९ महिनादेखि साढे २९ सय सवारी भन्सारमै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
तरलता अभावको प्रभाव

९ महिनादेखि साढे २९ सय सवारी भन्सारमै

बैंकले ऋण सुविधा नदिएको र सोरुमका पनि बिक्री नभएकाले भन्सारबाट नयाँ गाडी जाँचपास गराउन नसकेको व्यवसायीको भनाइ
बैंकले फाइनान्स सुविधा दिनसाथ समस्या समाधान हुन्छ, सरकारलाई राजस्व पनि राम्रै उठ्छ : ध्रुव थापा, अध्यक्ष, नाडा
विमल खतिवडा

काठमाडौँ — बैंकहरूले ऋण प्रवाह गर्न छाडेका कारण ९ महिनायता साढे २९ सय सवारीसधान विभिन्न भन्सार नाकामा अड्किएर बसेका छन् । व्यवसायीले सोरुममा भएका सवारी बिक्री भएपछि मात्र भन्सारमा रोकिएका सवारी छुटाउने गरेका छन् । जसले गर्दा भन्सारमा धेरै संख्यामा सवारी रोकिएका हुन् ।

नेपालमा धेरै सवारी भित्रिने भन्सार नाकामा वीरगन्ज र भैरहवा पर्छन् । जसअनुसार भैरहवा नाकामा मात्रै पिकअप गाडी, जिप, स्कुल बस, कार र भ्यानसहित १ हजार ७७ थान साधन थन्किएका भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । ‘नयाँ सवारीसाधन भन्सारमा भित्रिरहन्छन् । अहिले पनि धेरै गाडी आएर बसेका छन्, जसमध्ये पिकअप गाडी धेरै संख्यामा छन्,’ उनले भने, ‘गाडी ल्याउने व्यवसायीसँग बुझ्दा बैंकले ऋण सुविधा नदिएकाले भन्सारमै थन्क्याएर राख्नुपरेको बताउने गरेका छन् ।’

यता, वीरगन्ज भन्सार कार्यालय प्रमुख नवराज ढुंगानाका अनुसार गाडीका च्यासिससहित १८ सय सवारीसाधनको भन्सार जाँचपास हुन बाँकी छ । जसमध्ये सयौं सवारी गत आर्थिक वर्षमै भन्सार ल्याइएका छन् । भन्सार कार्यालयको परिसर भरिएर व्यवस्थापन नै गर्न सकस पर्न गालेपछि भन्सार विभागले सम्बन्धित व्यवसायी र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई समेत पत्राचार गरेको छ । ‘भन्सार परिसरमा नयाँ–नयाँ गाडी देखिन्छन् तर जाँचपासका लागि कसैले कागजात पेस गर्दैनन्,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘किन जाँचपास नगरेको भन्दा न व्यवसायीले चासो दिएका छन् न नाडाले नै केही भनेको छ ।’

जाँचपासमा सहजीकरण र व्यवस्थापनका लागि छलफलमा बोलाए पनि नाडाले समय नदिएको उनले दाबी गरे । ‘तपाईंहरूको समस्या के हुन्, हामीले के सहजीकरण गर्न सक्छौं आउनुस् भन्दै पुस पहिलो साता चिठी पठाएका थियौं,’ उनले भने, ‘भन्सारमा ल्याएर लामो समयसम्म सवारीसाधन राखिदिँदा कार्यालयका अन्य कामसमेत प्रभावित हुने अवस्था छ ।’

भैरहवा र वीरगन्जबाहेक चीनबाट ल्याइएका सिन्धुपाल्चोकको तातोपानी भन्सारमा २० वटा र रसुवा भन्सारमा ७० वटा सवारी जाँचपास हुन बाँकी छन् । ती सवारी कार्यालय परिसरमा पार्किङ गरेर राखिएको पनि महिनौं भइसकेको रसुवा भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ‘म प्रमुख भएर आएको ३ महिना भयो । त्यसयता एउटा पनि नयाँ गाडी आएको छैन । यसअघि नै आएका ७० वटा गाडी अझै यहींको पार्किङमा छन्,’ उनले भने, ‘जसमा पिकअप भ्यान, विद्युतीय सवारीलगायत छन् ।’

