कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भण्डारण नहुँदा खाल्डोमै अदुवाको बिउ राख्न किसान बाध्य 

विप्लव महर्जन

सल्यान — केही दिनअघि जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानीका ५३ वर्षीय सुकलला पुरी आफ्नै घरनजिकै बारीको ढिकमा खाल्डो खनिरहेका थिए । झन्डै दुई घन्टा समय लगाएर उनले करिब आधा मिटर जति गहिरो पाँच वटा खाल्डो खने ।

भण्डारण नहुँदा खाल्डोमै अदुवाको बिउ राख्न किसान बाध्य 

खनेको खाल्डोमा भर्खरै उत्पादन गरेको अदुवाको बिउ छुटयाएर हाले । माथिबाट खरले राम्रोसँग छोपेर खाल्डो पुरे । उनले भने ‘माल्नेटामा अहिलेसम्म अदुवा भण्डारण कक्ष छैन । सम्बन्धित निकायले पनि बनाउने तर्फ कुनै चासो दिएनन् । त्यसैले विगतदेखि नै यहीं परम्परागत शैलीमा अदुवाको बिउ अर्को सालको लागि भण्डारण गर्छौं ।’

माल्नेटाकै अर्का किसान ज्ञानबहादुर घर्ती विगत तीन दशकदेखि अदुवा खेतीमा सक्रिय छन् । उनी माल्नेटामा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने किसान भनेर चिनिन्छन् । वर्षमा करिब ८० क्विन्टल अदुवा उत्पादन गर्ने उनले ७० क्विन्टल बिक्री गरी २० क्विन्टल बिउ राख्ने गर्छन् । बिउ भण्डारण गर्नेमा उनी पनि सुकलला पुरीले जस्तै विधि अपनाउँदै आएका छन् । उनले भने ‘अदुवा भण्डारणका लागि हामीले सम्बन्धित निकायमा बारम्बार आग्रह गर्दै आएका छौं तर हाम्रो मागको कुनै सुनुवाई हुन सकेको छैन । खाल्डो खनेर राख्दा बढी पानी परेमा कुहिने डर हुन्छ तर के गर्नु यो हाम्रो रहर नभई बाध्यता भएको छ ।’

सल्यान जिल्ला अदुवाको लागि प्रख्यात मानिन्छ । जिल्लाबाट मात्रै २० करोड बढीको अदुवा नेपालका विभिन्न ठूला सहर, भारत र फ्रान्समा समेत निकासी हुने गरेको छ । वाह्य मुलकुमा अदुवा निकासी हुने गरेपनि माल्नेटाका ५ सय र जिल्लाभरका १० हजार भन्दा बढी किसान अहिलेपनि परम्परागत शैलीमा बारीको ढिकमा खाल्डो खनेर अदुवा बिउ भण्डारण गर्न बाध्य भएका छन् । सम्बन्धित निकायले अहिलेसम्म बिउ भण्डारणका लागि कोल्डस्टोर निर्माणमा कुनै व्यवस्था नगरेपछि जिल्लाका अदुवा किसान परम्परागत शैलीमा अदुवा भण्डारण गर्न बाध्य भएका हुन् ।

जिल्लामा अदुवाबाली उत्पादन, संरक्षण, संवर्द्धन तथा बिक्री वितरणका लागि अदुवाबाली अनुसन्धान कार्यक्रम, कृषि विकास कार्यालय र कृषि परियोजना (जोन) कार्यक्रमले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपनि अहिलेसम्म कसैले भण्डारणका लागि पहल नगरेको कोटमौलाका किसान बेदबहादुर डाँगीले बताए । कृषि विकास कार्यालयले अदुवा प्रशोधनका लागि लगानी गरेपनि सफल हुन नसकेको उनले जानकारी गराए । ‘परम्परागत शैलीमा बारीको छेउछाउमा खाल्डो खनेर अदुवा गाड्दा बढी वर्षात् भएमा कुहिने र रोग लाग्ने डर हुन्छ’ उनले भने ‘कम वर्षात् भएपनि बिउ लगाउने बेला निकाल्दा २०/२५ किलो त्यत्तिकै खेर जान्छ । उत्पादन भएका सबै अदुवा बेचौं भने अर्को वर्ष कहाँबाट ल्याएर लगाउने भन्ने चिन्ता हुन्छ ।’

कालीमाटी गाउँपालिका ४ का जगतबहादुर घर्तीले अदुवा मात्र नभई बेसार पनि परम्परागत शैलीमा खाल्डो खनी गाडेर राख्नुपर्ने अवस्था रहेको बताए । करिब ४ दशकदेखि कृषि पेशालाई निरन्तरता दिँदै आएका उनले एक दशकदेखि अदुवासँगै बेसार खेती गर्दै आएको बताए । ‘अदुवा, बेसार खेतीबाट आम्दानी त राम्रो हुन्छ तर बिउ भण्डारणमा समस्या हुने गरेको छ’ उनले भने ‘अदुवा, बेसार बिउ भण्डारणका लागि कृषि कार्यालय, जोन कार्यक्रम, राष्ट्रिय अदुवाबाली अनुसन्धानमा बारम्बार माग राख्दै आएपनि भण्डारणका लागि बजेट पर्न सकेको छैन । भण्डारणको उचित व्यवस्था नहुँदा सस्तोमा अदुवा तथा बिउ बिक्री गर्न बाध्य छौं । यसको फाइदा बिचौलियाले उठाई रहेका छन् ।’ अदुवा बालीका लागि विभिन्न कार्यक्रम परेपनि अहिलेसम्म भण्डारणका लागि कोल्डस्टोरको कार्यक्रम नपरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले बताए ।

प्रकाशित : मंसिर १९, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?