कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रजातन्त्रको लाइन 

राणा शासनविरूद्धको आन्दोलनमा उनी ज्युँदा सहिद थिए, जसलाई तत्कालीन शासकले मृत्युदण्ड दिनुभन्दा जातबाट च्युत गरेको देखाएका थिए ।
राजेश गौतम

१९९० सालमा ठूलो भूकम्प गयो । त्यसबेला राणा शासकबाट भूकम्पको राहत र सुविधा कसैले पाए, कसैले पाएनन् । नपाउने असन्तुष्ट भए । जनता राणाका अगाडि बोल्न सक्दैनथे । बोल्न नसकेपछि असन्तुष्टि आफूभित्रै दबाएर बस्नुपर्थ्यो । भूकम्पपछि ‘हाम्रा लागि कोही बोल्दिने भए हुन्थ्यो’ भन्ने भावना समाजमा देखिन थाल्यो । 

प्रजातन्त्रको लाइन 

भूकम्पपछि टुँडिखेलमा राणा र जनताको टोलीबीच फुटबल खेलको आयोजना भयो । जनताको टोलीले ‘गोल’ हान्दा उपस्थित दर्शक खुसी मान्थे । राणाको गोडामा बल पर्दा दर्शकदीर्घा शान्त हुन्थ्यो । यसले प्रतीकात्मक तरिकाले राणाविरोधी भावना जनतामा थियो भन्ने देखाउँछ । राजनीतिक व्यवस्थालाई जनतासँग जोड्नुपर्छ भन्ने आवश्यकता अलि बेसी महसुस हुन थाल्यो । यसै आवश्यकतामाझ टंकप्रसाद आचार्य नेपाली राजनीतिमा प्रजातन्त्रको विचारसहित उदाएका हुन् ।


आचार्यका बुबा राणाका दरबारमा काम गर्थे । उनको परिवार मध्यमवर्गीय थियो । सहजै पढ्न पाए । दरबार स्कुलमा उनी पढ्दा राणा र जनताका सन्तानका लागि छुट्टाछुट्टै बेन्च हुन्थे । हामी असमान हौं भन्ने कुरा उनलाई स्कुलले नै सिकायो ।


त्यसबेला ब्रिटिसहरूका बारेमा लेखिएको इतिहास नेपाली भाषामा पढ्नुपर्थ्यो । पुस्तकमा फ्रान्सको क्रान्ति र अमेरिकाको स्वतन्त्र संघर्षका बारेमा पनि चर्चा हुन्थ्यो । फ्रान्सको क्रान्तिले उनमा त्यही बेला प्रभाव पार्‍यो । उमेर बढ्दै जाँदा उनले फ्रेन्च क्रान्तिबारे थप अध्ययन गर्दै गए ।


राणाको समयमा जनताले राम्रो घर बनाउन पाउँदैनथे । ठूल्ठूला भारदारका घरतिर आफ्नोघरको मोहडा फर्काउन पनि बन्देज थियो । टंकप्रसादको घरको आर्थिक स्थिति बिस्तारै ओरालो लाग्दै थियो । अर्थका लागि उनको परिवारले भीमफेदीमा होटल खोल्यो । त्यसबेला उनी करिब १४ वर्षका थिए । होटलमा विभिन्न खालका यात्रीसँग उनको भेटघाट बाक्लियो । अध्ययनबाहेक उनलाई त्यसबेलाको समाज बुझ्न भीमफेदीले सघायो ।


त्रिचन्द्र कलेजको स्थापना भइसकेपछि उपत्यकाका प्रायः विद्यार्थीहरू यतै पढ्न थाले । उपत्यका बाहिरका विद्यार्थीहरू पढ्न कोही बनारस, कोही कलकत्ता पुग्थे । यसरी पढ्न पुगेका विद्यार्थीहरूले नयाँ भावना र दृष्टिकोण बोकेर ल्याए । यसले नेपालको मध्यमवर्गमा नयाँ भावना क्रमिक रूपमा फैलँदै गयो ।


