कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी निजी क्षेत्रका समस्यामा समाधान निकाल्ने बताए । 

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्रीले निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता जनाए । महासंघ प्रतिनिधिमण्डलले यसअघि सोमबार एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादीका अध्यक्ष पुुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी निजी क्षेत्रका समस्याबारे जानकारी गराएको थियो । मुख्यत: बैंकको उच्च ब्याजदर, तरलता अभाव, आयातमा गरिएको कडाइ, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका विषयमा निजी क्षेत्रले असन्तुष्ट जनाउँदै आएको छ ।

निजी क्षेत्रको लगानी संकुचित भई राजस्व निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेका बेला चालु पुँजी कर्जा मार्गदर्शनले व्यवसायमा जटिलता थपेको भन्दै यसलाई कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने माग महासंघले गरेको छ । त्यस्तै बैंकको ब्याजदर जसरी पनि घटाउनुपर्ने माग महासंघले अघि सारेको छ । तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र राष्ट्र बैंकले पहिल्याउनुपर्ने निजी क्षेत्रको माग छ । सवारीसाधन लगायत आयातमा गरिएको प्रतिबन्ध हटाउनुपर्ने महासंघले माग गरेको छ ।

पुस मसान्तमा पुर्नकर्जा वापतको करिब ६० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट फिर्ता जाने भएकाले यसलाई कम्तीमा एक वर्ष नवीकरणको सुविधा दिइनुपर्ने महासंघको माग छ । अनिवार्य नगद मौज्दात अनुपात घटाउनुपर्ने, सरकारी ढुकुटी प्रयोग गरी तरलता बढाउनुपर्ने, स्थानीय तहको शत प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिनुपर्नेजस्ता माग महासंघले अघि सारेको छ ।

प्रकाशित : मंसिर २०, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?