कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘अर्थतन्त्र सुधारमै सरकारको ध्यान’

काठमाडौँ — सरकारको ध्यान अर्थतन्त्रको सुधार गर्नमै केन्द्रित रहने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । नवगठित सरकारको प्राथमिकता अर्थतन्त्रको सुधार नै रहेकाले त्यसमा आश्वस्त हुन उनले सबैलाई आग्रह गरे ।

‘अर्थतन्त्र सुधारमै सरकारको ध्यान’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरूसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा प्रधानमन्त्री दाहालले भने, ‘सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै छ । यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नेछ ।’

प्रधानमन्त्री दाहालले निजी क्षेत्रका तर्फबाट यसअघि दिएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघ र परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याका रूपमा देखापरेको चालु पुँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन गर्न र तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सुझाव दिए । मुलुकको अर्थतन्त्र अतिसंवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा उनको जोड छ । संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा परिसंघले प्रधानमन्त्री दाहाललाई प्रदान गरेको थियो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । परिसंघका सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजानुपर्ने परिसंघ अध्यक्ष विष्णु अग्रवालले आग्रह गरे ।

मुलुकको अर्थतन्त्रका समस्या नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिबद्धता व्यक्त गरे । महासंघको टोलीसँगको भेटमा उनले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने विषयलाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनको भनाइ छ । ‘वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ’, उनले भने, ‘यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ ।’

निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै उनले सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘म तपाईंहरूको प्रतिनिधिका रूपमा समस्या समाधानका लागि काम गर्नेछु ।’ भेटमा महासंघका अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र अतिसंवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिए । अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उनले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने र लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गरे । अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्त्वलाई आफूले राम्रोसँग बुझेकाले उद्योग वाणिज्य महासंघको सुझावलाई गम्भीरतापूर्वक लिइएको गृहमन्त्री रवि लामिछानेले बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको पदाधिकारी टोलीले मंगलबार गृहमन्त्रीलाई समेत भेटेको छ । सीमा क्षेत्रबाट हुने अवैध आयात व्यापार नियन्त्रण गर्न पनि महासंघले गृहमन्त्रीसमक्ष आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस १३, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?