कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बन्जी अनुभव

डरको अघि जित ! 

रीना मोक्तान

काठमाडौँ — ३ वर्षअघि भोटेकोसीमा 'बन्जी जम्प' गर्दै थाहा पाइसकेको थिएँ, कुश्मामा नयाँ बन्जी गर्ने ठाउँ बन्दैछ । त्यो पनि विश्वकै दोस्रो अग्लो बन्जी जम्प । त्यतिबेलै सोचेको थिएँ,'अर्को पटक कुश्माको उचाइ नाप्ने हो !'  आखिर त्यो 'जम्प'ले डरमाथि विजय प्राप्त गर्दाको साहस चखाइदिएको थियो ।

डरको अघि जित ! 

थमाइदिएकै थियो, हातमा 'ब्रेभरी सर्टिफिकेट '। त्यही जितको आभास गर्न, 'फ्रिफल'मा रोमाञ्चित बन्न फेरि उभिएको छु, कुश्माको बन्जी प्लेटफर्ममा । फतक्क गलेका गोडा, काम्दै गरेको शरीर, सुकेको ओठ अनि उडेको होस ।

प्लेटफर्मसम्मको यो यात्रा माइक्रोले काठमाडौंबाट पोखरा पुर्‍याएजस्तो सजिलो पक्कै थिएन । प्लेटफर्मको अन्तिम छेउसम्म गन्दै चालेको कदम झैं, विस्तारै बटुलेको थिएँ २ सय २८ मिटरमाथिबाट फाल हान्ने साहस ।

साथी सुरक्षा भट्टराईसँग एकदिन अचानक बन्जी गर्ने योजना बन्यो । त्यही योजनाले भोलिपल्टै(चैत १७)मध्यरातमा कुश्मा पुर्‍यायो । निस्पट्ट अँध्यारोमा लहरै बलिरहेका बत्तीहरुले धप्पक्कै थियो पर्वत र बाग्लुङ जोड्ने पुल । कालीगण्डकीको मधुर सुसेली ।

आहा ! क्या गजब्बको स्वागत । दिउँसो आइपुगेको भए रातको यो सुन्दर दृश्य छुट्ने थियो । दिउँसोको दृश्य त इन्स्टादेखि फेसबुकमा हेरिरहेकै हो । त्यही पुलमा जडित बत्तीहरुले देखाएको गन्तव्यतिर पाइला चाल्नुको मज्जा छुट्टै ।

खोलादेखि पुलसम्मको उचाइ अनुमान गर्न आँखालाई बगिरहेको कालगण्डकीमा पुर्‍याएँ । दुई अजंगको पहाडबीच बगिरहेको कालगण्डकीको आवाजले शरीर सिरिङ्ग भयो । चिसो सिरेटोले मनै चिसो बनायो । त्यतिकैमा सुरक्षा बोलिन्,'म भोलि बन्जी गर्दिनँ । तिमीलाई अल द बेस्ट ।'

सँगै बन्जी गर्ने जोशसहित गन्तव्यमा पुगेकी साथीले साथ छोडेपछि मनलाई आत्तिन बहाना मिल्यो । पुलबाट तल हेर्ने आँट हरायो । सुरक्षालाई बन्जी गर्ने हौसला दिँदै रिसोर्टमा पुगेर दिनभरको थकान मेट्यौं । मनको गह्रौं हलुको भएन । २ पटक बन्जी गरिसकेकी साथीलाई ह्याट्रिक गर्न साहस थपिरहें । त्यो हौसला त केवल बहाना थियो आफ्नै मनलाई साहसी बनाउने । 'तिमी मलाई हौसला दिँदै कि आफैलाई ?', सुरक्षा जिस्किइन् । कसैलाई आड, भरोसा दिनु आफैलाई बलियो बनाउनु पनि त रहेछ । बन्जीका लागि साहस बटुल्ने प्रयासमै रात बित्यो ।'द क्लिफ'को प्लेटफर्मबाट हामफाल्ने सपनाले के निदाउन दिन्थ्यो ! झिसमिसेमै आँखा खुल्यो ।

रात बिताएको टेन्टबाटै देखिन्थ्यो ठीक अगाडि मध्यरातमा हिँडेको त्यो लामो पुल । ६ वर्ष लगाएर बनाएको पुल जसले एडभेन्चरस रुचाउनेहरुलाई साहसिक खेलसँग जोड्ने गर्छ । २ वर्षमा बन्ने अनुमान गरिएको पुल ठूलै साहसले ६ वर्षमा बनेछ । 'पुल बनाउन ५ सय २० मिटरको लठ्ठा बनाउनु पर्‍यो । पुल बनाउँदै जाँदा बीचमा प्राविधिक गडबढी भयो । त्यसपछि फेरि नयाँ टिम बनाएर बल्ल यो पुल निर्माण गर्यौं ।

