१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अमेरिकी केन्द्रीय बैंक 'फेड'ले फेरि बढायो ब्याजदर 

एजेन्सी

काठमाडौँ — अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड)ले फेरि सन्दर्भ ब्याजदर बढाएको छ । फेडरल खुला बजार समितिले सन्दर्भ ब्याजदर अर्थात बेन्चमार्क दरलाई ०.५० प्रतिशत बिन्दुले वृद्धि गरेको हो । अब नयाँ सन्दर्भ ब्याजदर ४.२५ देखि ४.५० प्रतिशतसम्म पुगेको छ ।

अमेरिकी केन्द्रीय बैंक 'फेड'ले फेरि बढायो ब्याजदर 

सन् २०२२ मा फेडले योसहित ६ पटक ब्याजदर वृद्धि गरेको छ । अमेरिकामा यो सन्दर्भ ब्याजदर सन् १९८० यताकै उच्च हो । नीति निर्माताले अर्को वर्ष यस्तो दर ५.१ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । अमेरिकी ब्याजदरले सुनचाँदी, कच्चा तेल तथा अमेरिकामा उत्पादित वस्तुको मूल्यमा समेत असर पार्ने भएकाले समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्दछ । मूल्यवृद्धिलाई वार्षिक २ प्रतिशतमा कायम राख्ने लक्ष्यअनुरुप सन्दर्भ ब्याजदर बढाउँदै जाने संकेत फेडले गरेको छ । सन्दर्भ ब्याजदरले नै अमेरिकामा उपभोक्ताले लिने जुनसुकै ऋण, ओभरड्राफ्टको दर बढाउने छ । जसले गर्दा घर, सवारीसाधन वा व्यापारिक ऋणमा लागत बढ्न जानेछ ।

यस्तो ब्याजदर बढ्दा उपभोक्ताले ऋण लिएर खर्च नगर्ने, घर तथा सवारीसाधनको खरिदमा मितव्ययिता अपनाइने भएकाले समग्रमा तिनको माग घट्न गई मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुग्ने फेडको दाबी छ । यसअघिको सन्दर्भ ब्याजदर वृद्धिले मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न सघाउ पुगेको समेत फेडका अध्यक्ष जेरोम एच पावेलले बताएका छन् ।

प्रकाशित : मंसिर २९, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?