात सबै घरबाहिर निस्किए । निस्किएको केहीबेरमै छानो भत्किएर बजारियो । त्यस रात मंगललालको परिवारले छिमेकमा ओत मागे । बिहान उठेर हेर्दा घर गर्ल्यामगुर्लुम्म ढलिसकेको थियो ।

त्यही रातको झरीले गाउँमा कसैको घर भाँसियो, कसैको भित्ता चर्कियो । छिमेकी खन्तीगाउँमा ५ घरमा क्षति पुग्यो । मंगललालको परिवार बर्खामा दुई महिना पाल टाँगेर बस्यो । दुई महिना गाउँकै समाज घरमा आश्रय लिए । असोजदेखि छिमेकी जसदेवी शेरचनको जग्गा एक वर्षका लागि भाडामा लिएर ढुंगा, माटोको अस्थायी घर बनाए । बर्खा जसोतसो कट्यो । ठण्डी सुरु भयो । कच्ची घरले भुइँको चिसो छेक्थ्यो न बाहिरको । कात्तिक २८ मा टुकुचे हिमालबाट आएको हिमपहिरोले नौरीकोटलाई नै तर्सायो ।

पुसमा हिउँ पर्न सुरु गरेपछि ५९ वर्षीया रसमाया बिरामी पर्न थालिन् । छोरा श्यामलालले आमालाई पोखरा पुर्‍याए । निमोनिया देखियो । १०–१२ दिन उपचार गरेपछि चिकित्सकले घरमै अक्सिजन लगाएर राख्न सुझाए । श्यामलालले माघ १७ मा आमालाई घरै लगे । चार दिनपछि रसमायाले संसार छाडिन् । ६३ वर्षीय मंगलमान पनि थलिएका छन् । चिसोले हातगोडा सुन्निएका छन् । ‘अहिलेको पानीले साह्रै हत्ते बनायो,’ उनले फोनमा भने ।

मंगलमानको परिवार अहिले छोरा श्यामलाल र बुहारी मनमायाको भरमा छ । नातिहरू १० वर्षका साहिल र ४ वर्षका सचिन छन् । श्यामलालले बर्खाअघि नै माथिल्लो मुस्ताङबाट लुला प्रजातिका ४ वटा गाई ल्याएर पालेका थिए । हिउँद लागेपछि दूध घटेको छ । अधियाँ खेती पनि यसपल्टको झरीले फस्टाउन पाएन । धेरै झरी पर्दा मकैका बोट मरे । फापरको फूल झरेर रातै भए । आलुको बोट मार्‍यो । सिमीमा पनि फल लागेन । बितेका वर्ष साढे ५ रोपनीमा ४५ मुरी आलु फल्थ्यो । यस वर्ष ७ मुरी मात्रै फल्यो । ‘गाउँबाट ४–५ ट्र्याक्टर आलु बेनी र पोखरा पुग्थे,’ उनले भने, ‘यो साल मुस्किलले डेढ ट्र्याक्टर पुग्यो ।’ मकै पनि गाउँभरि एक ट्र्याक्टर पनि पुगेन । सिमी अरू बेलाभन्दा तीन गुणा कम फल्यो । सालैपिच्छे ९ रोपनीमा फापर लगाउँदा ८–९ मुरी फल्थ्यो । झरीले बिगार्दा यो वर्ष ३ मुरी मात्रै फल्यो । ‘तीन भागको एक भाग जग्गाधनीलाई दिनुपर्छ,’ उनले भने, ‘अलिअलि त्यही खेतीपाती गरेर नुनतेल चल्थ्यो, अहिले त्यो पनि घट्यो ।’

