८ वर्षदेखि एमडीएमएसको अन्योल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

८ वर्षदेखि एमडीएमएसको अन्योल

लागत र प्रविधिका हिसाबले सहज र सानो आकारको एमडीएमएस परियोजना प्रभावकारी लागू हुनुको साटो अन्योल एवं कमजोर तयारीबीच अहिलेसम्म सफ्ट लन्चमै सीमित
सजना बराल

काठमाडौँ — मोबाइल फोनहरूको स्तर स्वीकृति, दर्ता र अन्य व्यवस्थापनका लागि नेपालमा ०६५ सालदेखि नै अनेक प्रयास भइरहे जस्तो देखिए पनि त्यसले ठोस परिणाम दिन सकेको देखिँदैन । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन झन्डै १० वर्ष समय लगाउँदा यो प्रणाली नै पुरानो र मिति गुज्रिने अवस्थामा पुगेको छ ।

लागत र प्रविधिका हिसाबले सहज र सानो आकारको एमडीएमएस परियोजना प्रभावकारी रूपमा लागू हुनुको साटो अन्योल र कमजोर तयारीबीच अहिलेसम्म सफ्ट लन्चमै सीमित छ । कार्यान्वयनमा भएको उक्त ढिलासुस्ती नेपालमा लागू हुने प्राविधिक सुधार परियोजनाहरूमा दिइने कम प्राथमिकता र बेवास्ताको एउटा उदाहरण भएको विज्ञहरू बताउँछन् ।

‘अब त यो प्रणाली किन चाहियो भन्नेमै प्रश्न गर्ने बेला आएको छ,’ दूरसञ्चार क्षेत्रका विज्ञ मनोहर भट्टराई भन्छन्, ‘८/१० वर्षअघि नै लागू गर्न सकेको भए एउटा कुरा हुन्थ्यो । अहिले यो आउटडेटेड जस्तो भइसक्यो । योभन्दा परिष्कृत र बलिया प्रणाली आइसके ।’ उनका अनुसार अवैध रूपमा भित्रिने मोबाइल डिभाइस नियन्त्रण गर्नु सरकारका लागि त्यति गाह्रो काम होइन । तर मोबाइल अत्यावश्यक वस्तु भएकाले यसको कुनै न कुनै किसिमले नियमन वा व्यवस्थापन चाहिने उनले बताए । यस अर्थमा एमडीएमएसजस्ता प्रणाली काम लाग्ने कुरा नै भए पनि सरोकारवाला सबैलाई सम्बोधन हुने गरी कार्यान्वयनमा ढिलाइ हुँदा यो लथालिंग परियोजनाको गतिलो उदाहरण बनेको उनको भनाइ छ । नेपालको एमडीएमएस जस्तै पाकिस्तानमा पनि लगभग उही समयमा डिभाइस आइडेन्टिफिकेसन, रजिस्ट्रेसन एन्ड ब्लकिङ सिस्टम (डीआईआरबीएस) सुरु गर्न पहल भएको थियो । पाकिस्तानले सन् २०१९ मै उक्त प्रणाली सफलतापूर्वक स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छ । ठेक्का प्रक्रिया र परियोजना खरिदसमेतका केही विषयमा हामीकहाँ झैं पाकिस्तानमा पनि विवाद देखिएको थियो । यद्यपि त्यहाँ समयमै काम सम्पन्न भइसकेको छ ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसिएसन (जीएसएमए) मा दर्ता नभएका, नक्कली आईएमईआई नम्बर भएका, उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरी निर्माण गरिएका र भन्सार छलेर भित्र्याइएका मोबाइल सेट बन्द गर्न पाकिस्तानको दूरसञ्चार प्राधिकरणले डीआईआरबीएस लागू गरेको थियो । नेपालमा भने ०७८ साउन र ०७९ भदौमा गरी दुई–दुई पटक गरिएको कर्मकाण्डी सफ्ट लन्चबाहेक एमडीएमएस प्रविधि कहिले, कसरी र कुन तवरबाट अगाडिड बढ्ने भन्ने कुनै टुंगो लागेको छैन ।