नाडा अध्यक्ष ध्रुव थापा व्यावसायिक प्रयोजन (कमर्सियल) का लागि ल्याइएका सवारीसाधन मात्रै भन्सारमा रोकिएको बताउँछन् । पिकअप, बढी सिट क्षमताका जिप, बस, बसका च्यासिस, ट्रकलगायतको जाँचपास हुन नसकेको उनले स्विकारे । ‘बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङ भएन । पहिला अर्डर भएका गाडीहरू आइरहे पनि छुटाउन पैसा नहुँदा भन्सारमै रोकिएका हुन्,’ उनले भने, ‘छुटाउन गाडीको मूल्यभन्दा दोब्बर रकम भन्सारमा बुझाउनुपर्छ, त्यसका लागि व्यवसायीसँग पैसा भएन ।’

सुरुमा कम्पनीमा गाडी अर्डर गरिन्छ । त्यसपछि प्रतीत पत्र (एलसी) खोलिन्छ र उता कम्पनीले गाडी पठाउँछ । त्यसपछि भन्सारमा आएका गाडी जाँचपास गर्ने र सोरुममा भएका पनि बिक्री गर्ने गरिन्छ । ‘यसरी चक्रअनुसार गाडीको आयात र बिक्री गरिन्छ,’ उनले भने, ‘तर पहिला अर्डर गरेका, एलसी खोलेका सबै गाडी भन्सारमा थन्किएका छन् । सोरुममा भएका गाडी बिक्री भइसकेका छैनन्, जसले गर्दा भन्सारमा गाडीको संख्या धेरै भएको हो ।’

व्यवसायीले भन्सारमा गाडी पार्किङ गरेको शुल्क बुझाउनुपर्छ । पार्किङ शुल्कबापत दैनिक ५ रुपैयाँसम्म तिर्नुपर्ने उनले जनाए । बैंकले फाइनान्स सुविधा दिनासाथ यो समस्या समाधान हुने उनको दाबी छ । ‘समस्या समाधान हुनासाथ भन्सार जाँचपास गरेर गाडी धमाधम सोरुममा ल्याइनेछ,’ उनले भने, ‘सरकारलाई राजस्व पनि राम्रै उठ्नेछ ।’ उनका अनुसार नेपालमा खपत हुनेमध्ये सामान्यतया वीरगन्जबाट ६० प्रतिशत, भैरहवाबाट ३० प्रतिशत र अन्य नाकाबाट १० प्रतिशत गाडी भित्रिने गरेका छन् ।

प्रकाशित : पुस १३, २०७९ २२:४५
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा हिमआँधीबाट ज्यान गुमाउने ६२ जना

न्युयोर्क राज्यको बफेलो सहरमा मात्र २८ जनाको मृत्यु
एजेन्सी

न्युयोर्क — अमेरिकामा हिमआँधीका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । मृतकमध्ये सबैभन्दा बढी न्युयोर्क राज्यको बफेलो सहरका हुन् ।

उत्तर अमेरिकामा एक सातायताको घातक हिमआँधीका कारण जनजीवन निकै प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । अमेरिका र क्यानडाका अधिकांश क्षेत्रमा फैलिएको आँधीका कारण हजारौं मानिसहरू बिजुलीबिना नै बाँच्न बाध्य भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

इरी काउन्टीमा पर्ने बफेलो सहरमा मात्रै ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । मृतकमध्ये केहीको हिउँ हटाउने क्रममा हृदयाघात भएर ज्यान गएको अधिकारीहरूले जनाएका छन् । घर वरपर जमेको हिउँ सावेलले हटाउँदा ढाड दुख्ने र हृदयाघात हुन सक्ने भन्दै बफेलो सहरमा सूचनासमेत जारी गरिएको छ ।