उनको घर भत्किएपछि सांसद नै पुगेर सान्त्वना दिए । घर बनाउन सहयोग गर्ने आश्वासन दिए । गाउँपालिकाले पनि जनता आवास कार्यक्रममार्फत घर बनाउन पहल गर्ने बतायो । तर, सात महिना बितिसक्दा पनि न सांसदले सहयोग गरे न गाउँपालिकाले । न कतैबाट कुनै राहत पाए । कतैबाट सहयोग नजुट्ने देखेपछि श्यामलालले आफैं घर बनाउने जोहो नगरेका होइनन् । ज्यालादारी र खेतीपातीबाट बचाएको र आफन्तसँग सरसापट गरेको पैसा थियो उनीसँग । त्यतिबेलै आमा बिरामी परेपछि सबै पैसा सकियो । किरिया खर्चलाई ऋण खोज्नुपर्‍यो । ‘पैसा हुनेले सबैले बनाउने, मर्मत गर्ने गरिसके,’ उनले भने, ‘ढुंगा माटोकै भए पनि पक्की घर बनाएर सरौंला भन्ने थियो । थाप्लोभरि ऋण भयो अब कसरी बनाउनु ?’

झरिले घरबारविहीन बनाएको छ । जग्गा भाडामा लिएर बनाएको छाप्रोको एउटा कुनामा बिरामी बुबा लडिरहेका छन् । खेतीबालीको उत्पादन घटेको छ । जग्गाको भाडाबापत २० हजारमध्ये आधा बुझाउनै बाँकी छ । ३१ वर्षीय श्यामलाललाई के गर्ने भन्ने केही मेसो छैन । ‘केही तालिम लिऊँ भनौं भने गाउँपालिकाले पढाइ छैन भन्छ,’ मलिन स्वरमा उनले भने, ‘अब हलै जोत्ने त होला ।’

६ दिन ६ रातको बर्खा
मर्स्याङ्दी नदीको बाढीले घर र होटल बगाएपछि मनाङको नासों गाउँपालिका धारापानीका ८४ वर्षीय शेरबहादुर गुरुङ काठमाडौं बस्छन् । असार १ को बाढीले उनको ४६ बेडको न्यु तिब्बतियन होटल बगायो । आडैका अरू ४ होटल पनि बगे ।

अघिल्लो रातदेखि नै पानी दर्किएको थियो । भोलिपल्ट बिहान ४ बजेतिर जमिन नै थर्किएजस्तो भयो । मर्स्याङ्दीले बगाएर ल्याएका ठूल्ठूला ढुंगा, काठपातको आवाजले माथिल्लो धारापानीसम्मै थर्किएको थियो । धारापानीमा हल्लाखल्ला भयो । स्थानीय ४ बजे नै उठेर अलि मास्तिरको ओढार गाउँ उक्लिए । जति उज्यालो हुँदै गयो, त्यति पानी बढ्दै गयो । बिहानपख ओढार गाउँको डिलबाट तल हेर्दा तल्लो धारापानी सग्लो थिएन । भएको पाँचवटा होटल, गाउँपालिका भवन, विद्यालय भवन, बैंकको कार्यालय मर्स्याङ्दीको कटानले बगाइसकेको थियो ।

पहिले पहिले मर्स्याङ्दीको सतह बढ्ने गरे पनि त्यति माथिसम्म आएको शेरबहादुरलाई सम्झना छैन । यसपल्ट ठूलो ढुंगा नदीको बीचमा अड्किएपछि धारापानीतर मर्स्याङ्दी सोझिएको थियो । ‘त्यति माथिसम्म नआइपुग्ला भनेर केही सरसामान निकालिएन,’ उनले भने, ‘केही बाँकी राखेन । मान्छे बसेको भए सबै सोहोर्ने रहेछ ।’ उनीसहित धारापानीका स्थानीयले ओढारको विद्यालयमा एक साता बिताए । त्यसपछि भने माथिल्लो धारापानीमा रहेको आफन्तको होटलमा झरे । उनको परिवार २२ दिनपछि काठमाडौं झर्‍यो । पानी परेको दिन उनले गनेरै बसेछन् । ‘ठ्याक्कै ६ दिन ६ रात एकैनासले पानी पर्‍यो । पानीको थोपा पनि ठूलो–ठूलो थियो । यत्तिको ठूलो पानी कहिल्यै परेको थाहा पाइनँ,’ उनले भने । उनका अनुसार पहिला केही घण्टा पानी पर्ने र आकाश उघ्रने हुन्थ्यो । एक झमट फिरिरिर्र दर्किन्थ्यो । लामो झरी पर्दैनथ्यो । यसपल्टको बर्खामा त्यस्तो भएन । ग्रागीबाट पानी घोप्टाएजसरी पानी

