३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संकटमा ओयो रुम्स, नेपालमा पनि सेवा लगभग ठप्प

किफायती मूल्यमा सुदृढ आतिथ्य प्रदान गर्ने चर्चाकै कारण स्थापनाको ७ वर्षभित्रै ८० मुलुकका ८ सयसहरमा सेवा विस्तार तर कोभिड महामारीयता लगातार गिर्दै साख र मुनाफा
सन् २०१९ मै नेपालभर ५ सयभन्दा धेरै होटलमा चेन विस्तार गरेको बताइएकोमा अहिले उपत्यकाका ३४ वटामा मात्रै सेवा उपलब्ध
सजना बराल

काठमाडौँ — भारतको सबैभन्दा ठूलो र विश्वको तेस्रो ठूलो होटल सञ्जाल ओयो रुम्स पछिल्ला दिनमा लगातार घाटामा गएका समाचार आइरहेका बेला कम्पनीले ६ सय कर्मचारी कटौती गर्नेबारेको सूचना हालै सार्वजनिक गरेको छ ।

संकटमा ओयो रुम्स, नेपालमा पनि सेवा लगभग ठप्प

ओयोले कम्पनीको पुनःसंरचनाका क्रममा कर्पोरेट र प्रविधि शाखाका कर्मचारी कटौती गर्ने विषयमा शनिबार सूचना जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्पनीमा आबद्ध ३७ सय कर्मचारीमध्ये १० प्रतिशत कटौती गर्न लागेको ओयोले २ सय ५० जना नयाँ कर्मचारी थप्ने पनि बताएको छ ।

रोयटर्सका अनुसार ओयोले प्रोडक्ट र इन्जिनियरिङ विभागलाई एक बनाउन लागेको छ । सन् २०२१ मा कम्पनीले आईपीओका लागि भारतको धितोपत्र नियामक सेक्युरिटी बोर्ड अफ इन्डिया (सेबी) मा वित्तीय कागजात पेस गरेको थियो । तर, कोभिड महामारी र नाजुक बजार अवस्थाका कारण कम्पनीले आईपीओ सूचीकरण योजना स्थगन गरेको रोयटर्सको समाचारमा उल्लेख छ । सफ्ट बैंक समूह, माइक्रोसफ्टलगायत कम्पनीको समेत लगानी रहेको ओयो होटल्स एन्ड होम्स प्रालिले पछिल्ला वर्षमा चीन र संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन बन्द गरिसकेको छ । नेपाललगायत अन्य देशमा पनि पहिले जस्तो उत्साहजनक उपस्थिति छैन । भारत, दक्षिणपूर्वी एसिया र युरोपमा भने बजार विस्तारको योजना बनाएको बताइन्छ ।

मध्यमस्तरका होटलहरूको भौतिक अवस्थादेखि सेवा सुविधामा समेत स्तरोन्नति गरी निश्चित मापदण्डअनुरुप किफायती मूल्यमा सुदृढ आतिथ्य सेवा प्रदान गरेर चर्चामा आएको ओयो होटल्स कोभिड महामारीयता समस्यामा परेको हो । हुन त त्यसअघिदेखि नै ओयो विवाद र संकटले घेरिन सुरु भएको थियो । कम्पनीले होटल सञ्चालकलाई ठगेको, आम्दानी पारदर्शी नबनाएको, बक्यौता नतिरेको, ३० प्रतिशत फ्रेन्चाइजी शुल्कभन्दा अतिरिक्त महसुल संकलन गरेकोलगायत आरोप ओयोमाथि लागेको थियो । यसबारे एक होटल सञ्चालकले ओयोका संस्थापक रितेश अग्रवालविरुद्ध मुद्दा नै दर्ता गराएका थिए । सन् २०२० मा भारतको आयकर विभागले गुरुग्रामस्थित ओयोको मुख्यालयमा अनुसन्धानसमेत गरेको थियो । यससँगै ओयो रुम्समै एक राष्ट्रिय खेलाडी मृत फेला परेकोलगायत खबरले पनि ओयोलाई निरन्तर घाटामा धकेल्यो ।

हस्पिटालिटी र ट्राभल टेकसम्बन्धी यस कम्पनीले सन् २०१७ मा नेपालमा पनि सेवा विस्तार गरेको थियो । काठमाडौंको सानो गौचरनस्थित होटल प्रिन्स प्लाजाबाट सेवा सुरु गरेको ओयोले सन् २०१९ मा आइपुग्दा ५ सय होटलसँग समझदारी गरेको नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले त्यसको एक वर्षमा नेपालका १ हजार वटा होटललाई ओयोअन्तर्गत ल्याउने लक्ष्य लिएको थियो । त्यसको केही महिनापछि ओयोले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीमा आफ्नो चेन विस्तार गरेको थियो । हाल होटल प्रिन्स प्लाजामा ओयोको बोर्ड राखिए पनि होटलले ओयोसँगकोसम्झौता भने रद्द गरिसकेको छ ।

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको र ओयो एपमार्फत होटल बुकिङ गर्नेहरू धेरै भएकाले अन्य सहरका होटलसँग सहकार्य गर्ने इच्छा भएको ओयोका संस्थापक अग्रवालले सन् २०१९ मै बताएका थिए । नेपालमा स्थानीय ग्राहक, भारतीय र चिनियाँ पर्यटकले ओयो होटल रोज्ने गरेको उनको भनाइ थियो । ओयो होटलका कोठाको मूल्य ९ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म थियो । त्यसबेला ओयोका ४५ कर्मचारी नेपालमा थिए । कोभिड महामारी सुरु भएपछि ओयोले नेपालमा अलपत्र परेका पर्यटकलाई निःशुल्क आवासीय सुविधा दिने घोषणा गरेको थियो ।