क्रिसमसको समयमा हिउँमा फसेको र अलपत्र परेको घटना जीवनमा कहिल्यै बिर्सन नसक्ने कतिपयको भनाइ छ । आँधीका कारण अमेरिका ओहायो, मिजोरी, विस्कन्सिन, कान्सस र कोलोराडोमा पनि मानिसहरूको ज्यान गएको छ । छिमेकी देश क्यानडाका ओन्टारियो, कुबेक र ब्रिटिस कोलम्बिया राज्यमा पनि केही मानिसले ज्यान गुमाएका जनाइएको छ ।

न्युयोर्कको इरी काउन्टीका अधिकारीहरूले खोजी र उद्धार कार्य जारी रहेको र ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् । ‘सबै संख्या अझै समेटिएको जस्तो देखिँदैन,’ बफेलो सहरका मेयर बाइरोन ब्राउनले भने, ‘हामीलाई लाग्छ, इरी काउन्टीमा ज्यान गुमाउनेको संख्या बढी छ ।’ आँधीपछि करिब ५ हजार मानिसहरू उक्त क्षेत्रमा बिजुलीबिना नै बसेको ब्राउनको भनाइ छ ।

‘धेरैजसो स्थानीयले देखेको यो जीवनकालकै सबैभन्दा खराब अवस्था हो । हिमआँधी उत्कर्षमा रहेका बेला विद्युत् आपूर्ति बन्द भएपछि त्यहाँ २० हजारभन्दा बढी मानिस चिसोमा बस्न बाध्य भएका थिए ।

भारी हिमपातसँगै सवारीसाधन चलाउन प्रतिबन्ध गरिएको बफेलो सहरमा ट्राफिक व्यवस्थापन गर्नका लागि सैनिक प्रहरी खटाइएको अधिकारीहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । सहरमा आपत्कालीन अवस्थाको घोषणा गरिएसँगै कतिपय स्थानमा लुटपाट भएको जनाइएको छ ।

बफेलो सहरका प्रहरी आयुक्त जोसेफ ग्राग्मलियाले केही स्थानमा लुटपाट भएको र ४ जना पक्राउ परिसकेका जनाएका छन् । ‘उनीहरू खाना तथा औषधि चोर्नेहरू होइनन् । उनीहरूले टीभी, सोफा र जे भेटिन्छ त्यही चोरिरहेका छन् । पसलहरूमा क्षति पुर्‍याएका छन् । तिनीहरू अवसरवादी हुन्,’ उनले भने ।

हिमपात कम भएसँगै अधिकारीहरूले गाडीहरू हटाउन र बिजुली पुनः सञ्चालन गर्न सक्दा सहरको अवस्थामा सुधार भएको ब्राउनले बताए । तर उक्त क्षेत्रमा तापक्रम बढ्दा त्यसले हिउा पग्लिएर बाढीजस्ता थप समस्याहरू आउनसक्ने भन्दै अधिकारीहरूले चेतावनी दिएका छन् ।

हिमआँधीका कारण हजारौं उडानहरू रद्द भएका छन् । मंगलबार बिहान मात्रै ४ हजार ८ सय उडानहरू रद्द भएका छन् । जसका कारण देशभरका विमानस्थलमा हजारौं यात्रुहरू अलपत्र परेका छन् । एक सातापछि मंगलबार कम हिमपात भएको र मौसम केहि न्यानो भएको जनाइएको छ । जसका कारण सर्वसाधारणहरू मौसममा केही सुधार आउने अपेक्षामा रहेका छन् ।

हिमआँधीले सर्वसाधारणको दैनिकी निकै प्रभावित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यूयोर्क राज्यका लागि संघीय सहयोग दिने एउटा आपत्कालीन घोषणा अनुमोदन गरेका छन् । ‘बिदा मनाउने समयमा आफन्त गुमाउनेहरू प्रति मेरो सहानुभूति छ,’ बाइडेनले ट्वीटरमा लेखेका छन् । छिमेकी राज्य न्युजर्सीले पनि न्युयोर्कका लागि आपत्कालीन सामग्रीसहितको सेवा प्रदान गरेको छ ।

प्रकाशित : पुस १३, २०७९ २२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×