कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बैंकहरूले पुसमा पनि निक्षेपको ब्याज नबढाउने

काठमाडौँ — वाणिज्य बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । सोमबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो । गत कात्तिकदेखि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज बढाएका छैनन् ।

बैंकहरूले पुसमा पनि निक्षेपको ब्याज नबढाउने

‘पुसका लागि पनि बैंकहरूले मंसिरकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय भएको छ,’ नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार उपाध्यायले भने, ‘ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राखिएको हो ।’ पुसमा तरलताको अवस्था कस्तो हुन्छ त्यसका आधारमा माघमा ब्याजदर बढाउने वा घटाउने भन्ने निर्णय हुने पनि उनले जानकारी दिए ।

पछिल्लो समय ब्याजदर बढी भयो भन्दै उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । निजी क्षेत्रका केही जिल्ला संघसंस्थाले आन्दोलनका कार्यक्रम पनि घोषणा गरिसकेका छन् । यही समयमा बैंकहरूले निक्षेपको ब्याज नबढाउने निर्णय गरेका छन् । ६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशित गरेका बैंकहरूले मंसिर र पुसमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् । जसअनुसार अब बैंकहरूले पुसका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । त्यस्तै पुसमा पनि एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत कायम हुनेछ । व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिने बैंकले बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज दिनुपर्नेछ ।

गत चैतदेखि भदौसम्म वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।

प्रकाशित : मंसिर २७, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×