त्रिचन्द्र कलेज खुलेसँगै पुस्तकहरू आउन थाले । यसले ज्ञानको दायरा पनि फराकिलो बनाउँदै लग्यो । उपत्यकाका विशेष गरी वसन्तपुर दरबार वरपरका ठाउँमा विद्यार्थीले राजनीतिक कुराकानी गर्न थाले । छलफल हुन थाल्यो । यस्तो छलफल गर्ने सबै मानिस निरंकुश राणा शासनको विकल्पको खोजीमा थिए । त्यतिबेला यस्तो गर्नु सामान्य काम थिएन ।


यस्ता गतिविधिको प्रभाव टंकप्रसादमा पनि पर्‍यो । यस्तो परिवेशले जनताको अधिकारप्रति सजग रहन उनलाई सघायो । राणाहरूले गरेका सामाजिक, राजनीतिक र आर्थिक शोषणप्रति उनी निकै आक्रामक हुँदै गए । एकपटक कामका सिलसिलामा उनी पूर्वी मधेसको रामपुर पुगे । त्यहाँ उनको भेट दशरथ चन्दसँग भयो । चन्दको समाजवादी विचारले उनमा निकै प्रभाव पार्‍यो । चन्द रुसी क्रान्तिबाट प्रभावित थिए । दुवै पढेलेखेका । दुवैमा राणा शासनको विरुद्धमा लाग्नुपर्छ भन्ने भावना प्रबल थियो । उनीहरूको दोस्रो भेट भीमफेदीमा भयो । यस भेटले उनीहरूलाई संगठन बनाउने दिशातर्फ लग्यो । दुवै उपत्यका आए ।


टंकप्रसादको काठमाडौंमा राम्रो पकड थियो । भारतमा दशरथको । यता उपत्यकाका युवा विद्यार्थीलाई समेट्न संगठन चाहिएको थियो । धर्मभक्त माथेमा संसदीय प्रणालीमा विश्वास गर्थे । यी लगायत अरू विद्यार्थीका विचार फरक–फरक थिए । तर देशमा प्रजातन्त्रको आवश्यकता थियो । त्यसैले सबैले आफ्नो पृथक् विचारलाई थाती राखेर संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र प्राप्तिको उद्देश्यलाई अगाडि बढाए । यो उद्देश्य पूरा गर्न प्रजापरिषद् पार्टी खडा गरियो । प्रजापरिषद्का सभापति थिए २२ वर्षीय टंकप्रसाद अचार्य । तत्कालीन शासन व्यवस्थाबाट आजित जनताका लागि प्रजापरिषद्ले औषधिको काम गर्‍यो ।


बिस्तारै बिस्तारै प्रजापरिषद्का सदस्य बढ्दै गए । जनताले अधिकार पाउने व्यवस्था अर्थात् प्रजातन्त्रको अवधारणा नेपाली समाज प्रादुर्भाव गर्ने सन्दर्भमा प्रजापरिषद् र यसमा संलग्न टंकप्रसाद, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा लगायतका व्यक्तिहरूले महत्त्वपूर्ण भूमिका खेले । टंकप्रसाद आचार्यको काम प्रजातान्त्रिक चेतनालाई दिशा दिनु र मानिसलाई एकत्रित पार्नु थियो । सुरुमा प्रजापरिषद्का सदस्यले आफ्नो विचारलाई समाजमा पुर्‍याउन विभिन्न तरिका अपनाए । भारतको ‘जनता’ पत्रिकामा दशरथ चन्दले हिन्दीमा लेख लेख्न थाले । यस पत्रिकामा नेपालका चिठीपत्र पनि छापिन्थे । भारतमा पनि बिस्तारै राणा शासनविरुद्ध वातावरण बन्दै गयो । देशभित्र प्रजातन्त्रको विचार प्रवर्द्धन गर्न प्रजापरिषद्ले पर्चा छापेर बाँड्यो । चारवटा पर्चा टंकप्रसादले लेखेका थिए । पर्चामा राणा शासनको विरोध र जनताको परिवर्तनप्रतिको चाहना उल्लेख गरिन्थ्यो । यसले जनतामा जागृतिको भावना ल्यायो । त्यसबेलाको ठूलो घटना थियो यो । राणाहरूले पर्चा छर्ने सबैलाई गिरफ्तार गरे । पर्चा छर्नुअघि नेतृत्व जोगाउनका लागि प्रजापरिषद्ले टंकप्रसादलाई भारत पठाएको थियो । पर्चा छरेपछि राणा सरकारले उनलाई नेपाल झिकाएर पक्रियो । दशरथ चन्द, धर्मभक्त, शुक्रराज र गंगालाललाई मृत्युदण्ड दिइयो ।


