कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माग्‍नेबूढा भन्छन्- ‘अनि डिप्रेसनलाई जितें’

काठमाडौँ — ‘छक्का–पञ्जा’ को सुटिङ भर्खरै सकिएको थियो । यसमा अभिनय मात्र होइन, लगानी पनि थियो । स्टेज कार्यक्रममा भ्याईनभ्याई हुन्थ्यो । केदार घिमिरे (माग्नेबूढा) कै शब्दमा, उनलाई नपुग्दो केही थिएन । चमकधमकमा बाँचिरहेका थिए । तर, एकाएक अन्धकार छायो । डिप्रेसनको दलदलमा फसे । 

माग्‍नेबूढा भन्छन्- ‘अनि डिप्रेसनलाई जितें’

निहुँ थियो– पेट ।

त्यसरी उनको पेट कहिल्यै दुखेकै थिएन । केही दिन सहे तर दुख्न रोकिएन, सहनै गाह्रो भयो । आत्तिँदै चिकित्सककहाँ पुगे । स्वास्थ्य परीक्षणपश्चात् चिकित्सकले भनेछन्, ‘तपाईंको आन्द्रामा प्वाल परेको छ । औषधि खानुस्,

निको हुन्छ ।’


टन्न औषधि बोकेर घर फर्किए । नियमित तोकेको समयमा खान थाले । डाक्टरले नखानू भनेका केही खाएनन् । तर अहँ ! सन्चो हुँदै भएन । बरु पेटभित्र गोलो बस्तु घुमेको जस्तो हुन थाल्यो । दुखाइ पनि अत्ति ।

उनलाई लागेछ, यो चिकित्सकले राम्रो औषधि नदिएकाले सञ्चो भएन । त्यसैले चिकित्सक परिवर्तन गरे ।


केदार पेटको पीडा पोख्दै थिए, केही बेर कुराकानीपछि नयाँ चिकित्सकले भनेछन, ‘तपाईंलाई पेटभन्दा डिप्रेसनको समस्या छ ।’


डिप्रेसन ! केदार अत्तालिए । ‘म डिप्रेसनमा परेको छु भन्ने कल्पनासमेत थिएन । एकदमै डर लाग्यो’, भावुक हुँदै सम्झन्छन् । अब पेटसँगै डिप्रेसनको पनि ओखती खानुपर्ने भयो । पेटको दुखाइभन्दा कैयौं गुणा सास्तीपूर्ण हुन्थ्यो, मानसिक तनाव ।


पेट दुखेकैले उनको परिवारमा वियोग परेको थियो । उनको सानो ममीलाई डाक्टरले आन्द्रामा प्वाल परेको भनेका थिए । गरिबीमा बाँचेको उनको परिवारले समयमै उपयुक्त उपचार गर्न सकेन, सायद । सानो ममीको मृत्यु भयो । केदारलाई अहिले लाग्छ, जब पेट दुख्न थाल्यो, त्यही नमिठो विगतबाट तड्पिन थाले । त्यसको मात्रा बढ्दै गयो, थाहै नपाई, डिप्रेसनको दलदलमा फसे । ती दिनहरू सम्झँदा केदारको मुटु काँप्छ ।


उनी फरासिलो स्वभावका, घरमा पाहुना आयो भने दंग पर्ने । नयाँ मान्छेसँग चिनजान हुन मन पराउने । जत्ति छ, त्यसमै खुसी हुने । गुनासो थिएन । तर, डिप्रेसनले चारैतिर अन्धकार देख्न थाले । कोही मान्छे बोल्यो कि रिस उठ्थ्यो, झिँजो लाग्थ्यो । एक्लै बस्न खोज्थे तर त्यतिबेला पनि बेचैनी हराउँदैन्थ्यो । बरु झन् निस्सासिन्थे ।


‘भुइँचालो आयो, घर घुमायो, कसैले पछाडिबाट हान्योझैं भइरहन्थ्यो,’ ती कहालीलाग्दा भोगाइ उनी यसरी सुनाउँछन्, ‘जहिले जताबाट पनि भागूँ, भागूँ हुन्थ्यो । तर, जहाँ गए पनि मन शान्त हुँदैन्थ्यो । छटपटी बढिरहन्थ्यो ।’ मिडिया र फिल्मका सहकर्मीहरूसँग पूरै सम्पर्क छुट्यो । फोन बोक्न छोडे ।


कति पटक त श्रीमतीको स्कुटरबाट समेत हाम्फाले । त्यतिबेला उनको सबैभन्दा ठूलो डर थियो– ‘अब म मर्छु, बाँच्दै–बाँच्दिनँ ।’ मनमा दशथरी कुरा खेलाउँथेँ । निचोड एउटै हुन्थ्यो– म मरिहाल्छु, दुनियाँ किन चाहियो !’


