कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो चम्किए संगीतले संसारभर

चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली गायक दिवेश पोखरेल उपविजेता बन्न सफल

काठमाडौँ — संगीतकर्मी तथा ‘अमेरिकन आइडल’ का निर्णायक लुक ब्रायनले अडिसन राउन्डताकै भनेका थिए, ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’ ब्रायनको अनुमान एक हदसम्म पूरा भएको छ ।

जो चम्किए संगीतले संसारभर

संसारभर हेरिने यो सांगीतिक प्रतिस्पर्धामा नेपाली गायक दिवेश पोखरेल उपविजेता बनेका छन् । स्टार बन्ने बाटो पनि सहज भएको छ । थप संघर्षका लागि उनी तम्तयारै छन् । जसको प्रमाण उनको गीत नै छ :

सूर्यलाई हेर अस्ताउँदै छ है सुनौलो साँझमा

त्यो जूनलाई हेर चम्किँदै छ है अध्याँरो रातमा

सपना बोकी आएँ समुद्रपारि म सुखको आसैमा

दिवेशको हरेक प्रस्तुतिपछि चर्चित गायिका तथा शोकी अर्की निर्णायक केटी पेरी दिल खोलेर प्रशंसा गर्थिन् । अर्का निर्णायक लियोनल रिचीले त दिवेशको गायकीलाई चर्चित गायक ‘बब मार्ली’ सँग दाँजिदिए । अनि त, नेपाली श्रोतामात्र होइन, विदेशी पनि उनको जादूयी आवाजमा लट्ठ हुन थालिहाले । उपविजेतासम्मको यात्रा तय गर्नु त्यसकै प्रमाण हो । अठारौं संस्करणको उपाधिचाहिँ जस्ट स्यामले जितिन्, जो कुनै समय रेलमा गाउँदै हिँड्थिन् । भोटका आधारमा उनलाई विजेता घोषणा गरिएको हो ।

केही दिनअघि दिवेशले इन्स्टाग्राममा लेखेका थिए, ‘यो यात्रा रोमाञ्चक रह्यो, सँगै केही नयाँको सुरुवात पनि हो । तपाईंहरूको प्रेमपूर्ण र मायालु शब्दहरू देखेर मुस्कुराएको छु ।’

कोभिड–१९ को त्रासका बीच खुसीको खबर बन्न सफल दिवेशको स्टेज नेम हो, ‘आर्थर गन’ । यतिबेला उनलाई संसारभरबाट बधाई र शुभकामनाको ओइरो लागेको छ । धेरैको भनाइ एउटै छ, ‘हाम्रो आइडल तिमी नै हौ ।’

फरक र विशेष गायनका लागि चिनिएको विदेशी शोमा दोस्रो हुनु चानचुने उपलब्धि हो र ? नृत्य र गायन विधाका भारतीय रियालिटी शोहरूमा यसअघि पनि नेपाली प्रतिभाले कमाल गरेका थिए । नेपाली मूलका प्रशान्त तामाङले तेस्रो ‘इन्डियन आइडल’ को उपाधि जिते, रूपन्देहीकी तेरिया मगरले जी टीभीमा प्रसारित ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ को उपाधि चुमिन्, जी टीभीकै ‘सारेगमप लिटिल च्याम्प’ मा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए, स्टार प्लसबाट प्रसारित ‘डान्स प्लस सिजन–२’ को फाइनल (उत्कृष्ट चार) मा नेपाली नृत्य समूह वाइल्ड रिपर्ज र सुशान्त खत्री पुगे । तर अमेरिकन आइडलमा उपविजेता बन्ने पहिलो नेपालीको इतिहास भने दिवेशले बनाएका छन् । यसअघि पश्चिमा राष्ट्रको टेलिभिजन शोमा नेपालीले यति दरिलो उपस्थिति जनाएका थिएनन् ।

नेपाली समयअनुसार सोमबार बिहान एबीसी टेलिभिजनबाट प्रसारण भएको शोमा गभिन डेग्रिउको ‘आई डन्ट वान्ट टू बी...’ गाएपछि उनी उत्कृष्ट ७ बाट फाइनलमा पुगेका थिए । त्यसपछि उनले रक ब्यान्ड क्रिडेन्स क्लियरवाटर रिभाइभल (सीसीआर) को ‘ह्याभ यू एभर सिन द रेन...’ गाएका थिए । सीसीआरको गीत गाउनुअघि नेपाली परिवेश झल्कने दृश्यहरू टेलिभिजनमा देखाइएको थियो ।


