कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौँ — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग तथा स्थानीयलाई आवश्यक पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । 

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टिल, सिमन्ट लगायतका उद्योगहरू तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् पाएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टिल लगायतका ठूला उद्योग र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताए । ‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिादा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताबाट पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुनेजस्ता गुनासाहरु आउने गरेका थिए, बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै बुटवल सबस्टेसनको चाप घटेको छ । सबस्टेसनमा १३२/३३, ६३ एमभीएका दुई वटा र १३२/११ केभी, २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर छ । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरुमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ । ३३ केभीका तीन वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टिलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका निर्देशक नवराज ओझाले बताए ।

अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरु निर्माणाधीन छन् । औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।


प्रकाशित : पुस ३, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?