२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

नागढुंगा–सिस्नेखोलाको आपत्कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’

मुख्य सुरुङ ५ सय मिटर मात्र खन्न बाँकी
आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार ‘ब्रेक थ्रु’ गरिएको सुरुङको दूरी २.५५७ किमि छ । काठमाडौं र धादिङ दुवैतर्फ सुरुङ खन्ने काम सकिएको छ । आपत्कालीन सुरुङ खन्ने काम सकिएकाले अब फिनिसिङको काम गरिने सडक विभागले जनाएको छ ।

नागढुंगा–सिस्नेखोलाको आपत्कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानी राजदूत किकुता युतका, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत टोलीको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । मन्त्री ज्वाला र राजदूत युतकाले सिस्नेखोलाबाट काठमाडौंतर्फ निस्कने मुखतर्फ स्विच अन गरेर विस्फोट गराई सुरुङको ‘ब्रेक थ्रु’ गरिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैशीले जनाए ।

‘अब गाडी हिँड्न सुरुङभित्रको सडक कालोपत्र गर्छौं,’ उनले भने, ‘यो मुख्य सुरुङको निर्माण सकिएपछि सँगै सञ्चालनमा आउँछ ।’ सवारीसाधन ओहोदोहोरका लागि मुख्य सुरुङ निर्माण गरिएको हो । ‘भित्र कुनै सवारी दुर्घटनामा परे, आगलागी भए मुख्य सुरुङको क्रस प्यासेजबाट आपत्कालीन सुरुङमा पुगिनेछ,’ उनले भने, ‘यसबाट काठमाडौं वा धादिङ कतातिर जान चाँडो हुन्छ, त्यतै निस्किने व्यवस्था गरिन्छ ।’ सवारी पूर्वाधारका लागि नेपालमा निर्माण गरिएको यो पहिलो सुरुङ भएको जैशीको भनाइ छ ।

नेपालकै पहिलो सडक सुरुङको ‘ब्रेक थ्रु’ गर्न पाउँदा खुसी लागेको मन्त्री ज्वालाले बताए । ‘अब हामी नेपालमा सुरुङ युगमा प्रवेश गरेका छौं, त्यसैले भौगोलिक विकटता भएको ठाउँमा सुरुङमार्ग सबैभन्दा उपयोगी मार्ग बन्नेछ,’ उनले भने, ‘अबको केही महिनाभित्र मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको छ ।’ नेपालको पहिलो सडक सुरुङमार्ग निर्माणमा जापानले सहयोग गर्न पाउँदा खुसी लागेको जापानी राजदूत युतकाको भनाइ छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा आपत्कालीन उद्धार सुरुङको 'ब्रेक थ्रु' गरिएपछि सोमबार खुसी साट्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत ।तस्बिर सौजन्य : भौतिकमन्त्रीको सचिवालय

मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङ पनि चार महिनाभित्र ‘ब्रेक थ्रु’ गरिने आयोजनाको दाबी छ । सुरुङको कुल दूरी २.६८८ किमिमध्ये ५ सय मिटर मात्र खन्न बाँकी रहेको नागढुंगा सुरुङ निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जनाए । ‘समग्रमा आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत छ,’ उनले भने, ‘थपिएको समयभित्र निर्माण सक्ने गरी काम भइरहेको छ ।’ निर्माणमा कुनै समस्या नआए ०८१ पुसमा सुरुङबाट यातायात चल्ने आयोजनाको दाबी छ ।

अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले आवतजावत गर्न पाउने छैनन् ।

समग्रमा सुरुङ खन्ने काम ९० प्रतिशत सकिइसकेको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र हो । कोभिडका कारण तोकिएकै समयभित्र निर्माण नसकिएको आयोजनाको भनाइ छ । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थपिएको हो । उक्त समयभित्र पनि काम नसकिने भएपछि दोस्रो पटक फेरि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भए पनि यातायात सञ्चालन गर्न थप एक वर्ष समय लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए ।


सुरुङ निर्माण ‘ब्रेक थ्रु’ भएपछि त्यसभित्र अक्सिजन, बत्ती व्यवस्थापन, सडक कालोपत्र, लाइनिङलगायत काम गर्न समय लाग्नेछ । काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माण गर्ने क्षेत्रमा करिब १६ आना जग्गाको मुआब्जा टुंगिएको छैन । आयोजनाको पूर्वपट्टि ९० वटा घरमा चर्किनेलगायत समस्या देखिएको भन्दै स्थानीयले पटकपटक निर्माणको काममा अवरोध गरिरहेका छन् । ‘यी समस्या समाधानको प्रयास भइरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘के कति घरमा क्षति पुगेको हो, भवन विभागबाट अध्ययनको काम भइरहेको छ ।’ बलम्बुमा फ्लाइओभर निर्माणको काम भइरहेको छ । यही क्षेत्रको पश्चिमपट्टिको पहुँच सडकमा टेवा पर्खाल निर्माण पनि थालिएको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । निर्माणमा १४ अर्ब ६२ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ ।

प्रकाशित : श्रावण २३, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?