कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फोटो फिचर

सिन्धुलीमा लटरम्मै जुनार

सिन्धुली — कमलामाई नगरपालिका–३ भोटेछापका किसान जुद्धबहादुर राईको जुनार बगैंचा यतिखेर पहेंलपुर छ । जुनार पाकेर टिप्ने बेलामा बगैंचा पहेंलपुर भएर सुनजस्तै टल्कन्छ । मंसिरको दोस्रो साताबाट माघ महिनासम्म जुनार पाक्ने सिजन हो । किसान राईको १६ रोपनीमा ५ सय बोट जुनार बगैंचा छ ।

सिन्धुलीमा लटरम्मै जुनार

ती बोटमा लटरम्म फलेको जुनारले गर्दा भोटेछापको पाखाबारीहरु पहेंलपुर देखिन्छ । जुनारमा लाग्ने रोग नियन्त्रणमा आएकाले यो वर्ष राईको बगैंचामा जुनार उत्पादन बढ्ने भएको छ । सिन्धुलीगढीबाट आड–जलकन्या–मझुवा सडक हुँदै सहायक मार्गबाट भोटेछाप पुगिन्छ । भर्खरै सडकको ट्रयाक खुलेकाले ट्याक्टर बाहेक अन्य सवारी साधन बगैंचा क्षेत्रमा पुग्दैनन् ।

जुनारमा प्रकोपको रुपमा देखिएको औसा किरा (ब्याक्टोसेरा मिनाक्स) यो वर्ष नियन्त्रणमा आएकाले किसानहरु दंग छन् । ‘यतिखेर मेरो बगैंचामा ५ सय बोट जुनार पाकेर बिक्रीयोग्य भएको छ, राईले भने, ‘गत वर्ष १४ मेट्रिक टन उत्पादन हुँदा करिब सात लाख आम्दानी लिएको थिएँ, यो वर्ष २० टन जति उत्पादन भएकोले आम्दानी पनि १० लाख रुपैयाँ लिने अनुमान गरेको छु ।’

उनका बगैंचाबाट यो वर्ष जुनार बिक्री भएको छैन । जुनार खरिद गर्न दैनिक बगैंचामा नै व्यापारी पुग्ने गरेकोमा भाउ नमिलेकाले बिक्री नभएको हो । ‘व्यापारीले प्रतिकेजी ५५ रुपैयाँमा जुनार खोजेका छन्, मैले ७० रुपैयाँभन्दा तल झर्दिनँ भनेको छु’, उनले भने, ‘व्यापारीले किसानसँग गरेको मूल्यभन्दा झण्डै दोब्बरले उपभोक्तालाई बिक्री गरिरहेका छन् ।’ उपभोक्ताले बजारमा व्यापारीसँग जुनारको खरिद गर्दा प्रति केजी ९० देखि १ सय रुपैयाँसम्म पर्नेछ ।

यस क्षेत्रमा जुनार बिक्रीबाट बर्सेनि १ घर किसानले २ देखि २० लाखसम्म आम्दानी लिने गरेको स्थानीयको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन प्रमुख रमेश हुमागाईंका अनुसार जुनार बढाउने, जुनार सुन्तला जोगाउने र जुनारबाट कमाउने गरी तीन वटा कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सिन्धुलीमा ७ हजार टन जुनार उत्पादन हुने अनुमान गरिएकोसुपर जोनले जनाएको छ । उत्पादन भएको फलमध्ये हालसम्म ४० प्रतिशत किसानले बिक्री गरिसकेको र समग्र उत्पादनबाट किसानले ३३ करोड आम्दानी लिने आंकलन गरिएको छ । स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा जुनार खेतीका लागि पकेट क्षेत्र बनेका छन् ।


प्रकाशित : पुस १, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?