कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

केदार घिमिरे : जसलाई सरकारले लखेटी–लखेटी कलाकार बनायो

केदारले खाक्सी घोट्ने काम गरे । पैसा एकदमै कम । त्यसपछि बालुवा बोके । दिनभर बोक्दा अरुले ७० रुपैयाँ पाउँथे, केदारले ६५ । ज्यान सानो भएकाले ठेकेदारले पैसा घटाइदियो । त्यसपछि साइकलमा बोकेर मसला बेच्न थाले । लगनखेलमा नाङ्लो पसल गरे ।

काठमाडौँ — केदार घिमिरे चार वर्षका पुग्दै थिए । मकवानपुर ठिंगनस्थित उनको गाउँमा कतैबाट एक ज्योतिषी आइपुगे । धेरै बाबुआमालाई जस्तै उनका बाबुआमालाई पनि आफ्नो छोरो भविष्यमा ठूलो मान्छे बन्ला, नाम र दाम कमाउला भन्ने आश थियो ।

केदार घिमिरे : जसलाई सरकारले लखेटी–लखेटी कलाकार बनायो

त्यही आशको डोरीमा बाँधिएर बुबाआमाले भविष्यवेत्ता ज्योतिषलाई केदारको हात देखाए ।

ज्योतिषीले ठोकुवा गरे– यो फुच्चे कलाकार बन्छ !

ज्योतिषीको यो भविष्यवाणीमा खुशी हुने कि दुखी ? उनका बाबुआमा त के पूरै गाउँलाई त्यसबेला कलकार भनेको के हो ? कस्तो हुन्छ ? थाहा थिएन ।

कालान्तरमा केदार नामी कलाकार बने, संसारभरका नेपालीलाई हँसाए । ज्योतिषीको बोली पुग्यो । केदार हाँस्दै भन्छन्, ‘तर ज्योतिषीले भनेकै भरमा वा मैले चाहेर म कलाकार भएको होइन । मलाई त सरकारले लेखेटी–लेखेटी कलाकार बनाएको हो ।’

सरकारले ? त्यो पनि लेखेटेर, कसरी ? त्यसका लागि केदारसँग सुनाउनु पर्ने कथाको चाङ छ ।

...

२०४९ सालमा केदारले एलएलसी पास गरे । क्याम्पस पढ्न काठमाडौं जाने तयारी गर्दै थिए घर आगलागी भयो । घरमात्र जलेन, जग्गापास गर्न ठीक्क पारेको ९६ हजार रुपैयाँ पैसा पनि जल्यो । अर्थात्, घिमिरे परिवारको सपना खरानी भयो । अब पढ्नलाई काठमाडौं जाने पैसासमेत भएन ।

त्यतिबेला उनलाई लागेको थियो– जीन्दगी यहीं सकियो ।

तर, कहाँ त्यस्तो हुन्थ्यो ?



उनी त्यसको केही समयमा नै काठमाडौं आए । उद्देश्य भने फरक थियो । कमाईको सबै बाटो बन्द भएपछि कर्णालीमा काम गर्न जाने सल्लाह गरेर बाबुछोरा काठमाडौं आएका थिए । यहाँ उनको एकजना अंकल थिए । जब केदार कर्णाली जान लागेको थाहा पाए, उनले रोके । केदार सम्झन्छन्, ‘अंकलले जसरी नि पढाउनुपर्छ भनेपछि बुबाको केही सिप लागेन, म पढ्न थालें, उहाँ घर फर्कनु भयो ।’

काठमाडौं बहुमखी क्याम्पसमा कानुन पढ्न थाले । तर, आईए पास गर्न सकेनन् । पढाई त्यही पूर्णविराम लाग्यो । घर फर्कन मन लागेन, जसरी पनि काठमाडौंमै गुजारा गर्नुपर्ने बाध्यता थियो ।त्यसपछि उनले बाँच्नका लागि के गरेनन् ?

खाक्सी घोट्ने काम गरे । पैसा एकदमै कम । त्यसपछि बालुवा बोके । दिनभर बोक्दा अरुले ७० रुपैयाँ पाउँथे, केदारले ६५ । ज्यान सानो भएकाले ठेकेदारले पैसा घटाइदियो । त्यसपछि साइकलमा बोकेर मसला बेच्न थाले । पसिना चुहाउँदै काठमाडौंको गल्ली–गल्ली पुग्नुपर्थ्यो तर सुक्का नबच्ने । हार खाएर घर गए । बुबाले २ हजार दिएर फर्काइदिए ।

कोठाभाडा, मट्टितेल, चामल–तेल किनेपछि बाँकी रहयो, ६ सय । त्यतिले के गर्ने ? आइडिया आयो, नाङलोमा पसल थाप्ने । आफूसँग भएको पैसाले जति आयो, त्यति सामान किनेर लगनखेल सडकमा पसल थाले । पहिलो दिनमै २ सय कमाई भयो । ‘मरीतरी ६५ रुपैयाँ कमाइरहेको मान्छेले २ सय कमाउँदा त संसारै जितेजस्तो हुँदोरहेछ । त्यतिबेला मेरो खुट्टा भुईमा थिएन,’ उनी ती दिनहरु सम्झिएर हाँसे ।

