कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस कारण महाकवि

लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’ को सम्मान सरकारले दिएको होइन, जनताले प्रदान गरेका हुन् ।  त्यसैले सरकारबाट कविशिरोमणि सम्मान पाएका लेखनाथ पौड्याल, जनकविकेशरी पाएका धर्मराज थापा र राष्ट्रकवि पाएको मभन्दा बढी देवकोटा संसारभरिका नेपालीमाझ सुपरिचित छन् । त्यसैले पुस्तकालय, प्रतिमा, बाटा र चोक उनकै नामका बढी छन् । त्यसैले ‘महाकवि’ र ‘देवकोटा’ एकअर्काका पर्याय भएका छन् । त्यसैले महाकवि भनेपछि पुग्ने गरेको छ, नाम वा थर भन्नै पर्दैन ।

यस कारण महाकवि

जनताले यसरी किन रुचाए त देवकोटालाई ? नेपाली साहित्यमा महान् कुरा दिएकैले उनी जनतामाझ यति लोकप्रिय भएका हुन् । महान् के हो त ? देवकोटाको कृतित्वका विषयमा लेख्ने मान्छेले यसबारे धेरै लेखेका छन्, अब फेरि कसैले नयाँ केही पत्ता लगाउलान्, मेरो विचारमा चाहिँ, तिनलाई बुँदागत रूपमा यसरी भन्न सकिन्छ ।

मानवताप्रेम

साहित्यमा चाहिने मुख्य कुरा नै मनुष्यको महत्ता हो । कवि–साहित्यकारले आफ्ना रचनामा मानिसलाई कति महत्त्व दिएको छ, उसको विशिष्टताको मापन त्यसैबाट हुने हो । देवकोटाले आफ्ना सबैजसो रचनामा व्यापक रूपमा मानिसको महिमा गाएका छन् । उनले यो कुरो सुरुवातदेखि नै बुझेको छनक दिए । ‘मुना–मदन’ मै उनले भनेका छन्— ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ । उनले किन यसरी लेख्न सके भने, उनी कवि मात्रै थिएनन्, वकिल पनि थिए— लक्ष्मीप्रसाद देवकोटा, बीए, बीएल । तर उनले तर्कशील भएका कारण मात्रै त्यस्तो लेखेका थिएनन्, उनको प्रतिभा नै त्यस्तो थियो । बुद्धिभन्दा प्रतिभा ठूलो हो र देवकोटामा बेजोड प्रतिभा थियो ।

मानिसलाई हेर्ने दृष्टिकोणमा त्यो बेला देवकोटा पृथक् देखिए । उनले तत्कालीन समाजमा जरो गाडेको जातपात, वर्ण व्यवस्थालाई बेवास्ता गरे । यो कम प्रगतिशीलता थिएन । उनले मानिसलाई माथ्लो वा तल्लो जातका रूपमा नलिई मानिसकै रूपमा मात्रै हेरे ।

एउटा दृष्टान्त सुनाऊँ । रूसमा साहित्य सम्मेलन हुन लागेको थियो । नेपाली कवि–साहित्यकारहरूको टोलीमा मलाई पनि राखिएको थियो । प्रतिनिधिमण्डलका नेता देवकोटा थिए । तयारी केकस्तो चल्दै छ भनी बुझ्न एक दिन म मैतीदेवीस्थित देवकोटा निवासमा गएँ । म पुग्दा उनी एउटा कापीमा भकाभक कविता लेख्दै रहेछन् । मैले जिज्ञासा राख्दा उनले भने, ‘रूसमा सुनाउनलाई सामान्य मान्छेको कविता लेख्दै गरेको । अछुतको बारेमा लेख्दै छु ।’ ‘दमाईं दाइ’ शीर्षकमा उनी लेख्दै रहेछन्—


सियोको टुप्पोले मुटु बिझ्यो दमाईं दाइ

आज देशलाई देखेर

जर्जर पातमा कीराले दमाईं दाइ

देश दशा झलक्क लेखेर ।

ईश्वरको मूर्ति मान्छे, मान्छे गर्छ हेला

एउटै मासु एउटै रगत एउटा अर्को पेला

पहिले खाँद्छन् मूलालाई, पछि भन्छन् सिन्की

मान्छे सडाई मान्छे खान्छ, झिँगाजस्तो भन्की

देख्दाखेरि मेरो कन्चट त्यसै आउँछ रन्की

जसले चुस्छ त्यही गुरु रे, त्यसकै तिमी चेला

भएन है अझै किन आँखा खोल्ने बेला ?

