१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

स्थानीयले रोकिरहे नागढुंगा सुरुङको काम

१४ मिटर मात्र खन्न बाँकी छँदा पुराना माग अघि सारेर स्थानीयको अवरोध, निर्माण ढिलाइले ‘ब्रेक थ्रु’ को समय अनिश्चित
पानी खुवाउने काम सुरुङमार्ग आयोजनाको मात्र होइन, नगरपालिकाको पनि हो, पानी दिन हामी तयार छौं तर कसैले काम रोक्नुभएन । -घनश्याम गिरी, मेयर, चन्द्रागिरि नगरपालिका 
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङको काम एक साताभन्दा बढी समयदेखि ठप्प छ । स्थानीयको अवरोधका कारण धादिङ र काठमाडौं खण्डको काम फागुन ६ देखि अघि बढ्न सकेको छैन । १४ मिटर मात्र सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानीलगायत माग अघि सार्दै काम रोकिरहेका हुन् । 

स्थानीयले रोकिरहे नागढुंगा सुरुङको काम

अहिले काम ठप्प बनेपछि यही फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने भनिए पनि समय लम्बिने आयोजनाले जनाएको छ । सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेकै बेला स्थानीयले पुराना मागसमेत अघि सार्दै काम गर्न दिएका छैनन् । चन्द्रागिरि नगरपालिका–१ र २ नम्बर वडाका स्थानीय आन्दोलित छन् । सबैको चासो र महत्त्वपूर्ण आयोजनाको ‘ब्रेक थ्रु’ गर्ने बेला काम रोक्नु गलत भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।

‘पानी खुवाउने काम सुरुङमार्ग आयोजनाको मात्र होइन, नगरपालिकाको पनि हो,’ उनले भने, ‘पानीको व्यवस्था गर्न हामी तयार छौं, कति बजेट निकासा गरेर काम गर्नुपर्ने हो, गर्छौं । तर काम रोक्नुभएन ।’ त्यसका लागि पानी आउने ठाउँमा मात्र बोरिङ गर्नुपर्ने र त्यो दिगो हुनुपर्ने उनको भनाइ छ । ‘जति निर्माणमा ढिलाइ हुन्छ, त्यति नै हामीलाई असर पुग्छ । राष्ट्रको नोक्सान भनेको हाम्रै नोक्सान हो,’ उनले भने, ‘काम नरोकौं, खानेपानीका लागि कसरी हुन्छ, नगरपालिका काम गर्न तयार छ ।’

स्थानीयले समस्यालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएकाले छिटो समाधान गरेर काम जारी राख्नुको विकल्प नभएको गिरीले बताए । ‘यति ठूलो आयोजनालाई सम्पन्न गर्न सबैको सहयोग हुनुपर्छ,’ उनले भने, ‘साताभन्दा बढी समयदेखि काम बन्द छ, यसलाई गम्भीर रूपमा लिँदै छिटो काम सुरु गर्ने वातावरण बनाइनुपर्छ ।’ समस्या समाधानका लागि नगरपालिकाले पहल गरे पनि समस्या माथिल्लो तहमा पुर्‍याइएकाले त्यतैबाट छिटो समाधान गरिनुपर्ने उनको भनाइ छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै छिटो समस्या समाधान गरेर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । स्थानीयको अवरोधका कारण निर्माणको गति पछि धकेलिने आयोजनाका एक इन्जिनियरले बताए । काम गर्न नपाउँदा फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्न सक्ने अवस्था नभएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले जनाए ।

‘अहिले रफ्तारमा काम भइरहेको थियो । यही बेला काम रोक्नुपरेको छ,’ जैसीले भने, ‘फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्न सकिएको भए ०८१ माघभित्र फिनिसिङको काम सकेर गाडी चलाउन सकिन्थ्यो । त्यहीअनुसार योजना बनाएर काम भइरहेको थियो ।’ खानेपानी सहज गर्नुपर्ने, चर्किएका घरलाई क्षतिपूर्ति, सुरुङमाथि घरजग्गा पर्ने भएकाले यसलाई प्रभावित क्षेत्रका रूपमा घोषणा गर्नुपर्नेलगायत माग स्थानीयका छन् । मुख्य सुरुङ २६८८ मिटरमध्ये २६७४ मिटर खनिसकिएको छ ।

निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् भने एउटा फ्लाई ओभर निर्माणाधीन छ । यसको ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । सुरुङबाट गाडी सञ्चालन गर्न ०८१ माघ पुग्ने आयोजनाको भनाइ छ । कारण सुरुङ खनिसकेपछि त्यसको फिनिसिङ गर्न थप समय लाग्नेछ । यो सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्  ।

आयोजना सुरु भएयता १४ अर्ब ६ करोड २ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । आपत्कालीन सुरुङको भने ‘ब्रेक थ्रु’ भइसकेको छ । यसको दूरी २५५७ मिटर छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । यसको ठेक्का रकम साढे २२ अर्ब रुपैयाँ छ, जसमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ ।

प्रकाशित : फाल्गुन १६, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?