त्यतिबेला यो पुल पार गर्न नसकेको भए अब सबै सिद्धियो भन्ने पनि भइसकेको थियो । तर टिमका साथीहरुले हौसला दिनुभयो,'चिया पिउँदै गर्दा भेटिएका क्लिफका सञ्चालक राजु कार्कीले सुनाए,'यति ठूलो परियोजना पूरा गर्न ठूलै साहस चाहिन्थ्यो । धेरै पटक आर्थिक अभावको सामना गर्यौं । ओपनिङ गर्ने समयमा कोरोना भयो । तर साथ दिने टिम बढ्दै गयो ।' टिमकै साथले ९ वर्षअघि कार्कीले देखेको सपना आज 'द क्लिफ'मा परिणत भयो । तर मेरी टिमकी एकल सदस्य सुरक्षाले भने बन्जी नगर्ने नै भयो । उनी हौसला दिने टिमकी एकल सदस्य।

बन्जीका लागि हौसला दिन उनी पछाडि परिनन् । उनको हौसलामा हौसिएँ म । बन्जीका लागि वार्मअपका रूपमा स्काई साइक्लिङ र गुलेली पिङ खेलियो । दुवै खेल खेलिरहँदा आँखा बारम्बार बन्जी प्लेटफर्ममै पुगेर टक्क अडिने । उचाइसँग साह्रै डर लाग्ने । त्यही डरसँग सामना गर्न दुई साहसिक खेल खेल्ने बित्तिकै सोझै लागेँ प्लेटफर्मतिर, जहाँ पहिल्यैदेखि पंक्तिमा थिए १०/१२ जना । विश्वकै दोस्रो अग्लो बन्जी जम्पको रेकर्ड बनाउन उत्साहित छन् साहसीहरू ।

प्लेटफर्मभित्रको कुर्सीमा पालो कुर्न थालेँ । जोश, डर, साहस र खुसीको समिश्रण प्रस्टै देखिन्थ्यो बन्जीको तयारीमा रहेकाहरूको अनुहारमा । डर र साहसको द्वन्द्वबीच ढुकढुकी बढ्दैछ । ओठ र गला सुकिसके । छेउको बोतलले गला भिजाए । बुरुक्क कोही उफ्रँदा पुलै हल्लिने । ओहो ! कस्तो थ्रिल ! आत्तिएको मनलाई सम्झाउँछु,'पहिलो पटक हो र ? दोस्रो पटक हो रीना, नडरा ।'

अरुको जम्प हेर्नै सकिरहेको छैन । कालो निलो भएर जम्प गरेको दृश्यले आफैलाई गलाउनुछैन । एक-एक गरेर साहसीहरु उर्फ्रँदैछन्, पुल हल्लिँदैछ । अब पालो आयो मभन्दाअघि उभिएकी एकजना महिलाको । उनी थरथर काम्दै प्लेटफर्मसम्म पुगिन् । नहेर्ने भन्दा-भन्दै हार्नेसको समयमा आँखा पुलुक्क उनीतिर पुग्यो । बन्जी मास्टरले काउन्ट डाउन सुरु गरे, वान, टु ,थ्री 'बन्जी' । आँखा चिम्लिएँ । पुल हल्लिएन, उनी प्लेटफर्ममै । कसैको असफलताले पहिलो पटक उसैलाई भन्दा बढी पोलेको क्षण थियो त्यो । दोस्रो पटकको काउन्ट डाउनमा हल्लिएको पुलले उनी फाल हानेको संकेत गर्‍यो । मन खुसी भयो । तर सासको गति बढ्न थाल्यो ।

डर भगाउन लामो सास फेर्दैछु । बन्जी मास्टरले प्लेटफर्मको छेउतिर जान निर्देशन दिइसके । गोडा गलिसकेका छन् । पहिलो पटक बन्जी गर्दाकोजस्तो एड्रिनल रस पटक्कै छैन । प्लेटफर्ममा पुग्दाको डर, फ्रि फलको थ्रिल पहिल्यै महसुस गरिसकेर होला ,अहिले छ त दोब्बर डर। भोटेकोसीमै परिचय भएको एकजना'क्रु'ले मनस्थिति बुझ्न होला मेरो, घर अनि गाउँको प्रश्न सोध्न थाले । 'तपाईंहरुले जे कुरा गरे पनि डर हटेको छैन,'डरले यस्तै बोलेछु ।'डर नभएसम्म बन्जीमा रमाइलो हुँदैन' अर्का क्रु सदस्यले भनेको कुरा कतै परबाट ठोक्किएर कानमा साउती गर्न आइपुग्यो ।

