१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

बोरिङ फोनपछि फेरि आए नोकियाका बार फोन

काठमाडौँ — ह्युमन मोबाइल डिभाइस (एचएमडी) ले नोकिया ब्रान्डका तीनवटा चम्किला रङका फिचर फोन सार्वजनिक गरेको छ । स्मार्टफोनमा उपलब्ध अनेकौं सुविधाहरूले उत्पन्न गराउने ‘डिजिटल डिस्ट्राक्सन’ बाट मुक्ति चाहनेलाई लक्ष्य गर्दै यी फिचर फोन बजारमा ल्याएको एचएमडीले जनाएको छ ।

बोरिङ फोनपछि फेरि आए नोकियाका बार फोन

गत महिना मात्रै एचएमडीले हाइनिकन एन्ड बोडेगासँग मिलेर बोरिङ फोन सार्वजनिक गरेको थियो । एप, वेब ब्राउजर, इमेल केही पनि नचल्ने तर स्नेक गेम खेल्न र एफएम सुन्न मिल्ने सुविधा भएको बोरिङ फोन अहिले बेलायतमा मात्रै उपलब्ध छ । यो वर्षको अन्तिमसम्ममा अन्य बजारहरूमा पारदर्शी डिजाइनमा बनाइएको सो फ्लिप फोन निर्यात गर्ने हाइनिकनले जनाएको छ । यसमा ०.३ मेगापिक्सेल क्यामरासमेत छ ।

एचएमडीले हाल सार्वजनिक गरेको नोकिया २१५, नोकिया २२५ र नोकिया २३५ भर्सनका बार फोनमा फोरजी प्रविधिमार्फत कलिङ र टेक्स्टिङ फिचर छन् । क्यामराको गुणस्तर र स्क्रिन साइजअनुसार यी फोनको मूल्य ५५ र ६५ डलर तोकिएको छ ।

पछिल्लो समय फिचर फोनको प्रयोग र लोकप्रियता अनौठो रूपमा बढिरहेको छ । छिनछिनमा आइरहने अनेक नोटिफिकेसन र सामाजिक सञ्जालसँगै विभिन्न एपहरूमा हराउने बानीका कारण मानिसहरू अचेल यी सबै डिस्ट्राक्सन (ध्यान भड्काउने सामग्री) हरूबाट अलग रहन फिचर फोनतर्फ लागेको कतिपयको बुझाइ छ । ‘डिजिटल डिटक्स’ अभियानमा लागेका मानिसहरू फिचर फोन बोक्न थालेका छन् ।

स्मार्टफोन महँगा हुन्छन् । त्यसकारण कतिपयले सुपथ मूल्यमै पाइने फिचर फोनबाटै सम्पर्क जोड्ने गरेका छन् । फिचर फोनको ब्याट्री लाइफ बेजोडको हुन्छ । एकपटक चार्ज गरेपछि हप्तौं टिक्छ । यसकारण कयौं मानिसले स्मार्टफोनसँगै साथमा एउटा फिचर फोन पनि बोक्ने गर्छन् ताकि छिनछिनमै चार्ज गर्नुपर्ने झन्झट नहोस् । मिलेनियल्स र जेन जी भनेर चिनिने युवा पुस्ताको पछिल्लो एक जमात मिनिमलिजम (न्यूनतमवाद) को सिद्धान्तअनुसार सरल जीवनशैली बाँचिरहेका छन् । उनीहरूले पनि फिचर फोन बोक्ने गरेको केही अध्ययनहरूको निचोड छ ।

फिचर फोनको विश्वव्यापी बजार आकार सन् २०२४ मा १०.६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । स्मार्टफोनको बजार आकार ६८६.७ अर्ब डलर पुग्ने अनुमान छ । सन् २०२८ सम्ममा १७ करोड ६७ लाख प्रति फिचर फोन ढुवानी हुने स्टाटिस्टाको प्रक्षेपण छ । स्मार्टफोनको लोकप्रियता व्यापक भए पनि भारतजस्ता उदयीमान बजारमा फिचर फोनको हिस्सा पनि उल्लेख्य रहेको अध्ययनले देखाएका छन् । स्क्रिन टाइम बढी भएर उत्पन्न भइरहेका स्वास्थ्य समस्या लगायत कारणले पनि फिचर फोन बोक्ने क्रम बढेको र बजारमा फिचर फोनको ‘कमब्याक’ भइरहेको बताइन्छ ।

के हो फिचर फोन by ekantipur

प्रकाशित : वैशाख २७, २०८१ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?