कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले प्याडलाई सुलभ बनाए र फोर्ब्समा पुगे 

काठमाडौँ — नेसनल ल युनिभरसिटी दिल्लीबाट स्नातक गरेर जेसलीना राणा दुई वर्षअघि नेपाल फर्किइन् । शुभाङ्गी राणा पनि त्यही समय नेसनल इन्स्च्युट अफ इन्जिनियरिङ, वारङ्गलबाट सिभिल इन्जिनियरिङ सकेर नेपाल आएकी थिइन् । उनीहरुको चिनजान थिएन ।

जसले प्याडलाई सुलभ बनाए र फोर्ब्समा पुगे 

एउटा सामूहिक जमघटमा संयोगले चिनापर्ची भयो । पढाईको सिलसिलामा दुवै लामो समय नेपाल बाहिर बसे । त्यसैले स्वदेश फर्केर ‘केही गरौं’ भन्ने हुटहुटी थियो । तर, के गर्ने, टुंगो थिएन ।

जेसलीनालाई मावनअधिकार र महिला सशक्तिकरणको क्षेत्रमा रुचि थियो, शुभाङ्गीलाई इन्जिनियरिङ र सरसफाईमा । समाजमा प्रभाव देखिने काम गर्नुचाहिँ दुवैको साझा रोजाई । केही समय घोत्लिएपछि दुवैको चाह सम्बोधन हुने आइडिया फुर्‍यो– रजस्वला हुँदा अत्यावश्यक पर्ने प्याडमा महिलाको पहुँच सहज बनाउने । त्यसका लागि स्यानिटरी न्याप्किन भेन्डिङ मेसिन वितरण गर्ने । यही सपनालाई मूर्त बनाउन स्थापना गरे– प्याडटूगो, अक्टोबर २०१८ मा ।

‘प्याडटूगो’कै कारण कोभिड–१९ को त्रासबीच शुभाङ्गी र जेसलीना सुखद समाचारको स्रोत बनेका छन् । अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरुको सुचीमा शुभाङ्गी र जेसलीना पनि परेका छन् । ‘द फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२०’ मा उनीहरुसँगै नेपालका युवा उद्यमीहरु निकिता आचार्य र किरण तिम्सिना (अर्वन गर्ल), रोहित तिवारी (फुडमारियो) र प्रतिमा शेर्पा (गल्फर) अटाएका छन् । शुभाङ्गीले शनिबार कान्तिपुरसँग खुशी साटिन्, ‘यति छिट्टै फोर्ब्सको सुचीमा परिएला भन्ने कल्पनै थिएन । एकदम गर्व महसुस भइरहेको छ ।’

यो खबर शुभाङ्गीलाई जेसलीनाले सुनाएकी थिइन् । ‘काठमाडौंमै छौं तर लकडाउनका कारण भेटेर खुशीयाली मनाउन पाएका छैनौं । फोनमा धेरै कुरा गरेर चित्त बुझाइयो,’ शुभाङ्गीले सुनाइन् ।


जब ‘प्याडटूगो’ सुरु गरे, फोर्ब्समा पुग्ने सपना देख्न थाले । तर, ठूलो समूदायका लागि प्रभावकारी काम नगरी त्यहाँ पुगिन्न भन्ने थाहा थियो उनीहरुलाई । पहिले बाजुराको दुर्गम भेगमा शौचालय बनाउने अनि फोर्ब्समा आवेदन दिने योजना बुनेका थिए । फोर्ब्सको प्रभावशाली सुचीका लागि कि आफैं आवेदन दिनुपर्छ कि कोही आधिकारिक व्यक्तिले नोमिनेसन गर्नुपर्छ । उनीहरुलाई चाहिँ फोर्ब्स इन्डियामा कार्यरत कर्मचारीले अन्तरवार्तापछि सिफारिस गरेका थिए । तीन महिना अगाडि फाइनल राउन्डमा छानिएको जानकारी पाएका थिए । ‘तर, अन्तिम सुचीमा परेकोचाहिँ फोर्ब्सको अनलाइनमा प्रकाशित भएपछि मात्र थाहा पायौं,’ जेसलीनाले भनिन् ।