पाकिस्तानमा डीआईआरबीएस लागू गरेको नौ महिनामै मोबाइल डिभाइसको वैध आयात उल्लेख्य बढेको र मोबाइल डिभाइससम्बन्धी दर्जनौं एसेम्बली प्लान्ट स्थापना भएको त्यहाँको प्राधिकरण (पीटीए) ले सार्वजनिक गरेको छ । पाकिस्तानमा साओमी र सामसङ जस्ता ठूला मोबाइल निर्माता कम्पनीले स्थानीय एसेम्ब्ली प्लान्ट स्थापना गर्नुका साथै पाकिस्तानका नागरिकले रोजगारीसमेत पाएको पीटीएको उक्त अध्ययनले औंल्याएको छ ।

नेपालमा ०६५ साल (सन् २००८) देखि नै अवैध मोबाइल फोनको प्रयोग र आयात नियन्त्रण गर्नुपर्ने विषयमा चर्चा सुरु भएको पाइन्छ । यसलाई व्यवस्थापन गर्न प्राधिकरणले त्यो बेला टाइप अप्रभुल अर्थात् मोबाइल सेट, राउटरलगायत सर्ट रेन्जका रेडियो उपकरणहरूको स्तर तोक्ने व्यवस्था सुरु गरेको थियो । त्योसँगै प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेका उपकरणलाई मात्रै टाइप अप्रुभल दिन थालियो । गुणस्तरीय मोबाइलको सुनिश्चितता गर्न, अपराध न्यूनीकरण गर्न, चोरी निकासी रोक्न, भन्सारमा तथ्यांक राख्न र राजस्व संकलनमा सघाउ पुर्‍याउने उद्देश्यले टाइप अप्रुभल सुरु गरिएको थियो ।


तर त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै सोही बेला व्यवसायीहरूले गुनासो गरेका थिए ।

हाल टाइप अप्रभुलसम्बन्धी नीति चौथो पटक संशोधन गरिसकिएको छ । टाइप अप्रुभलको चर्चापछि सरकारले ०७० सालदेखि मोबाइल डिभाइस नै दर्ता गर्नुपर्नेबारे छलफल सुरु गरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘ग्रे मार्केट बढेको बढ्यै भयो भनेर व्यवसायीहरूले गुनासो गरेपछि ०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री शेरधन राई, प्राधिकरणका अध्यक्ष र प्रतिनिधिहरूबीच अर्थ मन्त्रालयमा बैठक भएको थियो,’ उनले भने, ‘एमडीएमएसको अवधारणा त्यहींबाट सुरु भएको हो ।’

यस प्रणालीबारे अध्ययन गर्न एक समिति बनेको र समितिकै सिफारिसअनुरूप ०७२ मा ‘इम्प्लिमेन्टेसन अफ नेसनल इक्विपमेन्ट आइडेन्टिटी रेजिस्ट्री’ नामक अन्तरिम निर्देशिका बनाएर काम अघि बढाइएको ती अधिकारीको भनाइ छ । सोही समितिको सिफारिसका आधारमा ०७३ वैशाख १ बाट नेपालमा मोबाइल ह्यान्डसेटको पहिचान नम्बर (आईएमईआई) दर्ताको व्यवस्था सुरु गरियो । टाइप अप्रुभल प्राप्त गरेपछि मात्रै मोबाइल फोन आयात गर्न र अनिवार्य आईएमईआई दर्ता गर्न प्राधिकरणले आयातकर्तालाई निर्देशन दियो ।

प्राधिकरणले ०७४ सालमा एमडीएमएस प्रणाली स्थापनाका लागि बोलपत्र आह्वान गर्‍यो, जसमा १३ वटा कम्पनीले आवेदन दिएका थिए । ०७५ मा आएर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमसम्बन्धी विनियमावली बनाई यो प्रक्रियालाई औपचारिकता दिइयो । सो विनियमावलीमा स्पष्ट रूपमा ठेक्का पाउने कम्पनीले ६ महिनाको अवधिमा एमडीएमएस प्रणाली स्थापना र सञ्चालनको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर विडम्बना के छ भने, ठेक्का पाएको कम्पनीले चार वर्ष बितिसक्दा पनि आवश्यक सम्पूर्ण पूर्वाधारसमेत भित्र्याउन सकेको छैन ।

