

रसुवा — झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुन: सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मंगलबार करिब ५० लाख नेपाली रुपैयाँबराबरको सामान निर्यात भएको छ । 'कोरोनाका कारण रोकिएको निर्यात आजदेखि खुलेको छ । मंगलबार बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ,' भण्डारीले बताए ।
कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।
प्रकाशित : पुस १२, २०७९ १७:४३