कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

समाचार सामग्री बिनाअनुमति प्रयोग गरेको भन्दै ८ मिडिया संस्थाले हाले ओपन एआईलाई मुद्दा 

एजेन्सी

काठमाडौँ — अमेरिकाका ८ वटा विभिन्न सञ्चार संस्थाहरूले ओपनएआईको लार्ज ल्याङ्ग्वेज मोडल ट्रेनिङमा आफ्ना सामाग्री बिनाअनुमति प्रयोग गरिएको भन्दै न्युयोर्कको एक अदालतमा मुद्दा दायर गरेका छन् । न्युयोर्क डेली न्युज, सिकागो ट्रिब्युन, ओर्लान्डो सेन्टिनेल, सान होजे मर्करी न्युज लगायतका सञ्चार संस्थाहरूले ओपनएआई र माइक्रोसफ्टलाई विपक्षी बनाई दाखिला गरेको उक्त मुद्दामा आफूहरूले स्रोत, साधन र मेहेनत लगाएर बनाएका सञ्चार सामग्रीहरू बिनाअनुमती वा क्षतिपूर्ति दुरूपयोग गरिएको आरोप लगाएका छन् ।

समाचार सामग्री बिनाअनुमति प्रयोग गरेको भन्दै ८ मिडिया संस्थाले हाले ओपन एआईलाई मुद्दा 

एल्डेन ग्लोबल क्यापिटल नामक एक कम्पनीको लगानीमा सञ्चालित ती सञ्चार संस्थाहरूले आफ्ना सामग्रीहरू च्याटजीपीटी र माइक्रोसफ्ट कोपाइलटसँगको कुराकानीमा अनुच्छेद वा लेखको लामो अंश नै देखाएको र सोबाट ती आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लाटफर्महरूले जेनेरेटिभ प्रि-ट्रेनिङ ट्रान्सफर (जीपीटी) गराउने गरेको प्रमाणित हुने दाबी गरेका छन् । प्रमाणका रूपमा विभिन्न स्क्रीनसट र एआईबाट लिइएका अनुच्छेदहरू समावेश सो निवेदनले 'न्यायोचित प्रयोग'को सिद्धान्तअनुरूप सार्वजनिक रूपमा उपलब्ध सञ्चार सामाग्रीहरूको नीतिपरक प्रयोगको वकालत गरेको छ ।

सञ्चार संस्थाहरूले आफूहरूको सो प्रयत्न पुरानो र नयाँ मिडियाबीचको लडाइँ नभएको उल्लेख गरेका छन् । 'यो सही अर्थमा एउटा तीव्र गतिमा प्रगति गर्दै गरेको र संक्रमणबाट गुज्रिरहेको क्षेत्रहरूबीचको विवाद हो । हामीहरूको प्रयास एआईमा निर्भर हुँदै गएको पुस्तालाई एआई प्रयोगका सामाजिक, राजनीतिक, आर्थिक र नैतिक अन्योल सम्झाउनु पनि होइन,' निवेदनमा भनिएको छ, 'हाम्रो प्रश्न भनेको कसरी एउटा खर्बौं डलरको कम्पनीले कुनै सञ्चार संस्थाको सर्वाधिकारमा रहेका सामग्रीहरू बिनाअनुमति र शुल्क तिरेर प्रयोग गर्न मिल्छ भन्ने हो ।' सञ्चार संस्थाहरूले ओपनएआई र माइक्रोसफ्टले आफ्ना समाचार र लेखहरूको पे वाल सजिलै बाइपास गर्ने गरेको र कुनै प्रष्ट साभार जानकारी वा हाइपरलिंक बेगर नै प्रयोग गरेको पाइएको दाबी पनि गरेका छन् ।

सञ्चार संस्था र एआई प्लाटफर्मबीचको विवाद नयाँ होइन । यसअघि अघिल्लो वर्षको डिसेम्बरमा न्युयोर्क टाइम्सले पनि ओपनएआई र माइक्रोसफ्टलाई यस्तै कन्टेन्ट दुरूपयोगको आरोपमा मुद्दा लगाइसकेको छ । फेब्रुअरीमा द इन्टरसेप्ट, अल्टरनेट, र स्टोरीजस्ता सञ्चार संस्थाले पनि च्याटजीपीटीले आफ्ना सञ्चार सामाग्रीहरू बिनासाभार तोडमरोड गरेर दिने गरेको आरोपसहित मुद्दा लगाइसकेका छन् । प्रत्युत्तरमा ओपनएआईले न्युयोर्क टाइम्सजस्ता सञ्चार माध्यमले आफ्ना समाचार बनाउन च्याटजीपीटीको प्रयोग गर्ने गरेको भन्दै मुद्दा खारेज गर्न खोजेको थियो ।

सञ्चार संस्थाहरूले कपीराइट गरिएको सञ्चार सामाग्री प्रयोग गर्दा प्रकाशकको अनुमति लिने व्यवस्था मिलाउन र व्यावसायिक प्रयोग गरेबापत उचित शुल्क तिर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १९, २०८१ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?