परिरह्यो । ‘बाउबाजेले पनि कहिल्यै यति ठूलो पानी परेर मनाङमा बाढीपहिरो आएको घटना सुनाएनन्,’ उनले भने, ‘यसपालि उल्का भयो ।’ पञ्चायतकालमा वडा सभापति, गाउँ सभापति हुँदै निर्वाचित जिल्ला सभापति भएका उनी ०४६ को जनआन्दोलनपछि राजनीतिमा निष्क्रिय भए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापनापछि लमजुङबाट मनाङ, थोराङपास हुँदै मुस्ताङ निस्कने चक्रीय अन्नपूर्ण पदमार्गमा उल्लेख्य पर्यटक पुग्न थाले । उनले त्यतिबेलै धारापानीमा होटल बनाए । तत्कालको निर्माण, मर्मतसम्भार र विस्तारमा झन्डै ३ करोड रुपैयाँ खर्च भएको उनी बताउँछन् ।

खेती किसानी पनि गर्थे । ८ सय भेडाबाख्रा र ५० वटा गाई पालेका थिए । नुन बोक्ने २५ वटा झोवा थिए । उनी मनाङबाट गहुँ, मकै, आलु, चामल बोकेर लार्के पुग्थे । भोटबाट नुन बोकेर चौंरीको लस्कर आउँथे । तिब्बतीसँग अन्न र नुनको विनिमय हुन्थ्यो । भारतबाट आउन थालेपछि भोटबाट नुन आउन छोड्यो । पशुपालन पनि कम हुँदै गयो । अहिले गुरुङको भेडीगोठमा एक सय जति भेडा, च्याङ्ग्रा छन् । ‘अहिले धेरै जना विदेश छन् । कोही काठमाडौं, बुटवल, पोखरा झरेका छन्,’ उनले भने, ‘गाउँघरमा बस्नै मान्दैनन् । आजभोलिको चलन नै त्यस्तै छ ।’

काठमाडौंमा छोराहरूले बनाएको घर साँघुरो भएको छ । उनलाई धारापानी फर्किन मन छ । तर होटल बनाउने जमिन छैन । राम्रो जमिन फर्किने हिम्मत जुटाइसकेका छैनन् । ‘सरकारले त्यहीँ बस्ने व्यवस्था गरिदिए हुन्थ्यो,’ उनी भन्छन्, ‘हामी सुकुम्बासी भइयो ।’

मनसुन सुरु भएको चौथो दिन जेठ ३१ देखि नै परेको पानीले मनाङका ठाडो खोलाहरू र मर्स्याङ्दीमा पानीको सतह बढेको थियो । बाढीपहिरोबाट नासों गाउँपालिकाका ताल बजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यु, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र मनाङ ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती, विद्यालय, सरकारी कार्यालय, लघु जलविद्युत्, सिँचाइ, खानेपानी, पुल, बाटोलगायतका पूर्वाधारमा क्षति पुर्‍यो । मानवीय क्षति भने भएन । गण्डकी प्रदेशको विपद् व्यवस्थापन शाखाका अनुसार बाढीपहिरोबाट मनाङका ७५ घर पूर्ण रूपमा क्षति भएका छन् । घर बनाउन प्रदेशले २ लाख र स्थानीय तहले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् । उक्त रकमबाट स्थानीयले टिनको छानो हालेर बनाएर बसेका छन् । संघ सरकारले तटबन्धका लागि ६ करोड रुपैयाँ छुट्याएको छ । काम भने अझै सुरु भइसकेको छैन ।