बब मार्ली र द ओएलर्सको ‘ईज दिश लभ...’ गाएर उत्कृष्ट ४० मा पुगे । वाइने ह्यारिसको‘लभ मेसिन...’ गाएपछि उत्कृष्ट २० मा प्रवेश पाए । त्यहीबेला कोरोना भाइरसको महामारी सुरु भयो । स्टुडियोमा दर्शकसामु कार्यक्रम छायांकन सम्भव भएन । त्यसपछि हरेक प्रतियोगीले घरबाटै आफ्नो प्रस्तुति दिइरहेका थिए । फाइनलमा पनि यही अवस्था जारी रह्यो । निर्माताले सबै प्रतियोगीको घरमा समान गुणस्तरको साउन्ड सिस्टम र लाइटको प्रबन्ध मिलाएका थिए ।

फाइनलमा दिवेशको प्रस्तुतिपछि केटी पेरीले मुस्कुराउँदै भनिन्, ‘दिवेशको गीत सुनेपछि म भन्न सक्छु कि यो फाइनल शो हो ।’ उनै पेरीले अघिल्लो राउन्डमा ‘किस द गर्ल...’ सुनेपछि‘तिमी रिल्याक्स देखिएका छौ, कुल देखिएका छौ, मलाई निकै मन पर्‍यो’ भन्दै प्रशंसा गरेकी थिइन् । निर्णायक लियोनल रिचीको शब्दमा, दिवेशले ठूलो यात्रा तय गर्नेछन् । तर २२ वर्षे यी ठिटो अमेरिकन आइडलसम्म चाहिँ कसरी पुगे त ?

दिवेश काठमाडौंमै जन्मिए, हुर्किए । उनी बच्चैदेखि गुनगुनाउँथे, गितार बजाउन खोज्थे, जबकि उनको परिवार र आफन्त कोही पनि संगीत क्षेत्रमा थिएनन् । उनले भनेका छन्, ‘मैले पहिलो गितार आमाबाट पाएँ । रेडियो, टीभी जहाँ जुन गीत सुने पनि सँगै गाइहाल्थें । त्यहीँबाट गाउने सपना सुरु भयो ।’ उनले कार्यक्रमकै दौरान आमालाई समर्पित गर्दै ‘हे मा...’ गाएका थिए । गाउँदा उनकी आमा मैया छेवैमा थिइन् ।

उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सर्‍यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ मात्रै त्यहाँ पुगे । जतिबेला उनले गायनलाई गम्भीर रूपमा अँगालिसकेका थिए ।

धेरैलाई थाहा नहुन सक्छ, दिवेशले पब र कफीसपमा पनि गाएका छन् । सन् २०१८ मा उनले पहिलो एल्बम ‘ग्रहण’ सार्वजनिक गरे । यसमा ८ नेपाली गीत छन् । अर्को वर्ष ‘खोज’ एल्बम ल्याए । यसको शीर्षसहित ‘म...’ र ‘कर्णाली...’ जस्ता गीतले धेरथोर चर्चा कमाए । बब डिलन, निक डार्क र बुक्का ह्वाइटलगायत संगीतकर्मी उनका आदर्श हुन् । रक ब्यान्ड सीसीआरको त अझ ठूलो फ्यान । धेरै संगीतप्रेमीले उनको गायकीमा सीसीआरको झल्को आउने ठान्छन् ।

दिवेशले संगीतको औपचारिक शिक्षा लिएका छैनन् । सोमबार साँझसम्म उनको अफिसियल युट्युब च्यानललाई २ लाख ६८ हजारले सब्सक्राइब गरेका छन् भने उनका गीतले १ करोड ४३ लाख भ्युज पाइसकेको छ । दिवेशले आफ्नो स्टेज नाम ‘आर्थर गन’ दुई वर्षअघि आफैंले जुराएका हुन् । त्यतिबेला उनी अठारौं शताब्दीका प्रभावशाली कवि आर्थर रिमवोडका कविताहरू पढ्दै थिए । ‘मलाई आर्थरका शब्दहरू निकै आधुनिक लाग्यो र उनकै नामबाट स्टेज नेम राखें । यो नाम सजिलो पनि छ जस्तो लाग्छ,’ दिवेशले प्रस्ट्याएका छन् ।

