अलैंचीले मजदुर खर्च उठाउनै धौ

आनन्द गौतम

ताप्लेजुङ — दुई दशकदेखि अलैंची खेती गरिरहेका फुङलिङ नगरपालिका–६ का भीमबहादुर गुरुङलाई असोज–कात्तिकमा मजदुर खोज्नै संकट हुन्छ । अलैंची बगानमा सरसफाइ गरेर फसल टिप्ने यो सिजनमा उनलाई कम्तीमा २ सयदेखि २ सय ५० जनशक्ति आवश्यक पर्छ । यति बेला बगान पन्छाउने, अलैंचीको थुँगा टिप्ने, छोडाउने र भट्टी लगाएर सुकाउनुपर्छ । तर मजदुर जनशक्ति बन्दोबस्तीका लागि उनले गाउँ–गाउँ चहार्नुपर्छ । सदरमुकाममा डेरा बसेर पढ्नेलाई अनुकूल हुने गरी बिहान, दिउँसो वा बेलुका छोडाउनका लागि प्रयोग गर्छन् । यति गरेर पनि बाली भित्र्याउन उनलाई हम्मे पर्छ ।

सदरमुकाम फुङलिङमा अक्सफोर्ड आवासीय माध्यमिक विद्यालयका सञ्चालक गणेश सिग्देलको समस्या पनि उस्तै हो । विद्यालयबाट झन्डै एक महिना बिदा लिएर उनी बर्सेनि गाउँको बगानमा पुग्छन् । फक्ताङलुङ गाउँपालिका–५ इखावुको संसाबुको बगानमा टेन्ट टाँगेर बस्छन् । कामदारको खोजीमा उनी सावादिन, खेजेनिमलगायत गाउँसम्म पुग्छन् । त्यसले मात्रै नपुगेर तेह्रथुम, पाँचथर, संखुवासभालगायत जिल्लासम्म पनि सम्पर्क गर्छन् ।

यो अलैंचीको घट्दो मूल्यले निम्त्याएको समस्या हो । नौ वर्षअघि हरेक मजदुरलाई दैनिक एक हजार रुपैयाँ ज्याला दिने अलैंची उत्पादकलाई अहिले पाँच सय रुपैयाँ बेहोर्न पनि हम्मे छ । ‘मैले ८० देखि ९५ हजार रुपैयाँ प्रतिमनले बेचेको थिएँ,’ गुरुङले भने, ‘अहिले २५ हजार रुपैयाँमा झरेको छ ।’ टिप्ने काममा महिला–पुरुष ज्याला समान छ । रातभरि बस्नुपर्ने भएकाले भट्टी लगाउनेलाई बढी दिनुपर्ने सिग्देल बताउँछन् । छोडाउनेलाई ढाकीमा छोडाएअनुसारको ज्याला दिन थालिएको उनले जनाए ।

अलैंचीको मूल्य मनको १ लाख २० हजारसम्म पुग्दा गाउँबाट विदेश जाने क्रम रोकिन थालेको थियो । साउनदेखि कात्तिक अन्तिमसम्म टिप्ने र छोडाउने काम पाउँथे । लगातार मूल्य घटेपछि अलैंचीको आम्दानीबाट परिवार चल्छ भन्ने भर नभएर बेरोजगार स्थानीय गाउँमा बस्न छोडेको अलैंची जोनका अध्यक्ष बालमणि बराल बताउँछन् । ‘उत्पादकले पनि उत्पादन भएअनुसारको पारिश्रमिक दिने हो,’ उनले भने, ‘फाइदा छैन भनेर खेती छाड्ने क्रम बढेको छ, त्यसबाट आम्दानी हुन्छ भनेर कसरी भर परेर जनशक्ति गाउँमा टिक्नु र !’ अहिले किसानले नै स्याहारमा कम चासो दिन थालेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाको भनाइ छ । ‘मूल्य घटे पनि उत्पादन बढाए लाभ हुने थियो,’ उनले भने, ‘माटो परीक्षण, कृषि परामर्शका लागि वार्षिक ८/१० जना किसान पनि आउँदैनन् ।’ कृषि ज्ञान केन्द्र, अलैंची जोन, गाउँपालिका तथा नगरपालिकाका प्राविधिकबीच समन्वय नभएका कारण पनि अलैंची खेतीमा समस्या रहेको किसानहरूले जनाए । ‘एकै जिल्लाका यी तीन निकायबीच समन्वय भएको पाइँदैन,’ गुरुङले भने । कसैले अनुदान, कसैले भट्टी, कसैले पञ्जालगायतका सामग्री वितरण गरिरहँदा आआफ्नै तरिका रहेको पाइन्छ ।

मूल्य पर्खन अलैंची भण्डारण गर्न सक्नुपर्छ । अहिलेसम्म किसानले आफ्नै घरमा र धेरैजसो भण्डारण सदरमुकामका गोदाममा व्यापारीले गर्छन् । ती भण्डारण गृह पनि गुणस्तरीय छैनन् । लामो समय राखे ढुसी लाग्ने जस्ता समस्या देखिन्छन् । ‘हामीले सदरमुकाममा ५/७ रोपनी जग्गा पाए जिल्लाभरिको अलैंची भण्डारण गर्न मिल्ने भण्डार गृह बनाउने सम्बद्ध निकायहरूसँग प्रस्ताव गरेका हौं,’ बरालले भने, ‘तर सुरक्षित स्थानको भण्डारण गृह पनि बनाउन सकिएको छैन ।’ राम्रो भण्डारण गृह भए पुच्छर काट्ने, ठूलो र सानो दाना छुट्याएर ग्रेडिङ गर्ने काम जिल्लामा हुने थियो । यसले पनि रोजगारीको अवसर प्रदान गर्ने उनको बुझाइ छ ।

प्रकाशित : पुस ४, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्रतियोगितामा कसले के भने ?

