कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'घुमन्ते'को क्यामेरामा मधेसको तस्बिर

काठमाडौँ — 'घुमन्ते' टिमलाई 'इम्याजिन नेपाल'ले हरेक वर्ष पर्यटनसम्बन्धी कार्यक्रम गर्दै आइरहेको पहिल्यै जानकारी थियो । समाजका केही इन्फ्लुयन्सरहरुलाई भेला पारेर पर्यटकीयस्थल घुमाउने 'इम्याजिन नेपाल'ले यस पटकको नयाँ प्रोजेक्टमार्फत घुमन्तेलाई भेट्यो ।

'घुमन्ते'को क्यामेरामा मधेसको तस्बिर

घुमन्तेले इम्याजिन नेपालको अनुरोधमा उनीहरुका केही सामग्री पनि प्रचार पनि गरिदियो । अचानक एकदिन कार्यक्रम निर्देशक प्रकाश कर्णले फोन गरेर नयाँ प्रोजेक्टमा आफूहरुलाई सहभागी हुन हौसला दिँदा घुमन्तेको टिम तयार थिएन । 'यस्तो प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा हामी त सहभागी हुँदैनौं भनेर भन्दा उहाँहरुले कन्सेप्ट क्लियर गर्नुभयो । कन्सेप्ट सुन्दा एकदम राम्रो लाग्यो । हामीले एक्लैले जुन कुरा गर्न हिँडिरहेका थियौं त्यो गर्न यस्तो ठूलो समूह, संस्था अनि अन्य क्रियटरहरु लागि परेका छन् भने यो त हाम्रो लागि पनि उर्जाको स्रोत हो भन्ने लग्यो । खुशी पनि लाग्यो,' कन्चन राई सुनाउँछन् ।

सात निर्माताले सात प्रदेशको वृत्तचित्र बनाउँदै नेपाल चिनाउने टेलिभिजन कार्यक्रम र विभिन्न शीर्षकमा तयार पारेका भिडियोहरुबीच प्रतिस्पर्धा हुने अनि विजेता टिमले २० लाख पाउने कन्सेप्ट सुनेपछि यो टिम उत्साहित भयो । आफ्नै बलबुतामा नेपाल चिनाउन हिँडेको घुमन्तेले अन्तत कार्यक्रममा क्रियटरका रुपमा सहभागी हुने निर्णय लियो । सबै क्रियटरलाई प्रदेश रोज्न लगाइयो । कन्चनको टिम 'घुमन्ते'ले मधेस प्रदेश रोज्यो । आफूहरुले बनाएको भिडियोमा सँधै दर्शकले उनीहरुलाई कमेन्टमा लेख्थे -यतिकै पनि तराईलाई बेवास्ता गरिएको छ । सरकारदेखि - मिडियाले । घुमन्तेले नेपाल भनेर विभिन्न ठाउँलाई चिनाइरहँदा मधेस छुट्नु भएन ।'

कञ्चनको टिमलाई पनि लाग्यो, मधेश प्रदेशका एकाध ठाउँबाहेक अन्यबारे खासै सर्वसाधरणलाई थाहा छैन ।त्यसैले मधेस प्रदेशलाई रोजेको कञ्चनको भनाई छ । 'ठूलो कुरा सुनिएला, अन्य प्रदेशहरुको भिडियो त हामी त्यता नपुगी पनि बनाउन सक्थ्यौं । त्यतिका कन्टेन्ट हामीसँग छन् ।तर मधेस प्रदेशबारे त हामीलाई पनि केही आइडिया थिएन,'कञ्चनले भने,'हामीले राखेको मधेसको भिडियो भन्दा बढी हाम्रो भ्युअरहरु हिमाल पहाड हेर्न रुचाउनु हुन्छ । हामीले त भ्युज, लाइक्स र कमेन्ट नै हेर्ने हो । त्यो उहाँहरुको कमजोरी होइन । उनीहरुलाई पनि राम्रो भनेको यही हो भनेर त्यही खुवाइएको छ यतिका लामो समय । तराईको सौन्दर्य, त्यहाँको जनजीवन, साँस्कृतिक अर्थ अनि इतिहास बुझाएर तराई पनि सुन्दर छ भन्ने कुराको बानी बसाल्नुपर्छ भन्ने सोचेर हामीले तराई रोज्यौं। यो काम गार्‍हो छ, गर्नुपर्छ भन्ने थियो ।'

तराईमा पहाडेलाई राम्रो मान्दैनन् भन्ने पूर्वाग्रह बोकेर घुमन्ते मधेस प्रवेश गर्‍यो । तर, त्यहाँ पाएको पाहुना सत्कार, विविधताले उनीहरुको आँखा खोलिदियो । 'सहर बजारका मानिस जुन ठाउँका पनि उस्तै हुने रहेछन् । तर गाउँ, जहाँका मानिसमा व्यवसायिक सोच र महत्वकांक्षा धेरै छैन । 'उनीहरु उस्तै नरम, मिठो बोल्ने अनि जिज्ञासा राख्ने हुँदा रहेछन्,'कञ्चनले मधेस प्रदेशको २५ दिनको बसाइ सम्झँदै सुनाए,'केन्द्रमा सँधै नेपाल र भारतको सीमालाई लिएर विवाद आइरहन्छ । त्यो विवाद अलि बढी त राजनीतिक हिसाबले आउँदो रहेछ ।'