प्लेटफर्मको अन्तिम विन्दुमा छु । आधा खुट्टा प्लेटफर्ममा,आधा हावामै अडिए झैं । मनमा विश्वास थियो त्यो लठ्ठा डोरी चुँडिदैन, म बाँचेरै फर्कन्छु । खुट्टा प्लेटफर्मको आधा भागमै अडिएको छ भन्ने आभासले भने होसहवास उडायो । सम्झना थियो त केवल काउन्टडाउनमा फाल हान्ने । पहिलो चोटिमै आँटिन भने दोस्रो पटक कुश्माको उचाइ नाप्न सकिन्न भन्ने थियो । तल हेरुँ, गहिराइले तर्साउँछ । आँखालाई जतिसक्दो परका दृश्यमा अल्झाएँ । बन्जी मास्टरले भिडियोतर्फ हेर्न भने । हातले यो वर्ष ओस्कार जितेको फिल्म 'कोडा'को सिग्नेचर गर्‍यो ।

बन्जी मास्टरले कौतुहल भएर सोधे, 'त्यो के गरेको? । 'आई लभ यु' जवाफमा भने । जवाफ सुन्नेबित्तिकै बन्जी मास्टर जिस्किए 'कसलाई भनेको, मलाई ?' अनुहारको डर लुकाउँदै भने, 'होइन'। त्यतिकैमा चिच्चाएँ,'सुरक्षा भिडियो रेडी ? जवाफ के आयो थाहा छैन । 'मलाई डर लाग्यो के गर्ने ?' बन्जी मास्टरलाई प्रश्न गर्दै थिएँ, काउन्टडाउन सुरु भइहाल्यो 'वान, टू, थ्री बन्जी' ।

खुट्टाले प्लेटफर्म छोड्यो, शरीर हावामा उड्न थाल्यो । ३ सेकेन्डको फ्रि-फलमा के-भयो याद छैन । तर तल पुगेपछिको पहिलो झट्का महसुस भयो । डोरीमा झुन्डिँदै गर्दा जीवनमा ठूलै उपलब्धि हासिल गरें झैं चिच्याउन थालें । 'रीना तिमीले बन्जी गर्‍यौ, त्यो पनि दोस्रो पटक । तिमी साहसी छौ', हातमा गोप्रो भएको याद भइसकेपछि यस्तै कुरा गर्दै मन रमाउन थाल्यो । केही सेकेन्ड अगाडिको डर हटेर मन चंगा बन्यो । मेरो जम्प हेर्न पुलमा उभिरहेकी साथी सुरक्षालाई माथि प्लेटफर्ममा पुगेपछि खुसी हुँदै सुनाएँ,'देख्यौ मैले जम्प गरें नि ।'

एडभेन्चरप्रेमीकै लागि पछिल्लो समय 'द क्लिफ' एडभेन्चर हब बनेको छ । युवाहरुमा बढ्दै गरेको एडभेन्चर स्वभावकै कारण त्यहाँ थुप्रै एडभेन्चरका गतिविधि थपिएका छन् । करिब ६० रोपनीमा बनेको क्लिफ अहिले विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो बन्जी जम्पका रूपमा आन्तरिक पर्यटकबीच फैलँदै गएको छ । ८० कर्मचारीलाई रोजगारी दिँदै आएको क्लिफ अहिलेसम्म आन्तरिक पर्यटकबाट राम्रै चलिरहेको सञ्चालक कार्की बताउँछन् ।

'अहिले नेपाली पर्यटक मात्रैले पनि चल्न सकिने रहेछ भन्ने हामीले अनुभव गरेका छौं । युवाहरुमा नयाँ एडभेन्चर गर्ने बानीको विकास भएको छ । त्यही कुराले हामीजस्तो व्यवसायीलाई बाँच्ने आधार मिलेको छ । विदेशी ग्राहक त मुश्किलले देखा पर्दैछन् अहिले । ९८ प्रतिशत त हाम्रो आन्तरिक पर्यटक नै हो,' कार्कीले भने,'हामीले पहिला अध्ययन गर्दा पनि यस्तो व्यवसायमा ६० प्रतिशत नेपाली पर्यटककै सहभागिता पाएका थियौं । हामीले द क्लिफलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्यटकलाई मनोरञ्जन दिने सोचसहित बनाएका हौं ।'

प्रकाशित : वैशाख ३, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?