एएफपी

दोहा — फ्रान्सेली समाचार संस्था एएफसीले कतार विश्वकपका यस्ता केही भनाइ उल्लेखनीय मानेका छन्, जसको उल्लेखविना प्रतियोगिताको चर्चा अधुरो हुनेछ ।

‘आफ्नो फोन झिक्नु र इच्छा छ भने उनीसँग फोटो खिच्नु ।’

– अर्जेन्टिनाका खेलाडी लियोनल मेसीलाई लिएर आफ्ना खेलाडीप्रति साउदी प्रशिक्षक हार्भे रेनार्डको सुझाव । उनले हाफटाइममा यस्तो भनेका थिए, सायद यस भनाइले साउदी खेलाडी अभिप्रेरित भएको हुनुपर्छ, त्यसैले टिमले अपूर्व जित निकालेको थियो ।

‘सबैले फ्रान्स नै बलियो भन्छन्, तर हामीसँग विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी रहेको छ ।’

– अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले टिमका प्रमुख खेलाडी मेसीको प्रशंसा गर्दै भनेका थिए ।

‘आज मैले आफूलाई कतारी महसुस गरिरहेको छु । अरबी, अफ्रिकी, समलिंगी, फरक क्षमता भएका र आप्रवासी कामदार भएको पनि महसुस गरिरहेको छु ।’

– विश्वकपको सुरुआती प्रेस कन्फ्रेन्समा बोल्दै फिफाका अध्यक्ष जियानी इन्फाटिनो ।

‘अहिले यस्तो छलफलको कुनै अर्थ छैन । यो विवादलाई अहिले नै रोक्न आवश्यक छ । यो समय क्रिस्टियानो रोनाल्डोलाई एक्लै छाडे राम्रो । हामी सबैलाई थाहा छ, पोर्चुगाली फुटबलमा उनको योगदान कति धेरै छ भनेर ।’

– पोर्चुगाली प्रशिक्षक फर्नान्डो सान्तोष आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबाट उठेको विवाद छलेर आफ्नो धारणा राख्दै ।

‘जतिबेला रक्की सिनेमा हेरिन्छ, सबैलाई रक्की बोलबोआ मनपर्ने हुन्छ, किनभने उनी निकै परिश्रमी छन् । उनी पूर्णतः समर्पित पनि छन् । खासमा यस विश्वकपका हामी रक्की हौं ।’

– मोरक्को प्रशिक्षक वालिद रेग्रागुइ आफ्नो टिममाथि रहेको ‘अन्डरडग’ छविबारे बोल्दै ।

‘यो मेरोबाट भएको भुल होइन, किनभने म पेनाल्टीबाट गोल गर्न चुकेको होइन ।’

– उरुग्वेली भेट्रान खेलाडी लुइस स्वारेज सन् २०१० को विश्वकपको घानाविरुद्धको खेलबारे चर्चा गर्दै । त्यस विश्वकपमा उनले घानाको निश्चित गोल अवसरमा बललाई हातले रोकेका थिए । यसलाई विश्वकप इतिहासमै कुख्यात घटना मानिएको छ ।

‘हाम्रो कुनै सम्भावना नै छैन । हाम्रो बलियो सम्भावना त सन् २०१८ को विश्वकपमा मात्रै हो । हामीसँगै पक्कै पनि बलियो टिम रहेको छ, तर यसका खेलाडी लगभग सबै बुढा भइसके ।’

– बेल्जियमका जादुयी खेलाडी केभिन डी ब्रुयन यस विश्वकपमा आफ्नो टिमको सम्भावनाबारे सुरुमै बोल्दै ।

‘हामी कतानिर चुक्यौं त ? हाम्रो आक्रमण पनि निकै खराब रह्यो । यस्तो किनभन्दा हामी वास्तवमै बुढा खेलाडीको समूह रह्यौं । अब त यो तथ्य प्रमाणित भएको छ ।’

– बेल्जियमका भेट्रान डिफेन्डर यान भेर्टोघन मोरक्कोविरुद्धको खेलमा पराजित भएपछि केभिन डी ब्रुयनलाई इंगित गर्दै बोल्दै ।

‘कसैले पनि मानवअधिकारबारे बोल्न सक्छ । कसैले पनि रंगभेद, बाल मृत्युदर, स्कुलमा गोली हानाहानबारे बोल्न सक्छ । हामी सबैको यी तथ्यमा एकबद्धता छ । तर हामी यहाँ ९० मिनेट खेलेर कसैको पनि अनुहारमा खुसी ल्याउने उद्देश्यमा छौं ।’

– इरानी प्रशिक्षक कार्लोस क्विरेज अमेरिकाविरुद्धको खेलबारे बोल्दै ।

‘म शारीरिक रूपमा पूर्णतः ध्वस्त जस्तै भएको छु । यो हारले म निकै दुखित छु । खेल सकेको १० मिनेटसम्म त म चल्नै सकिनँ, पक्षघात भएको अनुभव भएको थियो । त्यसपछि त मैले आफूलाई रोक्नै सकिनँ, आँसु झरिरहे ।’

– क्रोएसियाविरुद्धको खेल गुमाएपछि ब्राजिलका नेयमर प्रतिक्रिया दिँदै ।

‘अहिले जे भएको छ, त्यसले मलाई हरर सिनेमा हेरेजस्तै अनुभव भयो ।’

– जर्मनी खेलाडी काइ हाभर्टेज आफ्नो टिम समूह चरणबाटै बाहिरिएपछि ।

प्रकाशित : पुस ४, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×