कुकुर चुम्छन्, मानिस थुक्छन् हामीलाई दमाईं दाइ

लात्तीले नै फुटबलझैं फ्याँकेर ।


मलाई अर्को अचम्म के लाग्यो भने, उनी त्यही कापीको अर्को पानामा यही कवितालाई अंग्रेजीमा उल्था पनि गरिरहेका थिए । हामीमध्ये धेरैजसो अहिले पनि जसलाई छुनसम्म घिनाउँछौं, त्यसका बारेमा समाज त्यस्तो कट्टर रहेका बेला यस्तो कविता लेख्न सक्ने देवकोटा कति महान्, कति प्रगतिशील थिए होलान् ? अहिले यस्तै केही लेखेर आफूलाई प्रगतिशीलको कित्तामा राख्न खोज्नेहरूले यो कुरा मनन गरून् । प्रगतिशीलताका नाममा पूर्ववर्ती कवि–साहित्यकारहरूको अपमान गर्नु पाप हो भन्छु म ।

देवकोटाले प्रगतिशीलतालाई अनुसरण गर्दागर्दै पूर्वीय अध्यात्मवादलाई पनि समानान्तर रूपमा लगेका छन् । यो विषयमा आधिक्यका हिसाबले लेखनाथजी अगाडि रहे पनि काव्यात्मक रूपमा देवकोटाले उनलाई उछिनेका छन् ।

भाषा र शैली

देवकोटा शैलीका कारण अरूभन्दा फरक भए । नेपाली साहित्यमा रोमान्टिसिजम वा स्वच्छन्दतावाद वा रूमानी शैलीको प्रवर्तन उनैले गरेका हुन् ।

उदाहरणका निम्ति ‘मुना–मदन’ लाई नै लिन सकिन्छ । लोकलयमा त्यसअघि पनि ‘प्रेम लहरी’ इत्यादि केके लहरी साहित्य बनारसबाट धेरै निस्केका थिए । तत्कालीन साहित्यिक वृत्तमा लोकलयलाई हेला गरिन्थ्यो । ‘हामी त कवि पो हौं, लोकलयमा कहाँ कविता लेख्ने, यो हाम्रो काम होइन’ भन्थे कविहरू । अहं देखाउँथे । अरूको त के कुरा, लेखनाथजी नै हेप्थे, झ्याउरे कविता भन्दै । तर पछि उनको सोचाइ बदलिँदै गयो र त्यसको श्रेय ‘मुना–मदन’ लाई नै जान्छ । देवकोटाले ‘मुना–मदन’ मार्फत लोकलयलाई, झ्याउरे लयलाई सम्मान दिलाए । त्यसैले यो कृति नेपाली जनजनमा लोकप्रिय छ, देवकोटाको सर्वोत्कृष्ट कृति भन्नेबित्तिकै यसैको नाम आउँछ ।

देवकोटाले ‘मुना–मदन’ मा चमत्कारै गरेका छन् । त्यसको मूल विषय प्रेम हो, तर त्यो अर्कै किसिमले आएको छ । प्रेमकविताका नाममा ‘सुपारी गेडी फोरम्, साँच्चै छोरो पाउने भए लौ त पुच्छर जोडम्’ जस्ता, अहिले भन्न पनि शरम लाग्ने अश्लील उक्तिहरू प्रचलनमा रहेको समयमा देवकोटाले ‘मुना–मदन’ मा अद्भुत कुरा दिएका छन् । हामी कविले फूलबारे लेख्नुपरे, यो वसन्तको वैभव हो आदि–इत्यादि लेख्छौं, तर देवकोटाले लेखिदिए— ‘ईश्वरको हाँसो पाएका फूल छोएर नमार’ । महिलालाई उनले व्यञ्जनामार्फत, फूलसँग तुलना गरेका हुन् यहाँ । ‘महिलालाई जथाभावी नजिस्क्याऊ’ भन्नु अभिधा भयो, ‘नचलाऊ पोथीलाई, भाले रिसाउला’ भन्नु लक्षणा भयो, तर देवकोटाले व्यञ्जनामा व्यक्त गरे— ‘ईश्वरको हाँसो पाएका फूल छोएर नमार’ । उनलाई कस्तो कुरा फुर्न सकेको होला ? यहींनेर देवकोटा अरू कविभन्दा फरक छन् ।