त्यसबेला राणाहरूले पर्चा छरेको आरोपमा दुई सय जनालाई पक्राउ गरे, जसमा एक जना आचार्य पनि थिए । त्यसबेला समाज पुरातन हिन्दु मान्यताबाट चल्थ्यो । राणाहरू जात व्यवस्थाका कट्टर समर्थक थिए । बाहुन भएका कारण टंकप्रसादले मृत्युदण्ड पाएनन् । उनलाई जातबाट च्युत गरिएको घोषणा भयो । कपाल खौरेर सुँगुरको पाठो बोकाई टुँडिखेलको बीच बाटोबाट जेलभित्र लगियो ।


त्यसबेलाको सामाजिक मनोविज्ञान अनुसार राणाहरूले टंकप्रसादलाई मृत्युदण्ड दिएको भए ‘क्रान्तिकारीलाई मृत्युदण्ड दिइयो भन्ने सन्देश जाँदैनथ्यो, बाहुन मारियो’ भन्ने सन्देश जान्थ्यो । बाहुनलाई मार्नु भनेको समाजको जात व्यवस्थालाई चुनौती दिनु हुन्थ्यो, यसले समाजमा उल्टो सन्देश दिन्थ्यो । सामाजिक मान्यता र जात व्यवस्थालाई खल्बल्याउँदा राणा शासकविरुद्धको भावनालाई नै मलजल पुग्थ्यो । त्यसैले राणाहरूले आफूलाई जोगाउन टंकप्रसादलाई मृत्युदण्ड दिएनन् ।


यो घटनाले समाजमा तरंग ल्यायो । प्रजापरिषद्को गठन भइसकेपछि १९९७ सालसम्म पार्टी चलेको थियो । त्यस्तो प्रतिकूल परिस्थतिमा राणाहरूलाई तर्साएर पार्टी खोल्नु र चलाउनु चानचुने कुरा थिएन । चार जनालाई मृत्युदण्ड दिइसकेपछि र टंकप्रसादलाई जेल हालेपछि राणाहरूले भनेका थिए, ‘हामी कम्तीमा पनि १०० वर्ष सुरक्षित भयौं ।’


यसमा टंकप्रसादको नेतृत्वदायी भूमिका रह्यो । प्रजापरिषद् र यसको प्रजातन्त्र प्राप्तिको उद्देश्यले गर्दा कालान्तरमा राणाशासन हट्यो । त्यसअघि २००३ सालमा कोलकातामा राष्ट्रिय कांग्रेस स्थापनार्थ भेला भएका नेताहरूले उनलाई सभापति बनाए । २००७ पछि राणाशासन हट्यो । २०१० सालमा मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा सरकार गठन हुँदा आचार्य गृहमन्त्री भए । २०१२ माघदेखि दुई वर्ष उनी मुलुकको प्रधानमन्त्री पनि भए । उनले राजीनामा गर्नुपरेको अवस्था कूटनीतिक मामिलाको कारण थियो ।


प्रजापरिषद् गठन गरेर भएको आन्दोलन नेपालको सामाजिक र राजनीतिक चेतको कोसेढुंगा हुन पुगेको थियो । राजनीतिक दल र आधुनिक समाजको चेतनाको आधारबिन्दु यही आन्दोलन थियो । टंकप्रसादको राजनीतिक विचार र प्रजातन्त्रको लाइनमा अहिलेसम्म नेपाली समाज हिँडिरहेको छ ।

रवीन्द्र ढकालसँगकाे कुराकानीमा आधारित


प्रकाशित : फाल्गुन ७, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?