कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

बुद्ध र यतिले गरे पोखरा विमानस्थलमा ‘डेमो’ उडान

दीपक परियार

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन १० दिन बाँकी रहँदा बुद्ध एयर र यति एयरलाइन्सले बिहीबार प्रदर्शनी (डेमो) उडान गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको समन्वयमा साविकको विमानस्थलबाट नयाँ विमानस्थलमा बिहीबार दिउँसो यी दुई कम्पनीका एटीआर ७२ जहाजले सफल उडान भरेका हुन् । 

बुद्ध र यतिले गरे पोखरा विमानस्थलमा ‘डेमो’ उडान

उक्त प्रदर्शनी उडानमा पोखरा महानगरका मेयर धनराज आचार्यलगायत पर्यटन व्यवसायी, सञ्चारकर्मी सहभागी थिए । यसअघि एरो थाइ विमानले विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरेको थियो । उक्त क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आउन बाँकी छ । बिहीबार यतिले पहिलोपल्ट विमानस्थलमा ‘डेमोन्स्ट्रेसन’ र ‘फेमिलिअराइजेसन’ उडान गर्‍यो । त्यसलगत्तै बुद्धले उडान भरेको थियो ।

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमानस्थलको तर्फबाट सबै तयारी सकिएको बताए । सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउन कर्मचारी व्यवस्थापन, सुरक्षा, प्राविधिक तयारी सम्पूर्ण रुपमा तयार रहेको र क्यालिब्रेसनको प्रतिवेदनको पर्खाइमा रहेको उनले सुनाए । विमानस्थलमा थाई स्माइल, अल जजिरा, फ्लाई दुबई, हिमालय एयरलाइन्सलगायतले चासो देखाएको उनको भनाइ थियो । ‘विशेषगरी पर्यटकलाई नै लक्षित गरेर यो विमानस्थल सञ्चालन हुनेछ,’ उनले भने, ‘यहाँको प्रकृति, संस्कृति हेर्न आउने र धार्मिक पर्यटकलाई बढी भन्दा बढी यो विमानस्थले सेवा दिनेछ ।’

बुद्ध एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारसमा गर्न दिल्लीमा पत्रचार गरिसके पनि उताबाट जवाफ नआइसकेको बताए । ‘हामीले अनुमति पाएपछि जनवरी १ मा डेमोन्स्ट्रेसन फ्लाइट पोखराबाट बनारस गर्छौं,’ उनले भने, ‘त्यसपछि भने मार्च १ बाट नियमित उडान भर्छौं ।’ पोखराबाट भारतको दिल्ली र देहरादुन उडान भर्न बुद्ध एयरले गृहकार्य गरिरहेको उनले बताए ।

प्रकाशित : पुस ७, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?