हरेकसँग शंका लाग्थ्यो, जसले जति राम्रो कुरा गरे पनि त्यसको नकारात्मक अर्थ निकाल्थे । चिकित्सक भन्थे, ‘तपाईंलाई सन्चो हुँदै छ, नआत्तिनुस्, मन दरो बनाउनुस् ।’ उनी ठान्थे– ‘म मर्दै छु तर यसले ढाँटिरहेको छ ।

सबै मेरो अगाडि नक्कली हाँसो हाँसिरहेका छन् ।’


धन्न ! आफन्तले खुब हेरचाह गरिरहेका थिए । चिकित्सकको प्रत्यक्ष निगरानीमा थिए तर पनि हल्का हुँदै भएन । बाटोमा स्कुलका बच्चाहरू हल्ला गरेको समय त झन् अत्तालिन्थे ।


औषधिबाट मात्र निको हुने नदेखेपछि परिवारले वैकल्पिक बाटो रोज्न थाल्यो । त्यो भनेको– आध्यात्मिक प्रवचन र गीतसंगीत । सुरुसुरुमा त झर्को मान्थे तर विस्तारै मन पराउन थाले । भन्छन्, ‘प्रवचन र संगीतको सामर्थ्य बेजोड हुँदो रहेछ । थेरापीकै काम गर्‍यो मेरा लागि ।’


डेढ वर्ष यही रापमा बित्यो । तर उनमा थोरै बदलाब आएको चिकित्सकले भेउ पाइसकेका थिए ।

‘औषधि कहिलेसम्म खाने ?’ एक दिन चिकित्सकले सोधेछन् ।


‘कहिलेसम्म खाने भनेर मैले भन्ने हो त ?’ केदारको जिज्ञासा थियो ।

‘हो नि, तपाईंले चाहनुभयो भने विस्तारै छोड्न सक्नुहुन्छ । नत्र त, दस वर्षसम्म पनि खानुपर्ने हुन सक्छ,’ चिकित्सकको जवाफ थियो ।


त्यतिबेला बल्ल उनले चाल पाएछन्, औषधि खानैपर्ने होइन रहेछ, चाह्यो भने छोड्न सक्ने रहेछु । अनि, विस्तारै औषधिको मात्रा कम गर्दै लगे, छटपटी त हुन्थ्यो, तर सहने आत्मविश्वास पनि पलाउँदै थियो ।

उनलाई लाग्छ, औषधिले काम गर्‍यो नै तर त्योभन्दा ज्यादा काम गर्‍यो, उनको मृत्युप्रतिको बुझाइले । ‘जब मैले मृत्युलाई बुझें । जीवनमा जतिबेला पनि हुन सक्छ भनेर थाहा पाएँ, मलाई मर्नदेखि डर लाग्नै छोड्यो,’ उनको बुझाइ छ, ‘मृत्युप्रति प्रेम गर्न सकियो भने जीवनप्रति आफैं प्रेम हुँदो रहेछ, न त मरिएला भन्ने भयले सताउँछ ।’


केदार डिप्रेसनमा पर्दा कतिपयको अड्कलबाजी थियो– करिअरमा ओरालो लागेकाले मानसिकरूपमा विचलित भए । बाहिरबाट हेर्दा उनी एक्लिएझैं लाग्थ्यो पनि । तर, केदार त्यसलाई नकार्छन्, ‘कलाकार केदार घिमिरे होइन, व्यक्ति केदार घिमिरेचाहिँ डिप्रेसनमा फसेको थियो । मेरो हिट वा फ्लपले त्यसमा कुनै सरोकार राख्दैन ।’


अहिले पनि कहिलेकाहीं त्यसैगरी छट्पटिन्छन् तर आत्मबल यति दह्रो भइसकेको छ कि त्यसलाई पराजित गरिहाल्छन् । भन्छन्, ‘अहिले हरेक दिन उत्सवझै लाग्छ । न कुनै गुनासो छ, न त नकारात्मक भाव । जे छ, त्यसमै

खुसी छु ।’


उनको खुसीको नयाँ कारण हो– हास्य लेखन पढाउन थाल्नु । डेढ दशक हास्य कलाकारितामा बिताएपछि उनलाई लागेछ, हाम्रो कमेडीको कमजोर पाटो भनेकै लेखन हो । हुन पनि, हास्य लेखन हामीतिर पढाइ हुन्न । दुई/चार जोक्स बनाउन सक्यो भने हास्य कलाकार कहलिन्छन् । केदारले आफैंलाई हेरे, कमेडीबाटै यति नाम र दाम कमाए तर आफैंमा कति कमजोरी छ । त्यसैले लामो समय आफैंले कमेडी पढे, नोट तयार पारे, अंग्रेजी पढ्नुपर्दा छोराको सहयोग लिए । त्यसपछि उनमा पढाउने आत्मविश्वास पलायो । भन्छन्, ‘पढाउनेभन्दा पनि एकअर्कासँग सिक्ने–सिकाउने गर्छु । यसबाट म ‘रिफ्रेस’ भएको छु र केही ज्ञान नयाँ पुस्तालाई बाँड्न सकिरहेको छु भन्ने लाग्छ ।’

प्रकाशित : माघ १५, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?