सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरियो : मन्त्री श्रेष्ठ

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरियो : मन्त्री श्रेष्ठ

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयले काठमाडौंमा बिहीबार आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीमा भएको समस्याभन्दा बढी समस्या जस्तो बनाएर प्रचार गरिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले समस्यामा आएका सहकारी औंलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् रहेको बताए ।

मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको दाबी गरिन् । उनले सहकारीमा आएको समस्या एकाध सहरमा र सहरउन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावनाअनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएको स्पष्ट पारिन् ।

‘आज हाम्रो देशमा आएको सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरेको छ । भएको भन्दा अझ बढी प्रचार गरेको छ । हाम्रोमा करिब ३० हजारको हाराहारीमा सहकारी छ । सबभन्दा धेरै स्थानीय तह, त्यसपछि प्रदेश र संघमा छ,' उनले भनिन् ।

मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यक्ता भएको बताइन् । उनले भनिन्- ‘सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरेर राष्ट्रको संवाहक शक्तिको रुपमा रहेको युवा शक्तिलाई यहीँ नै उपयोग गर्नुपर्छ । हाम्रो मुलुक बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको छ । धेरै ढिलो भइसकेको छ । समयमा नै हामीले विचार नगर्ने हो भने बुढाबुढी तलवितल भएको उठाउने युवाहरु हुँदैनन् । यो किन भयो यसको चुरो कारण पत्ता लगाएर सही समाधान खोज्नुपर्छ । ’

प्रकाशित : मंसिर २९, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?