लेखनाथजीले पनि शैलीमा परिवर्तन नल्याएका होइनन् । उनले माध्यमिककालीन कविहरूको भन्दा फरक शैलीमा लेखे, भाषा परिष्कार गरे । तर, देवकोटाले जसरी चमत्कार गर्न सकेनन् । स्वच्छन्द शैलीमा, ज्यादा परिष्कार गर्नपट्टि नलागी, बाढी जस्तो जे आयो, त्यसलाई उनले लिपिबद्ध गरे । ‘शाकुन्तल’ महाकाव्यमा लेखेकै पनि छन्—


माटो हो हुनता तथापि

गहिरा आँखा हुने सज्जन ।

दाना सुन्दर स्वर्णका झलझली

देख्लान् गुडेका कण ।।

जो आयो तर वर्षिई घनघटा

कालो–निलोबाट यो ।

जोजो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ।।


हो पनि, गुलाफलाई शृंगार किन चाहियो ? त्यो आफैं सौन्दर्यले भरिपूर्ण छ । देवकोटा यही मान्यताका थिए ।

लोकलय त भइहाल्यो, शास्त्रीय छन्दमा पनि बहेको कविता लेख्न सक्थे उनी । जो प्रतिभाशाली छ, त्यसको भित्रको एउटा दैलो उघारिएपछि अरूअरू दैला पनि उघारिँदै जान्छन्, लेखनमा उज्यालो थपिँदै जान्छ । लेख्न बसेपछि त्यसैले बोल्न लगाइरहन्छ । लेखनाथजीमा चाहिँ यस्तो विशेषता थिएन । उनी भन्थे, ‘मैले लेख्न थालेपछि शब्दहरू ए, मलाई राखिदेऊ न, भन्दै आउँछन् । तर चुनेर मात्रै राख्ने गरेको छु ।’ देवकोटा भने झरना जस्ता, निरन्तर बगिरहने ।

रचना बन्ने कि नबन्ने कुरा त्यो कहाँबाट थालेर कहाँ बिट मारिन्छ भन्नेमा निर्भर हुन्छ । अधिकांश कवि–साहित्यकारहरू प्रारम्भ र समाप्ति नै जान्दैनन् । देवकोटा भने यो विशेषताले टनाटन थिए । अँ, उनी कुनैकुनै रचनामा समाप्तिमा पुगेका छैनन् । त्यो किनभने, उनी लेख्थे नै डुबेर । तर, यस्ता रचना सयकडा एक मात्रै छन् ।

हरबखत रचनामै डुबिरहने गर्नाले मान्छेहरूले उनलाई पागल भने । तर, उनी पागल थिएनन् । कविको मस्तिष्कमा दुइटा पत्र हुन्छन् । एउटा पत्रले बाहिरी दुनियाँमा आँखा लगाइरहेजस्तो देखिन्छ, तर अर्को पत्रले कुनै रचना सोचिरहेको हुन्छ, बाटामा हिँड्दा पनि । कवि–साहित्यकारहरू हुन चाहिँ एकसुरे हुन्छन्, मान्छेहरू भनिदिन्छन् पागल ।

भाषा खेलाउनमा देवकोटाको जोडा भेट्न अहिले पनि मुस्किलै हुन्छ । जस्तो— ‘रौंचिरा बहस’ । उनीभन्दा अगाडि यो शब्दावली कसैले प्रयोग गरेजस्तो मलाई लाग्दैन । यो भनेको कति सूक्ष्म बहस होला त ? जे आयो त्यही धस्काइदिने गरेको छु पनि भन्ने, अनि सुन्दर कुरा पनि आउने ? यो त चमत्कारै हो ।