कोभिड महामारी रोकथामका लागि लगाइएको लकडाउन लम्बिँदै गएपछि ओयोको सञ्जाल रहेका नेपाललगायत कतिपय देशमा मझौला स्तरका होटल बन्द भएको र ओयोकै व्यवस्थापकीय समस्याले गर्दा यसको सञ्जाल साँघुरिँदै गएको बताइन्छ । हाल नेपालमा काठमाडौंका एकाध होटलमा मात्रै ओयो सञ्चालनमा रहेको नेपालका लागि ओयोका कन्ट्री हेड नीतिश यादवको भनाइ छ । ‘अहिले काठमाडौं उपत्यकाका ३४ वटा होटलमा ओयो सञ्चालित छ,’ उनले भने, ‘हामी ६ जना कर्मचारी छौं । कोभिडपछि बिजनेस साइज घटेको हो । अब फेब्रुअरीपछि पुनः विस्तार गर्ने कम्पनीको योजना छ ।’

सन् २०१३ मा स्थापना भएको ओयोलाई भारतको एक सफल स्टार्टअप उद्योग (युनिकर्न) को राम्रो उदहारणका रूपमा लिने गरिएको थियो । यसका संस्थापक अग्रवाल सन् २०२० मा विश्वका ‘सेल्फमेड’ युवा अर्बपतिको सूचीमा परेका थिए । ओयोको सञ्जाल जापान, इन्डोनेसिया, सिंगापुर, बेलायत, मलेसिया, फिलिपिन्स, श्रीलंका, चीन, अमेरिकालगायत ८० देशका ८ सय सहरमा फैलिएको थियो । यही आक्रामक विस्तार, यसले निम्त्याएको अत्यधिक खर्च र होटलहरूमा खस्किएको गुणस्तरका कारण ओयोको आयभन्दा व्यय बढी हुन थालेको बिजनेस स्ट्यान्डर्डको समाचारमा उल्लेख छ । ओयोमा आबद्ध हुँदा कुनै नाफा नभएपछि होटल सञ्चालकहरूले ओयोसँगको समझदारी रद्द गर्न थालेका थिए ।

आर्थिक वर्ष २०२२/२३ को पहिलो त्रैमासिक (अप्रिल–जुन) मा ४ सय १४ करोड भारु कुल घाटा बेहोरेको कम्पनीले दोस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा ३ सय ३३ करोड गुमाएको ब्लुमबर्गले जनाएको छ । नियामक सेबीलाई आफ्नो वित्तीय विवरण बुझाउने क्रममा बाहिरिएको सूचनाअनुसार ओयोले सन् २०२१ मा ३ हजार ९ सय ४४ करोड र २०२२ को हालसम्ममा १ हजार ९ सय ३९ करोड घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको अघिल्लो त्रैमासिकको तुलनामा यसपालि झन्डै २० प्रतिशत कम घाटा भएको र तेस्रो त्रैमासिकको नतिजाले ओयोको आगामी यात्रा तय गर्ने भारतीय विज्ञहरूले बताइरहेका छन् ।

‘भारत र ओयो सञ्चालनमा रहेका अन्य देशमा पनि अब पर्यटन क्षेत्र मौलाउने समय हो,’ आयोकै एक कर्मचारीलाई उद्धृत गर्दै इंकफोरटुले लेखेको छ, ‘२०२३ को पहिलो त्रैमासिकमा आईपीओ जारी गर्ने/नगर्नेबारे त्यसपछि कम्पनीले निर्णय गर्नेछ । ओयोको बजार बढ्न समग्र बजारकै अवस्था सुधारिनुपर्नेछ, जुन अहिलेको अवस्थामा सम्भव देखिएको छैन ।’ सेबीले ओयोलाई आईपीओ जारी गर्न एक वर्षअघि नै सैद्धान्तिक स्वीकृति दिइसकेको छ । यस वर्षको सुरुमा सफ्ट बैंकले ओयोमा आफ्नो हिस्सेदारीको मूल्यांकन करिब ३० प्रतिशतले कम गर्ने बताएको थियो ।

नेपालमा पनि हाल ओयो मुस्किलले सञ्चालनमा रहेको यसका एक पूर्वकर्मचारीले जनाए । ‘केही होटलमा ओयो लेखिएका बोर्ड कतैकतै राखिएको देखिए पनि त्यहाँ सेवा उपलब्ध छैन,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘ओयो नेपालमा बन्द भइसक्यो भने पनि हुन्छ ।’ ओयोका कन्ट्री हेड यादवले भने ओयोको बिजनेस सानो भए पनि बन्द नभएको कान्तिपुरलाई बताए । नेपाल प्राथमिकतामा रहेकाले अबको पुनःसंरचना प्रक्रियापछि बजार विस्तार गरिने उनको भनाइ छ । ‘चितवन, इटहरी, पोखराका होटल सञ्चालकले हामीलाई फोन गरिरहनुभएको छ,’ उनले भने, ‘ओयोजस्तो पार्टनर चाहिएको छ भन्नुहुन्छ । हामीले पनि विस्तारका योजना बनाइरहेका छौं । नयाँ योजनासहित फेरि स्थापित हुन्छौं ।’

प्रकाशित : मंसिर २३, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?