कञ्चन थप्छन्,'एकदिन भारतीय प्रहरीले आएर नेपालीलाई केही गरिदिन्छ अनि उनीहरुले ज्यादती गरे भन्ने हुन्छ । तर सीमामा बस्ने भुइँमान्छे नेपाली र भारतीयमा त्यस्तो विवाद भेटिन्न । सीमातिर घुम्न जाँदा हामी त्यहाँका मानिसहरुको साइकल लिएर चलाइदिन्थ्यौं । कुरा गर्दै जाँदा उनी त भारतका रहेछन् । त्यही सीमापारि । छेउमै त हो । सीमा भन्ने त हामीले बनाएको काल्पनिक रेखा मात्र त रहेछ । केन्द्रमा हामी जति तिक्तता बोक्छौं, त्यता त्यस्तो छैन ।'

नयाँ ठाउँहरु चिनाउने घुमन्तेको आफ्नै शैली छ । उनीहरु आफू पुगेका ठाउँको भिडियो लामै बनाउँछन् । तर, इम्याजिन नेपालले डकुमेन्ट्रीको सिमित समय छुट्याइदिएको थियो । डकुमेन्ट्रीको क्याटोगोरी छुट्याइदिएकाले भिडियो बनाउन सहज बनाइदिएको उनी बताउँछन् । 'समस्याको कुरा गर्नुपर्दा हामीलाई दिइएको समय पनि अनुपयुक्त थियो । २५ दिनमा कुनै प्रदेशलाई खिच्छु भन्दा सकिँदैन । समय नै पुग्दैन । चाडपर्व, मौसम अनुसार विभिन्न ठाउँको स‌ंस्कृति, त्यहाँका सबैथोक देखिन्छ । क्याटेगोरी छुट्याइएको हुनाले अलिकति सजिलो भयो,'कञ्चनले सुनाए ।

मधेस घुमेपछि घुमन्तेले देख्यो, तराईको विविधता अनि विभेदको वास्तविक चोट । 'मधेस भनेको सुख्खाले डढेलो लाग्ने अनि वर्खामा बाढी पहिरोको प्रकोपले कति इतिहास पनि बगाउँदो रहेछ । त्यहाँ धेरै विविधता रहेछ । त्यहाँ पनि आदिवासी जनजातिको आ-आफ्नै कुरा छ,' उनले भने,'हामीले विभेद भन्ने कुरा त सुनेका छौं । तर हामी कति विभेदी छौं भन्ने कुरा हामीलाई थाहा छैन । त्यहाँ घुमेर आइसकेपछि सरकारले तराई प्रदेशको विकासमा ध्यान नदिएको देखियो । संघीयता आएदेखि त्यहाँका मानिसमा आशा पलाएको देखेँ ।'

अहिलेसम्म घुमन्तेले कान्तिपुर टिभी मार्फत् चलिरहेको डकुमेन्ट्रीको रियालिटी शो 'इम्याजिन नेपाल'मा डकुमेन्ट्री मात्रै दर्शकमा प्रस्तुत गरेका छन् । यो कार्यक्रमपछि भने तराईको विस्तृत भिडियो भिडियो सार्वजनिक गर्ने तयारीमा छन् कञ्चन । तर त्यही भिडियोलाई भने उनी आफ्नो टिमको जीत मान्छन् । ' हामीले जित्छौं जित्दैनौं थाहा छैन । तर अन्त्यमा एउटा कुरामा चाहिँ विजयी हुने देखिसकें,'कञ्चनले भने,'हाम्रो अपी बेस क्याम्पको, कोरी अनि बढिमालिकाको भिडियो हेरेर रमाउने लाखौं हुनुहुन्छ । तर पुग्ने समस्या छ । तर मधेस प्रदेशको ठाउँहरु हामीले देखाउँदा कम भ्युज आउला तर धेरै जना त्यो ठाउँ जान सक्नुहुन्छ । त्यसैले इम्याजिन नेपालको सुरुमै मैले भनेको थिएँ, मधेस प्रदेशको यो यात्रा हाम्रो पनि अभियान हो । कम्तिमा हामीले पनि मधेसको पर्यटनमा टेवा पुर्‍याउन सक्यौं भने धेरै परिवर्तन आउँछ । इम्याजिन नेपालपछि हाल्ने भिडियो नै हाम्रो लागि हामीलाई विजेता बनाइदिन्छ ।'

कञ्चनको स्वाभाव भीडभाड नभएको ठाउँमा घुम्न मन लाग्ने खालको छ । भीड नभएको ठाउँ घुम्दै जाँदा नयाँ ठाउँ पुग्न थाले, अनि त्यसमाथि भिडियो बनाए । 'घुमन्ते'नामको युट्युब च्यानलबाट भिडियोहरु सार्वजनिक गर्न थाले । त्यसपछि घुमन्तेलाई हेर्ने लाखौं दर्शक हुन थाल्यो । उनीहरु पुगेका ठाउँ खोज्दै जाने आन्तरिक पर्यटक बढ्न थाले । त्यसपछि नयाँ ठाउँ पुग्दा पर्यटनमा केही टेवा पुर्‍याए झैं लाग्न थाल्यो । त्यसपछि आफूहरुको पहुँच र इन्फ्लुयन्स बढ्दै गएपछि आन्तरिक पर्यटक र विश्वलाई नेपालका सुन्दर ठाउँहरु चिनाउने उद्देश्यसहित ६ वर्षयता घुमन्ते सक्रिय छ । त्यसैले तराईलाई चिनाउन उनीहरुले इम्याजिन नेपालको प्लेटफर्ममा सहभागी भए । हिमाल पहाडको उकाली ओरालीमा मात्रै होइन तराई फाँटमा अनेक सुन्दरता लुकेका छन् भन्ने देखाउने कोसिस कञ्चनको टिमले गरिरहेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?