मनाङका नरेन्द्र लामालाई ०४० सालतिर ताल गाउँमा मर्स्याङ्दीको बाढी पसेको सम्झना छ । त्यति बेला अहिलेजस्तो क्षति भने भएको थिएन । तटबन्ध बनाएर स्थानीय ताल गाउँमै बस्न थाले । अहिले पनि पानीको सतह कम भएकाले बाढी पसेको घर सफा गरेर स्थानीय बस्न सुरु गरेका छन् । अर्को बर्खामा फेरि खतरा दोहोरिन सक्ने उनी देख्छन् । ‘बाढीपहिरोले पारेको असर, भूगोलको अध्ययन गरेर पुनर्वासको योजना बनाउने, भूसंरचनाको अध्ययन गर्ने कार्य भएकै छैन,’ अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्रको नेतृत्व गरिसकेका लामाले भने, ‘अस्थायी र स्थायी रूपमा के गर्न सकिन्छ भनेर योजना बन्नुपर्छ ।’ झोलुंगे पुल निर्माण, बिजुली, खानेपानी, सिँचाइ, बाटो निर्माण, भत्किएका संरचनाको पुनर्निर्माण यही आर्थिक वर्षभित्र सक्ने गरी योजना बनाउनुपर्ने उनको तर्क छ । भन्छन्, ‘नेता आएर राहत बाँडेर मात्रै केही हुँदैन । भू–बनोटको अध्ययन गरेर स्थायी संरचना नबनाउँदासम्म गएको बर्खाकै पुनरावृत्ति हुन्छ ।’ मनाङमा रहेका खोलाको संरचना, हिमतालको अवस्था, बाढीको जोखिम, सार्नुपर्ने बस्तीको विज्ञबाट अध्ययन अनुसन्धान गरेर योजना नबनाउँदासम्म तल्लो मनाङको समस्या स्थायी रूपमा समाधान नहुने उनी बताउँछन् ।

वर्षाले बदलेको चरित्र
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमलाई पनि स्थानीय बूढापाकाले यतिविघ्न पानी यसअघि कहिल्यै नपरेको सुनाए । अत्यधिक वर्षाले चामेको बीच भागबाट बग्ने घट्टेखोलामा पहिरोसहितको बाढी आयो । लमजुङ हिमालको फेदीबाट आउने यो खोलामा यसअघि जेठ १४ मा पनि बाढी आएको थियो । बजार छिरेको दुई ठाडो खोलाले त्यति बेला सामान्य क्षति पुर्‍याए पनि असार १ मा ६ घर बगायो ।

मुस्ताङको ठिनी खोलामा गएको बर्खामा ठूलै बाढी आयो । नीलगिरि हिमालको फेदैफेद बग्ने यो खोलामा यति ठूलो बाढी आएको स्थानीयले पहिलोपल्ट देखेका हुन् । मुस्ताङका जिल्ला समन्वय समिति सदस्य एवं ठिनीका स्थानीय ४२ वर्षीय सञ्जय थकालीलाई ठिनीको बाढीले अचम्मित तुल्यायो । ‘स–सानो बाढी पहिला पनि आउँथ्यो,’ उनले भने, ‘त्यसरी उर्लिएको पहिलोपल्ट देखें ।’ त्यति लामो अवधिसम्म निरन्तर पानी परेको थकालीले यसअघि थाहा पाएका थिएनन् । ठिनी मात्रै होइन, मुस्ताङका अन्य ठाडो खोलाहरूमा पनि बाढी आए । मार्फा खोला बढ्दा जोमसोम–मार्फा सडक खण्ड नै अवरुद्ध भयो । टुकुचे हिमालबाट उत्पत्ति भएको थापा खोला उर्लिंदा निर्माणाधीन १३ मेगावाटको हाइड्रोमा क्षति पुग्यो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ऐतिहासिक लुप्रा गाउँ नै जोखिममा पर्ने गरी पान्डा खोलामा बाढी आयो । लेदोसहितको बाढीले खेत पुर्‍यो । कालीगण्डकी नदीमा पानीको बहाव उच्च भयो । २०७७ को हिउँदमा प्रशस्त हिमपात नहुँदा यो बर्खामा बाढी आएको थकालीको मान्यता छ । ‘हिउँदमा परेको हिउँ बर्खासम्म जम्थ्यो र पो त्यसले पानीलाई बग्न दिने थिएन,’ उनले भने, ‘हिउँ परेन भने खोला बौलाउँछ भन्थे बूढापाकाले, यो बर्खामा त्यस्तै भयो ।’