उनको भाषाको चमत्कार निबन्धमा झन् बढी देखिन्छ । मलाई देवकोटाको कवि व्यक्तित्वभन्दा निबन्धकार व्यक्तित्व उच्च लाग्छ । उनका निबन्धको विशेषता भनेका कवितात्मक पंक्ति हुन् । गद्यकविता र उनका निबन्धमा केही फरक छैन भन्दा हुन्छ । उनको ‘के नेपाल सानो छ ?’ शीर्षक निबन्धमा प्रयुक्त ‘नेपाल, सुन्दर शान्त विशाल’ शब्दावलीले मलाई यति छोयो, त्यही राखेर राष्ट्रिय गीत लेख्ने मन बनाएँ । एक दिन रानीपोखरीको छेउमा देवकोटासँग भेट भएपछि मैले त्यो शब्दावली आफूले प्रयोग गर्नलाई अनुमति मागें । ‘यो त निकै राम्रो कुरा हो’ भन्दै उनले अनुमति दिएपछि मैले लेखें—

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली

जय जय जय नेपाल सुन्दर शान्त विशाल

प्रकृति वर्णन

रुमानी शैलीको साहित्यमा उच्च तहको प्रकृति वर्णनमा पनि देवकोटा अरूभन्दा अलग्गै रहे । लेखनाथजीले प्रकृतिलाई लिएर ‘ऋतु विचार’ जस्तो काव्यै लेखेका छन् । तर, प्रकृति वर्णन उनले देवकोटाले झैं फुटकर कविता वा काव्य जता पनि वैश्विक दृष्टिमा गर्न सकेका छैनन् । मैले र सिद्धिचरण श्रेष्ठले प्रकृति वर्णन गर्नुमा एक प्रकारले देवकोटाकै प्रेरणाले काम गरेको हो ।

देवकोटाले प्रकृतिको सुकुमार रूप मात्रै प्रस्तुत गरेनन्, भयानकतालाई पनि स्थान दिए । ‘हुरीको गीत’ मा एक ठाउँ लेखेका छन्—


गाउँदछु, पागल वेदना हाँसी,

फोहोर हावाको बेताल

विषमको खाडी जन्मस्थल मेरो,

रोएर जन्मेथें हूँ, हूँ

ध्वंसिनी दूतिका विधिको बनें,

दर्दको आत्मा के कहूँ,

पखेरू नागलाई कोर्रा दी हाँक्नु

विकास–आकाश–पथ

क्रोधको दिव्य सुषमा मेरो,

वेगको आत्मा नै रथ ।


देवकोटालाई प्रकृति नेपालकै मात्र चाहिन्छ भन्ने भएन । उनले विश्वको जुनसुकै कुनाको प्रतिनिधित्व हुने गरी प्रकृति वर्णन गरेका छन्, व्यापक किसिमले । जस्तो— मेरो प्रकृति वर्णनमा हिमालको कुरा धेरै आउँछ, अर्थात् नेपालको, तर देवकोटाले विश्वप्रकृतिलाई समेटेका छन् । ऋषिमुनिहरूले झैं देवकोटाले पनि स्थानविशेषलाई भन्दा यो चराचर जगत्लाई आफ्ना कवितामा समाहित गरेका छन् । ‘ज्वरशमना प्रकृति’ कवितामा उनले लेखेका छन्—


प्रकृतिदेवी काम गर्छिन् कहीं नजरका घेरामा

बादल–फूल लगाउन झूल पृथ्वीका डेरामा ।


यिनै विषयका कारण, देवकोटाकै युगमा नेपाली साहित्य विश्वस्तरीय भएको हो । उनले नछोएको विषय छैन । मैले नेपाली साहित्यमा मन पराएका कवि देवकोटा नै हुन् । यद्यपि मैले गुरु चाहिँ लेखनाथजीलाई थापेको हुँ । लेखनाथजीलाई देवकोटा र समले पनि गुरु नै मान्थे ।

व्यक्तिका रूपमा पनि उनी महान् थिए । उनी संकीर्णताको पछि लागेनन् । व्यक्तिगत सुखसुविधालाई ध्यान दिएनन् । उनको एक मात्र ध्याउन्न थियो लेखन । यस्ता व्यक्ति पाउनु नेपालकै ठूलो सौभाग्य हो ।

(पारसप्रकाश नेपालसँगको कुराकानीका आधारमा)

प्रकाशित : फाल्गुन ७, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?