बिस्तारै पसलमा सामान बढ्दै गयो, कमाई पनि राम्रै थियो । तर, नगरपालिकाले सडकपेटीका पसल हटाउन थाल्यो । लुक्दै, भाग्दै सामान बेचिरहेका थिए, अत्ति भएपछि पसलै छोडिदिए ।

त्यसपछि बने, टेम्पु चालक । न सरकारको डर, न सामान नबिक्ला भन्ने चिन्ता । कमाई बढेपछि आफैंले लगानी गरेर टेम्पु किने । अर्थात्, ड्राइभरबाट एकैपटक मालिक । त्यो खुशी पनि केही दिनमै ‘सहीद’ भयो । सरकारले धुवा फाल्ने टेम्पु रोक्ने घोषणा गर्‍यो । १ लाख १० हजारमा किनेको टेम्पु ३० हजारमा बेच्नुपर्‍यो । करुण स्वरमा भन्छन्, ‘त्यतिबेला अति हरेश खाइयो । रातभर निद्रै लाग्दैन्थ्यो ।’

तर, बाँच्नु त पर्‍यो । उनलाई लाग्यो, नाङलोमा पसल थापेर पो सरकारले हटाएको, अब सटरमा पसल खोल्छु । नाथे सरकारले के गर्छ !

कंलकी चोकैनेर इलेक्ट्रोनिक पसल खोले । चिनजान र व्यापार बढ्दै थियो । तर, त्यहाँ पनि सरकारको आँखा लाग्यो । उनले भने, ‘बाटो चौडा बनाउने निर्णय भएछ । सरकारी कर्मचारी आएर नाप्थे र पसल देखाउँदै, यहाँसम्म जान्छ भन्थे । मेरो मुटु चसक्क हुन्थ्यो ।’ नभन्दै, स्टोरसहितको पसल काटिएर पान पसलझैं साँघुरियो । धुलोमैलो त्यस्तै । सामान राख्ने ठाउँ पनि भएन ।



यो थियो, २०५८ तिरको कुरा । केदारको उमेर २६ पुगिसकेको थियो । यहाँसम्म उनमा कलाकारिताको नामोनिसान थिएन, ज्योतिषीको भनाइले हावा खालाजस्तो थियो । जता गए पनि लखेटिनुपर्ने पीडाले छटपटाइरहेका थिए । बरु, कवि बन्ने खतरा भइसकेको थियो । उनी कविता लेख्थे ।

यही बेला भेट भयो, रेडियो एचबिसीकी आरजे सुमित्रा खड्कासँग । उनीसँगको भेट ‘टर्निङ पोइन्ट’ मान्छन् केदार ।

सुमित्राले एफएममा केदारका कविता वाचन गरिदिन्थिन । केदार साथीभाई जम्मा पारेर सुन्थे । एफएममा आफ्नो नाम सुन्दाको मज्जै बेग्लै, साथीभाईले गर्ने इज्जत नै बेग्लै ।

चारैतिर हन्डर खाइरहेका केदारलाई लागेछ– यो बाटो पो हिड्नुपर्ने रहेछ । तर कसरी ? कुनै मेलोमेसो थिएन ।

एकदिन सुमित्रा आफैं अफर लिएर आइन्, रेडियोमा नाटक गर्नुपर्ने । केदार सम्झन्छन्, ‘नाटक कसरी गरिन्छ, रत्तिभर ज्ञान थिएन तर व्यापारबाट आजित भइसकेको थिएँ, त्यसैले नाटक गर्न राजी भएँ ।’

रेडियोमा केदारको जिम्मेवारी थपिदै गयो । हाँस्यकार्यक्रम उत्पादन गर्नुपर्ने भयो । यसका लागि चर्चित हाँस्यकलाकारसँग अन्तरवार्ता गर्नु पर्थ्यो । गोपालराज मैनाली, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तदेखी जितु नेपालसम्मको अन्तरवार्ता लिए । विस्तारै उनमा कलाकारिताको रस पस्न थाल्यो । पन्तले एकदिन सुझाव दिएछन्– ‘कलाकार बन्ने भए अभिनय सिक्नुपर्छ ।’ त्यसपछि केदारले ९ महिना अभिनय प्रशिक्षण लिए ।

चिनेका हाँस्यकालकारसँग घुमाएर सिरियलहरुमा काम माग्थे तर कसले पत्याउनु ?

