कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान उत्पादन पोहोरभन्दा बढ्यो, परारभन्दा घट्यो

राजु चौधरी

काठमाडौँ — पोहोरको तुलनामा यस वर्ष धान उत्पादन बढे पनि परारभन्दा घटेको छ । यस वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण ०७८/७९ को तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी हो ।

धान उत्पादन पोहोरभन्दा बढ्यो, परारभन्दा घट्यो

गत वर्ष असोज ३० देखि कात्तिक २ सम्मको बेमौसमी वर्षाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिमका १ लाखभन्दा बढी हेक्टरमा लगाइएको धान बालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको थियो । ०७८/७९ मा ५१ लाख ३० हजार ६ सय २५ टन मात्रै उत्पादन भएको थियो ।

यस वर्ष उत्पादनमा केही सुधार देखिए पनि परारको तुलनामा धान उत्पादन १ लाख ३५ हजार २ सय ३८ टनले घटेको छ । ०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो । ०७६/७७ मा भने ५५ लाख ५० हजार ८ सय ७८ र ०७५/७६ मा ५६ लाख १० हजार ११ टन उत्पादन भएको थियो । विगतमा जस्तो सिँचाइ, रासायनिक मल र वातावरण अनुकूल नहुँदा उत्पादन बढ्न नसकेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी बताउँछन् । ‘यस वर्ष उत्पादन ५६ लाख टनभन्दा बढी नै हुने अनुमान थियो । धान रोपाइँ भएपछि मधेस र लुम्बिनीमा एक डेढ साता सुक्खा भयो, त्यसको असरले पनि उत्पादन सोचेअनुसार भएन,’ रेग्मीले भने, ‘तर, गत वर्षसँग तुलना गर्दा उत्पादन र उत्पादकत्व पनि बढेकै छ ।’

गत वर्षको तुलनामा धान रोपेको क्षेत्रफल २९ हजार ५ सय ८९ हेक्टर कमी आए पनि उत्पादन बढेको छ । मन्त्रालयका अनुसार ०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान बाली खेती भएको थियो । ०७९/८० मा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा मात्रै धान बाली खेती भयो । तर पनि उत्पादन र उत्पादकत्व बढेको हो । ‘ढिलो भए पनि तराईका जिल्लामा रासायनिक मलको उपलब्धता, उन्नत बीउको प्रयोगसँगै मौसमले पनि साथ दियो,’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच हुँदा धान लगाएको क्षेत्रफल घटे पनि उत्पादन बढ्यो ।’ मन्त्रालयका अनुसार धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको छ । यस वर्ष धान उत्पादनमा भने करिब ६ दशमलव ९४ प्रतिशत र उत्पादकत्व ३.७९ प्रतिशतले बढेको छ ।

उत्पादन बढे पनि वार्षिक मागको धान उत्पादन करिब १० लाख टन अपुग नै छ । अपुग हुँदा अर्बौं रुपैयाँको धानचामल आयात भएको छ । पछिल्लो वर्षयता आयात घटे पनि पर्याप्त सुधार नभएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ५ अर्ब ७८ करोडको धान, चामल र कनिका आयात भएको थियो । ०७८/७९ मा आइपुग्दा आयात घटेर ४७ अर्ब ५७ करोडमा झरेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा १२ अर्ब ६५ करोडको आयात भएको छ । जब कि ०७८/७९ को मंसिरसम्म २० अर्ब ४९ करोडको धान र चामल आयात भएको थियो । ‘वार्षिक धान उत्पादन १० लाख टन अपुग भए पनि आयात स्टकमा निर्भर रहन्छ,’ वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले भने, ‘मौज्दात थोरै भए आयात बढ्न सक्छ, मौज्दात पर्याप्त भए आयात घट्छ ।’

मन्त्रालयका अनुसार यस वर्ष पनि सबैभन्दा बढी मधेसमा १३ लाख ८६ हजार ३ सय २८ टन धान उत्पादन भएको छ । यो परिमाण गत वर्षको तुलनामा ०.१८ प्रतिशतले बढी हो । मधेसमा ३ लाख ७५ हजार ३ सय ४० हेक्टरमा रोपाइँ भएको थियो । दोस्रोमा प्रदेश १ मा १३ लाख ३६ हजार ५७ टन उत्पादन भएको छ । यो परिमाण गत वर्षको तुलनामा ५.७२ प्रतिशतले बढी हो । प्रदेश १ मा ३ लाख ३२ हजार ६ सय १७ हेक्टरमा रोपाइँ भएको थियो । तेस्रोमा लुम्बिनीमा ११ लाख ५१ हजार ३ सय १३ टन धान फलेको छ । यहाँ ३ लाख ४ हजार १ सय ७ हेक्टरमा रोपाइँ भएको थियो । प्रतिशतका हिसाबमा भने सबैभन्दा बढी सुदूरपश्चिममा ५ लाख ८९ हजार २ सय २१ टन धान फलेको छ । गत वर्षको तुलनामा यो परिमाण ३३.३३ प्रतिशतले बढी हो ।

गत वर्ष सुदूरपश्चिममा ४ लाख ४१ हजार ९ सय १३ टन फलेको थियो । मन्त्रालयका अनुसार बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा उल्लेख्य क्षति भएपछि उत्पादन घटेको थियो । यस वर्ष सामान्यीकरण हुँदा उत्पादन उल्लेख रुपमा वृद्धि भएको प्रवक्ता सञ्जेलले बताए । सबैभन्दा कम भने कर्णालीमा प्रदेशमा १ लाख २५ हजार १ सय ४६ टन फलेको छ । यो परिमाण गत वर्षको तुलनामा ३.४६ प्रतिशतले बढी हो । कर्णालीमा ३८ हजार ९ सय १२ हेक्टरमा रोपाइँ भएको थियो ।

वाग्मती र गण्डकीमा भने उत्पादन घटेको छ । वाग्मतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ टनमा सीमित भएको छ । गण्डकीमा ३.७४ प्रतिशतले घटेर ३ लाख ९१ हजार १ सय २१ टन मात्रै उत्पादन भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान १३ प्रतिशत छ ।

प्रकाशित : पुस १५, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?