गएको ३० वर्षको तथ्यांक केलाउँदा मुस्ताङमा भएको वर्षा हालसम्मकै अत्यधिक हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मुस्ताङमा सन् १९९१ देखि २०२० सम्म वार्षिक औसत वर्षा २ सय ८९ मिमि थियो । प्रि–मनसुन (मार्चदेखि मे) मा ७० मिमि, मनसुन (जुनदेखि सेप्टेम्बर) मा १ सय ६० मिमि र जुन महिनामा ३२ मिमि औसत पानी परेको रेकर्ड छ । तर सन् २०२१ मा ४ सय ३० मिमि वर्षा भयो । प्रि–मनसुनमा १ सय ४२ मिमि र जुन महिनामा २ सय मिमि पानी परेको थियो । जुन, साविकको भन्दा ६ गुणा बढी हो ।

मनाङको हुम्डे विमानस्थलमा सन् २०१५ देखि २०२१ सम्म रेकर्ड भएको वर्षाको तथ्यांकमध्ये गएको बर्खामा सबैभन्दा धेरै पानी पर्‍यो । मनाङको हुम्डेमा ३ हजार ३ सय ८८ मिटर उचाइमा रहेको विमानस्थलस्थित मौसम मापन केन्द्रमा गत असार १ मा परेको पानी सन् २०१७ यताकै ठूलो हो । उक्त दिन ८२.२३ मिमि पानी परेको रेकर्ड छ । यो परिमाणको वर्षा हिमाली क्षेत्रमा अनपेक्षित मानिएको छ । ताल गाउँको केन्द्र भने उक्त दिनको बाढीले बगाएपछि तथ्यांक संकलन हुन सकेन ।

जुन महिनाभरि पाँच वर्षको औषत वर्षा ४२ मिमि मात्रै छ । पाँच वर्षमा मनाङको औसत वार्षिक वर्षा ३ सय ७५ मिलिलिटर, प्रि–मनसुनमा १ सय ३५ मिलिलिटर र मनसुनमा २ सय ३४ मिलिलिटर छ । यो वर्षको जुन १७ सम्म मात्रै ४ सय ५६ मिलिमिटर पानी पर्‍यो । प्रि–मनसुनमा २ सय ३२ मिलिमिटर पानी परेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख मीनकुमार अर्याल पानी पर्ने चरित्रमा आएको बदलाव वर्षाको परिमाणमा देखिएको बताउँछन् । पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमाल पग्लिएकाले पानी पर्ने क्षेत्र माथिमाथि सर्दै गएको उनको भनाइ छ । ‘पहिलो हिउँ पर्ने ठाउँमा अहिले हिउँका रूपमा नपरी पानीका रूपमा परिरहेछ,’ उनी भन्छन्, ‘पहिले पानी पर्दैन भनेर काठ र माटोको छानो बनाउने मनाङ–मुस्ताङमा पानीले क्षति पुर्‍याइरहेको छ ।’

वातावरणविद् नवराज पोखरेल हिमाली भेगमा अस्वाभाविक बर्खा भएर बाढीपहिरो आउनुमा जलवायु परिवर्तनलाई नै कारक मान्छन् । कालीगण्डकी बेसिनमा जलवायु परिवर्तनले पारेको असरबारे विद्यावारिधि गरिरहेका उनले मनसुन सुरु भएको पहिलो सातामै हिमाली भेगमा आएको बाढीपहिरो र त्यसले गरेको असर अस्वाभाविक भएको बताउँछन् । ‘पहिला सबैभन्दा धेरै पानी पर्ने पोखराको लुम्लेपट्टि वार्षिक ४ हजार २ सय मिलिमिटर पानी पर्दा मनाङमा २ सय मात्रै पर्थ्यो,’ उनले भने, ‘अहिले यो ट्रेन्ड परिवर्तन भएको छ ।’