अमेरिकन आइडलका लागि दिवेशले सुरुमा अनलाइन अडिसन दिए । त्यहाँबाट छानिएपछि निर्णायकसामु ‘गर्ल फ्रम द नर्थ कन्ट्री...’ र ‘ह्याभ यू एभर सी द रेन...’ गाए । यी दुई गीतले उनलाई निर्णायकको प्रिय बनायो । उनको गीत सुनेपछि केट पेरीले सोधेकी थिइन्, ‘तिम्रो नाम (दिवेश) को अर्थ के हो ?’ उनले मुस्कुराउँदै जवाफ फर्काएका थिए, ‘उज्यालो ।’

अमेरिकन आइडलमा उपविजेता बनेसँगै दिवेशको भविष्य उज्यालो रहेकोमा सन्देह रहेन । २२ वर्षअगाडि नेपालमा जन्मिएका यी ‘स्टार’ अहिले संगीतमार्फत संसारभर चम्कँदैछन् । र, कैयौंका लागि ‘रोल मोडल’ बनेका छन्, जो आफ्नो प्रतिभाको बलमा शिखर चुम्न चाहन्छन्, भाषा र भूगोल नाघेर । उनको जितपछि लेखक बुद्धिसागरले फेसबुकमा लेखे नै, ‘गमलामा छु भनेर फूल कहाँ लत्रिन्छ ? ऊ त आकाश हेर्दै फक्रिन्छ ।’

भीम निरौला : अर्को आशा


स्वरबाटै बेलायतको चर्चित रियालिटी शो ‘ब्रिटिन्स गट ट्यालेन्ट’ मा अर्का नेपालीले चर्चा कमाइरहेका छन् । उनी हुन्, भीम निरौला । दिवेशलाई अमेरिकन आइडलले चिनायो तर भीम निरौला सात वर्षअगाडि नै भाइरल भएका थिए । गीत थियो, ‘सन्डे मर्निङ लभ यू...’ ।

भीमको आवाज आमगायकको भन्दा अनौठो सुनिन्थ्यो, शब्द पनि भिन्न लाग्ने अनि भिडियो पनि त्यस्तै हँसाउने खालको । त्यसैले यो गीत मन पराउने भन्दा मजाक गर्ने धेरै थिए । खिस्सी गरेरै सही, गीतले खुब चर्चा पायो । त्यसयता ओझेलमा परेका भीमले वैशाख दोस्रो साता ‘सरप्राइज’ दिए, त्यही गीत ‘सन्डे मर्निङ लभ यू...’ बाट ।

‘ब्रिटिन्स गट ट्यालेन्ट’ को १४ औं संस्करणको अडिसन राउन्डमा भीमले त्यो गीत गाएर साँच्चै धमाका गरे । बडो प्रफुल्लित र विन्दास भएर मञ्चमा प्रस्तुति दिए, विदेशी अडियन्सको वाहवाही बटुले । यसैले उनलाई विभिन्न प्रकारका कला पस्किएर मनोरञ्जन दिने यस शोको दोस्रो राउन्डमा पुर्‍याएको छ ।

५४ वर्षीय भीमले गाउँदै निर्णायकसम्म पुगेर उनीहरूलाई पनि नचाएका थिए । उनी स्टेजबाट निस्किएपछि निर्णायकहरू डेभिस वालिएम्स, एल्सा डिक्सन र अमान्डा होल्डेनले एकसाथ ‘सन्डे मर्निङ लभ यू...’ गाएर अर्का निर्णायक सिमन काउवेललाई जिस्काए । त्यसपछि दर्शकदीर्घाबाट ‘आई वान्‍ना लभ यू एभ्री डे...’ गुन्जिएको थियो ।

भीमलाई नरुचाएका निर्णायक सिमनले ‘तपाईंलाई लाग्छ कि तपाईंले यो शो जित्नु हुन्छ ?’ भन्ने प्रश्नमा उनले आत्मविश्वासी भएर जवाफ फर्काएका छन्, ‘मलाई लाग्छ, म जित्न सक्छु । मेरा लागि यो सपना साकार भएको हो ।’ उनी पत्नीसहित अडिसन दिन पुगेका थिए । र, सुरुवातमै भनेका थिए– ‘मेरी पत्नीका लागि लेखेको प्रेमगीत गाउँदै छु ।’

प्रकाशित : जेष्ठ ६, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?