गत वर्ष उनीहरु स्वीट्जरल्यान्डमा ‘अगुसन वर्कसप’ मा प्रथम भएका थिए । लगत्तै महिलाले नेतृत्व गरेको एसियाभरका स्टार्ट–अपको सिंगापुरमा प्रतियोगितामा भएको थियो, जहाँ ‘प्याडटूगो’ ले दोस्रो स्थान हासिल गर्‍यो । यही सफलतालाई फोर्ब्सको सुचीले नयाँ उचाईमा पुर्‍याएको छ ।

शुभाङ्गी र जेसलीनाले कहिल्यै रजस्वला हुँदा विभेद सहनुपरेन, न स्तरीय प्याडकै अभाव खेप्नुपर्‍यो । तर, राजधानीमै महिनावारी भएका महिलालाई गर्ने छिछिः दुरदुरचाहिँ देखेका थिए । प्याड नपाउँदाको तनाव उस्तै । झन् दुर्गम भेगका महिलाले कति सास्ती झेल्नु पर्ला ? यो सोचाईले उनीहरुलाई लामो समय चिमोटिरह्यो । शौचालय र प्याडको अभावमा महिनावारी हुँदा स्कुल नजाने, कतिले त्यही कारण अध्ययन नै छोड्ने समाचार पनि पढेका थिए । त्यसैले प्याडलाई सुलभ बनाउँदा दीर्घकालमा महिला सशक्तिकरणमा योगदान पुग्छ भन्ने निष्कर्षमा पुगे ।

तर, पूर्ण गैरनाफामुलुक ढंगले काम गर्ने अवस्था थिएन । आर्थिक रुपमा आत्मनिर्भर हुनैपर्ने थियो । सोही कारण सोसल–इन्टरप्राइजको बाटो समाते । त्यो भनेको, पैसा पनि आर्जन गर्ने, समाजमा प्रभावकारी देखिने काम पनि गर्ने । शुभाङ्गी भन्छिन्, ‘हामी व्यापार र सामाजिक दायित्वको सन्तुलन मिलाउँछौं । सकेसम्म कम नाफा लिएर धेरैभन्दा धेरै महिलासम्म प्याड पुर्‍याउने प्रयास गर्छौं ।’ नाफाको निश्चित प्रतिशत आफूलाई राखेर बाँकी रकम फेरि लगानी गर्छन्, रवस्वलासम्बन्धि साँघुरो सोचमा परिवर्तन ल्याउने जमर्को गर्छन् । यही मोडलले उनीहरुलाई फोर्ब्समा पुर्‍याएको हो ।

जेसलीनाको कलेजमा प्याडको भेन्डिङ मेसिन थियो, जहाँ क्वाइन हालेपछि प्याड आउँथ्यो । कहिलेकाहीँ उनले पनि प्रयोग गरिन् । शौचालय नजिकै राखिएको हुन्थ्यो । तर, नेपालमा यस्तो मेसिन देखेकी थिइनन् । म्यानुअल भएकाले मेसिन जहाँ पनि लान मिल्थ्यो । जेसलीना भन्छिन्, ‘हामीले भारतबाट यस्तै मेसिन ल्याएर बेच्न थाल्यौं । नयाँ र प्रभावकारी भएकाले धेरैको ध्यान तानिदै गयो ।’