प्रकाशित : फाल्गुन ७, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

जीविकोपार्जनमा दूरगामी प्रभाव

सगरमाथाको सर्वोच्च हिमनदी चिन्ताजनक गतिमा पग्लिरहेको छ, विश्वका सबैभन्दा गरिब र सीमान्तकृत समुदाय, जसले सबैभन्दा कम कार्बन क्षति पुर्‍याएका छन्, उनीहरुले नै जलवायु संकटको कठिन प्रभाव सबैभन्दा चाँडो महसुस गर्नेछन्
र्‍यान्डी बेरी

यतिखेर इतिहासको नजर हामीमाथि छ । हजारौं वर्षसम्म यस ग्रहले स्थिर तापक्रम कायम गरी जीवनलाई दिगोपन प्रदान गर्ने जलवायु उत्पन्न गरेको छ । अहिलेसम्म प्रकृति नै मानवको अभिभावक हो ।


पछिल्ला दुई शताब्दीमा हामीले जीवाष्म इन्धन जलाउन थाल्यौं, सम्पूर्ण वनजंगल र पारिस्थितिक प्रणाली नष्ट गर्न थाल्यौं, भावी पुस्ताका बारेमा सोच्दै नसोची सम्पूर्ण राष्ट्रहरूलाई औद्योगिकीकरण गर्न थाल्यौं । पृथ्वीमा घुमफिर गर्ने सबैभन्दा चेतनशील प्राणी हामी तर हामीले नै अल्पकालीन लाभका निम्ति यसलाई हानि पुर्‍याउन थाल्यौं ।

अब विज्ञान अकाट्य बनेको छ– हामीलाई यति लामो समयसम्म जोगाइराख्ने यो ग्रह नै संकटमा परेको छ । जलवायु परिवर्तनलाई सम्बोधन गर्ने विश्व शिखर सम्मेलन कोप–२६ मा नेपालले विश्वका नेताहरूलाई जलवायु परिवर्तनको विनाशकारी प्रभावबाट हिमालय पर्वतहरूलाई जोगाउन

आह्वान गरेको थियो । लाखौं मानिस पिउने पानीका लागि हिमशृंखलामा प्रत्यक्ष रूपमा निर्भर छन् तर हिमनदीहरू द्रुत गतिमा लोप हुँदै छन् । गत साता मात्रै एक प्रतिवेदनले देखाएअनुसार सगरमाथाको सर्वोच्च हिमनदी चिन्ताजनक गतिमा पग्लिरहेको छ । यसले जनजीवन र जीविकोपार्जनमा दूरगामी र गम्भीर प्रभाव पार्नेछ ।

विश्वका सबैभन्दा गरिब र सीमान्तकृत समुदाय, जसले सबैभन्दा कम कार्बन क्षति पुर्‍याएका छन्, उनीहरूले नै जलवायु संकटको कठिन प्रभाव सबैभन्दा चाँडो महसुस गर्नेछन् । यस्ता हिमाली समुदायमा थप चेतना जगाउन नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कका साथ मैले केही समयअघि रारा ताल भ्रमण गरेको थिएँ ।

रारा ताल नेपालका सबैभन्दा रमणीय स्थलमध्येको हो । संसारका अन्य भागमा नपाइने २ सयभन्दा बढी चराका प्रजाति र मत्स्य तथा उभयचर प्रजाति यहाँ पाइन्छन् । ताल वरपरका सल्ला, धुपी र जुरे सल्लाका वनजंगलले हिमाली कालो भालु, रातो पान्डा, कस्तूरी मृग र चितुवा बिरालोजस्ता स्तनधारी प्राणीलाई प्राकृतिक बासस्थान प्रदान गर्दछन् । राराको सौन्दर्यले विगतमा राजा महेन्द्रलाई समेत कविता लेख्न प्रेरित गरेको थियो । हामीले तुरुन्त र महत्त्वाकांक्षी रूपमा काम गरेनौं भने यी सबै हराएर जानेछन् । अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनमुक्त बनाउने र नेपालको समृद्ध जैविक विविधतालाई प्रकृतिमा आधारित समाधानको विकासमा प्रयोग गर्ने प्रधानमन्त्री देउवाको वाचाले नेपालले यस क्षेत्रमा नेतृत्व प्रदान गर्न सक्छ भन्ने प्रमाणित गर्छ । हामी ती प्रतिबद्धताहरूले साकार रूप लिएको हेर्न उत्सुक छौं ।

