कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

शैक्षिक बेथितिको दुष्चक्र

पाठक पत्र

सरकारले शिक्षाको गहनता, मर्म, आवश्यकता र उपादेयताबारे चिन्तनमनन गरेको कहिल्यै पाइएन । मुलुक सुहाउँदो शिक्षा र समृद्धि एकअर्काका परिपूरक हुन् भनेर जान्दाजान्दै नेतृत्वले शिक्षा क्षेत्रमा अराजकता फैलाइरह्यो, तुरूप प्रहार गरिरह्यो । एकातिर ठूला राजनीतिक दलका विषालु नंग्राले मुलुकका अधिकांश शिक्षण संस्थामा कोतरिरहेका छन् भने अर्कातिर तोतेबोली बोल्न थाल्नेबित्तिकै कलिला शिशुलाई विदेशी भाषा र संस्कार सिकाउने प्रचलन बढ्दा उनीहरूमा मुलुकप्रति वितृष्णा बढेको छ ।

भाषिक, सांस्कृतिक औपनिवेशिकताले तहसनहस बनेपछि यतिबेला अफ्रिकाका अधिकांश मुलुक तन्नम गरिबीमा धकेलिएको, उर्वर भूमि हुँदाहुँदै हातमुख जोर्ने आधार खडा गर्न नसकेको, अवैध रूपमा त्यहाँबाट जहाज, डुंगामा युरोप छिर्न खोज्दा दिनहुँजसो ज्यान गुमाइरहेको परिदृश्य भुल्न सकिँदैन ।

अहिले हाम्रो अवस्था पनि अफ्रिकी मुलुकहरूको भन्दा खासै फरक छैन । अवैध रूपमा रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्यु भएको सन्दर्भ होस् या युरोप छिर्ने लालसामा लाखौं रुपैयाँ खर्च गर्दासमेत अलपत्र परेका व्यक्तिको विषय नै किन नहोस्, यी सबैले देश सुहाउँदो शिक्षाको अभावमा बेरोजगारी उत्कर्षमा पुगेको छ ।

उता अमेरिका पुग्ने लोभमा करोड खर्च गर्दासमेत लुटेरा, बिचौलियाले भुँडी भरिरहेको, चंगुलमा फसेका अधिकांश व्यक्ति गन्तव्यमा पुग्न असफल बनेको सन्दर्भ हाम्रो दुरुह अवस्थाका परिचायक हुन् । दुःखका साथ भन्नुपर्छ कुशासन, देश सुहाउँदो व्यावहारिक शिक्षाको अभावसमेतका कारण सर्वसाधारण दिग्भ्रमित बनिरहेको, गन्तव्यहीन बन्दै विदेश पुगेर कष्टकर जीवन बिताइरहेको विषय कारुणिक छ । यता उचित शिक्षाको अभावमा सानो उमेरदेखि पछिसम्म विद्यार्थीमा पर्ने नकारात्मक असर गनेर साध्य छैन ।

रायसी काममा असहयोग, अनुशासनहीनता, अधैर्य, मर्यादाविहीनता, क्रोध र प्रतिशोधमा उत्रने विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ भने नाम चलेका शिक्षण संस्थाहरूमा लागूपदार्थ सेवनले जरा गाडेको छ । तसर्थ सरकारले शिक्षण संस्थाहरूको राजनीति अन्त गरेर मात्र पुग्दैन, सानो उमेरदेखि संस्कारजन्य एवं सीपमूलक व्यावहारिक ज्ञानलाई पनि अनिवार्य गर्नुपर्छ ।
– भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ ७, २०८१ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x