कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लाइसेन्सको माग दैनिक ६ हजार, छापिन्छ ४४ सय मात्र

विमल खतिवडा

काठमाडौँ — सेवाग्राहीले लामो समयसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाउने अवस्था अझै हट्न सकेको छैन । राजस्व बुझाएको बिल बोकेर हिँड्नुपर्ने बाध्यता छ । नयाँ लाइसेन्स वा नवीकरणबापत सरकारलाई राजस्व बुझाएको वर्ष दिन भइसक्दा पनि लाइसेन्स हात पार्न नसकेको सेवाग्राहीको गुनासो छ ।

लाइसेन्सको माग दैनिक ६ हजार, छापिन्छ ४४ सय मात्र

यातायात व्यवस्था विभागले भने मागअनुसार लाइसेन्स प्रिन्ट गर्न नसकेकै कारण समयमै वितरण गर्न नसकेको जनाएको छ । अहिलेसम्म ३० लाख २१ हजार ८ सय ३१ थान लाइसेन्स प्रिन्ट गरेको र अझै ७ लाख थान प्रिन्ट गर्न बाँकी रहेको विभागको तथ्यांक छ ।

एउटा मात्र मेसिन भएकाले मागअनुसार लाइसेन्स प्रिन्ट गर्न नसकेको विभागको भनाइ छ । हाल उपलब्ध मेसिनबाट दिनमा ४४ सय थान कार्ड प्रिन्ट भइरहेको छ । माग भने दिनमै ५८ सयदेखि ६ हजारसम्म रहेको विभागका महानिर्देशक टोकराज पाण्डेय बताउँछन् । ‘अहिले मागअनुसार दिनमा १४ सयदेखि १६ सय लाइसेन्स प्रिन्ट गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसैले नयाँ मेसिन खरिदका लागि ठेक्का

आह्वान गरिसकिएको छ ।’ ३० दिनको समय दिएर ६ दिनअघि बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । पहिला गरिएको बोलपत्रमा प्राविधिक समस्या आएपछि पुनः बोलपत्र आह्वान गरिएको उनले बताए । नयाँ मेसिन आएपछि दैनिक ९ हजार कार्ड प्रिन्ट गर्न सकिने दाबी उनको छ । नयाँ मेसिनलाई करिब ९ करोड रुपैयाँ पर्ने जनाइएको छ ।

२ वटा मेसिन भएसँगै ८/८ घण्टा सेवा तोकेर ३ सत्रमा प्रिन्टको काम गर्ने विभागको योजना छ । ‘त्यसपछि ठूलो लक्ष्य केही हुने छैन, सके त्यही दिन दिने र नसके प्रक्रिया पूरा गर्नेको हातमा एक साताभित्रै स्मार्ट लाइसेन्स पुर्‍याउने छौं,’ उनले भने, ‘त्यहीअनुसार अहिले तयारी भइरहेको छ ।’ देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयहरूबाट माग भई आएको लाइसेन्स प्रिन्ट गरेर राखे पनि सम्बन्धित कार्यालयहरूले नलैजाँदा पनि सेवाग्राहीले समयमै हात पार्न नसकेको विभागको भनाइ छ ।

‘लाइसेन्सका लागि फाराम भराउने र ट्रायल लिने कामलाई कार्यालयहरू प्राथमिकता दिन्छन्,’ विभाग स्रोतले भन्यो, ‘तर प्रिन्ट भएर तयार लाइसेन्स समयमै लैजान चासो दिँदैनन् ।’ अहिले प्रिन्ट भएर तयार झन्डै एक लाख थान लाइसेन्स विभागमा थन्किएर बसेको छ । सम्बन्धित कार्यालयले पठाउन भनेपछि हुलाकमार्फत पठाउने गरिएको विभागले जनाएको छ ।

‘२ वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउनुको मुख्य कारण नै यही हो,’ विभाग स्रोतले भन्यो । निकट भविष्यमा सातै प्रदेशमा लाइसेन्स प्रिन्ट गर्ने मेसिन राखेर वितरणलाई सहज बनाउने योजनामा रहेको महानिर्देशक पाण्डेय बताउँछन् ।

विभागले थप १४ लाख कार्ड खरिद गरेको पनि जनाएको छ । ‘अबको एक महिनाभित्र यो कार्ड आइपुग्नेछ । त्यसपछि कार्ड नभएर लाइसेन्स प्रिन्ट भएन भन्ने समस्या समाधान हुनेछ,’ उनले भने । यसअघि विभागले पुराना सबै लाइसेन्स वैशाखभित्र वितरण गरेर जेठबाट नयाँ आवेदन खुलाउने बताएको थियो । तर, अहिलेसम्म सेवाग्राहीले सहज रूपमा लाइसेन्स पाउन सकेका छैनन् । सन् २०२२ को सुरुमा फाराम भरिएको लाइसेन्स अझै प्रिन्ट भइसकेको छैन । ‘लाइसेन्स मागअनुसार प्रिन्ट नै गर्न सकिएको छैन,’ विभागका एक प्राविधिक कर्मचारीले भने, ‘एउटा मेसिनको मात्र भर पर्नुपर्दा समस्या भएको हो । जति छिटो नयाँ मेसिन आउँछ, त्यति नैचाँडो लाइसेन्स प्रिन्टको लोडघट्दै जान्छ ।’

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरू नयाँ लाइसेन्स भने क्यूआर कोडसहितको एक वर्ष म्यादको हुने बताउँछन् । एक वर्षमा ५ पटकभन्दा कम गल्ती गरेको पाइए मात्र सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउनेछन् । ‘एउटा मेसिन छ, चौबिसै घण्टा लाइसेन्स प्रिन्ट गरे पनि माग पूरा गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले नयाँ मेसिन थप्नासाथ लाइसेन्स वितरणमा अहिले देखिएको सबै समस्या समाधान हुनेछ ।’

लाइसेन्सका लागि आवेदन दिएर परीक्षाका लागि नै महिनौं/वर्षौं कुर्नुपर्ने बाध्यता भने हटेको उनले दाबी गरे । ‘आवेदन दिएको १५ दिनभित्र लिखित परीक्षादेखि ट्रायल दिने समय पाइनेछ,’ उनले भने, ‘त्यसपछि प्रक्रिया पूरा गर्नासाथ नयाँ लाइसेन्स छपाइमा जानेछ ।’

प्रकाशित : पुस ७, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×