यस विपत्तिको बीचमा संयुक्त राज्य अमेरिकाले कसैलाई पनि पछि नछोड्ने कबुल गरेको छ । कोप–२६ मा हामीले अनुकूलन र उत्थानशीलताका लागि राष्ट्रपतिको आपत्कालीन योजना (प्रिपेयर) घोषणा गर्‍यौं । विश्वभरका संकटासन्न समुदायमाथि पर्ने जलवायु प्रभावलाई सम्बोधन गर्नका लागि गरिएको यो आजसम्मको सबैभन्दा ठूलो अमेरिकी प्रतिबद्धता हो । यसले आर्थिक वर्ष २०२४ सम्ममा वार्षिक ३ अर्ब सहायता अनुकूलनका लागि प्रदान गर्नेछ । अमेरिकी सरकारको सम्पूर्ण कूटनीतिक, विकास र प्राविधिक दक्षताको उपयोग गर्ने समन्वयात्मक विधिमार्फत प्रिपेयरले विकासोन्मुख देशहरूमा आधा अर्बभन्दा बढी मानिसलाई सन् २०३० सम्म जलवायु परिवर्तनका प्रभावलाई अनुकूलन र व्यवस्थापन गर्न मद्दत गर्नेछ । अझ व्यापक रूपमा अमेरिकाले स्वदेशमा उदाहरणद्वारा नेतृत्व गर्ने आशय लिएको छ । अमेरिकी सरकारले सौर्य प्यानल, विद्युतीय सवारीसाधन र स्वच्छ ऊर्जाको प्रयोगलाई विस्तार गर्नेछ । विश्वव्यापी तापमानलाई केवल १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई पहुँचभित्रै राख्न हामीले सन् २०३० सम्ममा सन् २००५ को दरलाई ५० प्रतिशतले घटाउने र यस निर्णायक दशकको अन्त्यसम्ममा समग्र मिथेन उत्सर्जनलाई ३० प्रतिशतले घटाउने संकल्प गरेका छौं ।

यो विश्वव्यापी समस्या हो, जसका लागि विश्वव्यापी कामकारबाही आवश्यक छ । विश्वका राष्ट्र र नागरिकले दृढताका साथ हाम्रा प्रतिबद्धता पालना गर्नुपर्छ । भविष्यका गम्भीर सम्भावनाका बाबजुद म अझै आशाद्वारा उत्प्रेरित हुन चाहन्छु । विज्ञानले यस प्रकोपको भविष्यवाणी गरेको थियो र विज्ञानले नै यसको सम्बोधनका लागि उपाय पत्ता लगाएको छ, जसअनुसार विश्वव्यापी तापमानलाई सीमित गर्न सुरुमा कार्बन र मिथेन उत्सर्जनलाई कम गर्नुपर्छ । हामी हाम्रो ग्रह, हाम्रो स्वास्थ्य र हाम्रो अर्थतन्त्रलाई दीर्घकालीन हानि पुर्‍याउने उद्योगलाई दिगो उद्योगहरूले प्रतिस्थापन गर्न सक्छौं । मानवीय कौशलमार्फत प्रकृतिलाई प्रदूषित, फोहोर र बेवास्ता गरेर बदनाम गर्नुको सट्टा समाधान खोज्ने सहयोगीका रूपमा प्रयोग गर्न सक्छौं । हामी पृथ्वीमा घुमफिर गर्ने सबैभन्दा बुद्धिमान प्रजाति हौं । हाम्रो सबैभन्दा ठूलो चुनौतीको सामना गर्ने र हामीलाई धेरै थोक दिएको ग्रहको रक्षा गर्ने समय आएको छ ।

(बेरी नेपालका लागि अमेरिकी राजदूत हुन् ।)

प्रकाशित : फाल्गुन ७, २०७८ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×