सुरुवातको लगानी थियो– ६ लाख । राजधानीका स्कुल/कलेज पुगेर मेसिनबारे बुझाउन थाले । मल्टिप्लेक्स चेन क्युएफएक्सको सबै शाखामा यो मेसिन राखिएको छ । डेढ वर्षमा ‘प्याडटूगो’ देशका ६ प्रदेशमा फैलिसक्यो, कैलालीदेखि धादिङ अनि सिन्धुपाल्चोकसम्म । अहिले एक सय १० मेसिन चालु छन् । एउटामा २५ वटा प्याड अट्छ, अर्कोमा ५० । युनिभिलरको विस्पर्ड र नेपालमै बन्ने जास्मिनको पाँच रुपैयाँ र दश रुपैयाँ दरका प्याड राखिएका हुन्छन् । शुभाङ्गी भन्छिन्, ‘प्याडको गुणस्तरीयता कायम गर्न प्रतिष्ठित कम्पनीसँग सहकार्य गरेका हौं ।’ हिमालय बैंक, लायन्स क्लब, बुद्ध एयर, मल्टिप्लेक्स चेन क्युएफएक्स, होटल साम्बालामा यो मेसिन राखिएको छ ।

तर, ‘प्याटूगो’मार्फत शुभांगी र जेसलीना मेसिन मात्र बेच्दैनन् । रजस्वला र सरसफाईसम्बन्धी सचेतनामुलक कार्यक्रम पनि चलाउँछन् । प्रायः स्कुल/कलेजमा मेसिन राखेपछि महिला र पुरुष दुवैलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गर्छन्, रजस्वलासम्बन्धि गलत धारणाहरु मेट्न खोज्छन् । जेसलीना भन्छिन्, ‘रजस्वलाबारे महिलामात्र होइन, पुरुषले पनि बुझ्नु आवश्यक छ । खुलेर कुरा गर्ने वातावरण बन्यो भने मात्र विभेद हट्छ ।’

यस्तै कार्यक्रम लिएर केही समयअघि उनी बाँके पुगेकी थिइन् । त्यहाँका स्कुलमा पढ्ने छात्राहरुसँग महिनावारी र प्याडबारे कुराकानी गरिन् । उनले दुखीत हुँदै सुनाइन्, ‘कतिले स्कुलमा टाँगिएको पुरानो ब्यानर च्यातेर प्याडका रुपमा प्रयोग गर्दा रहेछन्, कतिले कागज र अरु पुराना कपडा । यस्तो थाहा पाएपछि प्याड सुलभ बनाउन अझ दायित्वबोध भयो ।’ ग्राहकसँग प्रत्यक्ष संवाद गर्न मेसिनमा प्याड ‘रिफिल’ गर्न सकेसम्म उनीहरु आफैं जाने गर्छन् । मेसिनको प्रभावकारीता र कमजोरीबारे बुझ्छन्, ताकि सुर्धान सकियोस् ।

शुभाङ्गीले मेसिनको १० प्रतिशत र प्याडको सबै नाफा सेवामुलक कार्यक्रममा खर्च गर्ने बताइन् । जस्तो ः बाजुराको दुर्गम स्कुलमा महिला, बालबालिका र अपांगमैत्री शौचालय बनाउने तरखरमा छन् । सहरभन्दा गाउँमा मेसिन र चेतनाको खाँचो भएकाले गाउँतिर केन्द्रित हुँदैछन् । स्थानीय तह, स्कुल, कलेज र अन्य संघसंस्थासँग सहकार्य गर्छन् ।

जेसलीना एमनेस्टी इन्टरनेसनलकी मानवअधिकार अधिकृत हुन् भने शुभाङ्गी सानिमा हाइड्रोपावरमा कार्यरत छिन् । बिहान ९ देखि साँझ ५ बजेसम्म अफिसमै बित्छ । त्यसबाहेकको समय ‘प्याटटूगो’लाई दिन्छन् । बिदामा पनि यसकै प्रबर्द्धनमा लाग्छन् । ‘महिनावारीसम्बन्धी काम गर्ने भन्नासाथ धेरैले एजजिओ भन्ठान्छन् तर हामी व्यापार गरेरै सकारात्मक परिवर्तनमा योगदान गर्न प्रयत्नरत छौं,’ शुभाङ्गी भन्छिन्, ‘हामीकहाँ सोसल–इन्टरप्राइजको अवधारणालाई व्यापक बनाउन आवश्यक छ । फोर्ब्सले हामीलाई थप उर्जा दिएको छ ।’

प्रकाशित : चैत्र २२, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?