एकदिन भेट भयो, सीताराम कट्टेलसँग ।

सीताराम त्यतिबेला सडक नाटक गर्थे, उनको अभिनय हेरेपछि केदार दंग । सीतारामले पनि आत्मिय महसुस गरे । त्यसैले त भेटेको केही समयमै उनीहरुको जोडी बाँधियो । जोडी बनेपछि हाँस्यकलाकार उभो लागेको जो देखेका थिए ।

जोडी बाँधिएको दुई वर्षपछि अर्थात् २०६२ बाट नेपाल टेलभिजिनमा ‘मेरी बास्सै’ प्रशारण भयो । ‘तितो–सत्य’ र ‘जिरे खुर्सानी’भन्दा भिन्न लाग्ने यो सिरियल २० भाग पुग्दासम्म धेरै हिट थियो । खासगरी गाउँ र गाउँबाट सहरमा डेरा गरिबस्ने माझ लोभलाग्दो लोकप्रियता बटुल्यो । केदार भन्छन्, ‘झापामा सुटिङ गर्न जाँदा जता क्यामेरा फर्काए पनि मान्छे–मान्छे । हामीलाई हेर्न आएका रहेछन् । त्यहीबेला पहिलो पटक महसुस भयो, हिट भइएछ ।’

केदारले ‘माग्ने बुढा’को रुपमा ख्याती कमाए, सीतारामले ‘धुर्मुस’ । स्टेज कार्यक्रममा भ्याईनभ्याई हुनथाल्यो, जता पनि फ्यानले घेरिने । कमाई बढ्यो । शुन्यबाट शिखर । ‘त्यतिबेला संसारमा यति हिट मैमात्र हुँ, मैले नै संसार थामेको हुँजस्तो भ्रम पैदा हुँदोरहेछ । अहिले सम्झदा हाँसो उठ्छ,’ इमानदारीपूर्वक उनले सुनाए ।



व्यस्तताकै कारण उनी र सीतारामबीच भेटघाट पातलियो । सुटिङ नै भिन्दाभिन्दै हुनथाल्यो । दुरीले मनमुटाव बढ्यो । केदारका अनुसार, त्यतिबेला उनीहरु अपरिपक्व थिए । उनीहरुलाई सम्हाल्ने, सम्झाउने भएनन् । उचाल्ने मात्र भए । उनीहरुको जोडी औपचारिकतामा सिमित हुनथाल्यो । सिरियलमा सँगै देखिन छाडे । परिणाम उही, ‘मेरी बास्सै’को लोकप्रियता ओरालो लाग्यो । मिडिया हबबाट पैसा आउन छाड्यो । स्टेज शोबाट कमाएको पैसाले सिरियल खिच्न थाले ।

सीतारामसँग दरार आएपछि उनले विल्सनविक्रम राईलाई खेलाउन थाले । उनको तर्क छ, ‘सीतारामजीलाई देखाउन होइन, खस्केको सिरियल माथि उठाउन विल्सनलाई भित्र्याएको थिएँ ।’

तीनताका केदारमाथि आरोप लागेको थियो– सीतारामको बहुआयामीक व्यक्तित्व र लोकप्रियता पचाउन सकेनन् । इर्श्या गरे । त्यसैले आफैं टाढा भए । केदार भन्छन्, ‘मैले सीतारामजीसँगको सम्बन्धलाई कहिल्यै स्वार्थसँग जोडिनँ । म सधैं उहाँको भलो चाहन्छु । हिजो छुटिनुका केही आन्तरिक कारण थिए ।’ ती कारणहरु अहिले सम्झन मन छैन रे उनलाई ।

‘मेरी बास्सै’बाट अलग्गिएपछि दीपकराज गिरीको समूहमा आबद्ध भए, केदार । ‘छ एकान छ’ देखी ‘छ माया छपक्कै’सम्म, गिरीका हरेक फिल्म खेलेका छन् केदारले, लगानी पनि गरेका छन् । सिरियलबाट टाढिनुपर्दाको ताप फिल्म खेल्नथालेपछि मत्थर हुँदै गयो ।

तर, ‘छक्का–पञ्जा’को सुटिङ सकिएपछि केदार एउटा डरलाग्दो कालखण्डबाट गुज्रिए । डिप्रेसनमा परे । बाँच्चै मन नलाग्ने, अनेक तरहका पीडाले सताउने ।

इच्छाशक्ति यति दरिलो थियो, निराशाले निम्ताएका काला बादलहरुलाई बिस्तारै चिर्दै लगे । केही महिना र वर्ष बित्यो तर उनले डिप्रेसनलाई जितिछाडे । त्यसपछिको आफ्नो जीवनलाई उनी ‘नयाँ संस्करण’ मान्छन् । जहाँ पश्चताप छैन, गुनासो छैन, रिस छैन, आवेग छैन, बेचैनी छैन । छ त केवल कर्म गरेर खुशी साथ बाँच्ने उत्कट चाह ।

...

आज (शुक्रबार) लकडाउनका बीच केदार घिमिरे उर्फ माग्ने बुढो आफ्नो जन्मदिन मनाइरहेका छन् । जवानीमै बुढोको उपनामले चर्चित भएका केदारको जीवनलाई हेर्दा लाग्छ– दुखको मेसिनमा धेरै नै पेलिएपछि मान्छेले हाँसोको महत्व बुझ्छ । ससाना खुशीहरुको अर्थ थाहा पाउँछ ।

प्रकाशित : चैत्र २८, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?