कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सटिक जवाफ खोज्न 'च्याटजीपीटी'को प्रयोग, एक सातामै १० लाख फलोअर्स

एजेन्सी

काठमाडौँ — मान्छेसँग च्याट गर्नेदेखि कविता, चुट्किला, निबन्ध, टेलिभिजनका स्क्रिप्ट र कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स बट च्याटजीपीटी अहिले निकै चर्चामा छ । यो बट सार्वजनिक भएको एक हप्ताभन्दा कम अवधिमै १० लाख फलोअर्स जम्मा भएका थिए । मान्छेले सोधेका प्रश्नको सटिक र रोचक जवाफ दिने मात्रै नभएर दिइएका विषयमा कविता, निबन्ध र गीतहरू पनि लेखिदिने भएकाले यसका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।

सटिक जवाफ खोज्न 'च्याटजीपीटी'को प्रयोग, एक सातामै १० लाख फलोअर्स

कतिपय प्रयोगकर्ताले डेटिङ एपमा आफूले मनपराएको व्यक्तिलाई सन्देश पठाउन च्याटजीपीटीको प्रयोग गरिरहेको पाइएको छ । चर्चित डेटिङ एप, टिन्डरमा एक–अर्कालाई मन पराएपछि (राइट स्वाइप गरेपछि) कतिपयले च्याटजीपीटीलाई ‘पहिलो सन्देश के लेख्ने ?’ भनी प्रश्न सोध्ने गरेका छन् । अर्को व्यक्तिका रुचीहरू च्याटजीपीटीलाई उल्लेख गरेपछि उक्त बटले ‘संवाद यसरी सुरु गर’ भनी सुझाव दिने गरेको छ । ती सुझाव कपी पेस्ट गर्दा अर्को व्यक्ति प्रभावित हुने गरेको प्रयोगकर्ताको अनुभव छ ।

हालै एक टिन्डर प्रयोगकर्ताले च्याटजीपीटीलाई ६ फिट अग्ली युवतीका लागि कविता लेख्न लगाइ उक्त कविता आफूले कुराकानी गरिरहेकी तिनै युवतीलाई पठाएका रहेछन् । आफ्ना लागि कहिल्यै कुनै युवकले कविता नलेखेको भन्दै ती युवती निकै भावुक भएको युवकले बताएका छन् । उनले यसबारे टिकटकमा भिडियो नै बनाएर ‘यो (च्याटजीपीटी) नै टिन्डरको भविष्य हो’ भन्ने क्याप्सन लेखेका छन् । च्याटजीपीटीलाई विषयवस्तु दिई कविता, लेख, गीत लगाउने र त्यो आफ्ना प्रेमीलाई पठाउँदा त्यसले मन जित्न सघाइरहेको कतिपय प्रयोगकर्ताहरूको अनुभव छ ।

तर यसले नैतिक प्रश्न खडा गर्ने जानकारहरू बताउँछन् । आफ्ना लागि पठाइएको सन्देश एआईले लेखेको हो भन्नेबारे थाहा पाए टिन्डर म्याचले कस्तो महसुस गर्लान् ? तिनले पनि च्याटजीपीटीले नै लेखेको म्यासेज पठाएका रहेछन् भने त्यसरी जोडिएको सम्बन्धको के अर्थ होला ? वा, त्यसले फरक पार्ला ? यी प्रश्नको जवाफ दिन अहिले सहज छैन तर अबका दिनमा हाम्रो जीवनमा एआई अझै जोडिने निश्चित छ । यसलाई अधिक शक्तिशाली बनाइयो कि भन्नेबारे पनि कतिपयले प्रश्न गर्ने गरेका छन् ।

अमेरिकाको सानफ्रान्सिस्कोमा इलन मस्कले स्थापना गरेको कम्पनी ओपन एआईले बनाएको च्याटजीपीटी नोभेम्बर ३० मा सार्वजनिक गरिएको थियो । यसमा प्रयोगकर्ताले कविता, गीत लेख्न मात्रै नभएर कतिपयले बम बनाउने तरिकादेखि चोर्ने काइदाबारे पनि सोध्ने र सिक्ने गरेको जानकारहरूको दाबी छ । यसले गुगलजस्ता सर्च इन्जिनलाई चुनौती दिनसक्ने कतिपयको अनुमान छ । यसमा भएका सबै कन्टेन्ट (लेख, तस्बीर, चित्र, भिडियो आदि) इन्टरनेटबाटै लिइएका हुनाले तिनको आधिकारिता र कपिराइटका विषयमा पनि विज्ञहरूले प्रश्न गरिरहेका छन् ।

प्रकाशित : पुस ४, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×