०७६ सालमा प्राधिकरणले मलेसियाको न्युमेरा, भारतको ओएसआई कन्सल्टिङ र सिंगारपुरको नमस्ते ग्लोबल कम प्रालिको जोइन्ट भेन्चरलाई झन्डै ७७ करोड रुपैयाँको एमडीएमएस ठेक्काका लागि छनोट गर्‍यो । छनोटका क्रममा विवादास्पद रूपमा बोलपत्र मूल्यांकनमा कम अंक प्राप्त गरेको उक्त कम्पनीलाई ठेक्का उपलब्ध गराएपछि प्रतिस्पर्धी मोबिलियन ट्रेड इन्टरनेसनल, ग्रिन आईटी सोलुसन र इन्फ्रा डाटा एनभीको जोइन्ट भेन्चरलेसार्वजनिक खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्राधिकरणविरुद्ध अख्तियारमा उजुरीसमेत दिएको थियो । सञ्चारमाध्यमहरूले यस प्रक्रियामा मिलेमतो भएको भन्ने आशंकासहित विभिन्न रिपोर्ट पनि प्रकाशन गरेका थिए ।

एमडीएमएस प्रणालीको भौतिक पूर्वाधार स्थापना र जडानका लागि ठाउँ नभएको भन्ने कुरा उठेपछि ०७६ कात्तिक ५ मा मन्त्रिपरिषद्को निर्णयबाट रेडियो नेपालको नाममा रहेको ललितपुर खुमलटारस्थित ४२ रोपनी जग्गा प्राधिकरणलाई उपलब्ध गराइएको थियो । सोही जग्गामा सिस्टम स्थापना गर्ने प्राधिकरणको योजना थियो । तर निर्णयअनुसार जग्गा प्राप्त नभएपछि पुनः अन्योलको स्थिति सिर्जना भयो । अन्योलकै बीच राउटर, सर्भरलगायत केही पूर्वाधार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा समेत जडान गरिएका थिए, ती अझै त्यहाँ छँदै छन् ।

०७७ भदौमा चाबहिलस्थित प्राधिकरणको आफ्नै जग्गामा निर्माणाधीन भवनमा सिस्टम राखेर सफ्टवेयर अपलोड गरिएको प्राधिकरण बताउँछ । प्रक्रियागत रूपमा काम भए जस्तो देखिए पनि सबै पूर्वाधार तयार नभएपछि प्राधिकरणले पटक–पटक यो प्रणाली सुरुवात गर्ने मितिमा ढिलाइ गर्नुपरेको थियो । ०७८ साउन १ मा पहिलो पटक सफ्ट लन्च गरी औपचारिक सुरुवात भएको जानकारी दिइए पनि त्यस बेला लागू हुन नसकेको भन्दै प्राधिकरणले त्यसपछि पटक–पटक भाका सार्‍यो । ०७९ भदौ ३० मा गरिएको अर्को सफ्ट लन्चपछि चाहिँ एमडीएमएस आंशिक रूपमा लागू भएको छ ।

‘सफ्ट लन्च त गरियो । तर एमडीएमएस चिनी नहालेको चिया जस्तो भएको छ,’ मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्रा भन्छन्, ‘अझै पनि अवैध रूपमा भित्रिएका मोबाइल सेट निर्बाध चलिरहेका छन् । नेपालमा मेलम्ची आउन ३० वर्ष लाग्यो, बाहिरी रिङ रोड बनाउने घोषणा भएको २४ वर्ष भयो, बनेकै छैन । नेपालका साना–ठूला सबै परियोजना ढिलासुस्तीको मारमा छन्, यो पनि त्यसमै पर्‍यो ।’

प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भने कोभिड, लकडाउनलगायत कारणले एमडीएमएस कार्यान्वयनमा ढिलाइ भएको बताए । उनका अनुसार भदौ ३० को सफ्ट लन्चपछि व्यक्तिगत तहमा १० हजार ८ सय र आयातकर्ताको तहमा झन्डै १६ लाख थान मोबाइल फोन एमडीएमएस प्रणालीमा दर्ता भइसकेका छन् । यसबीच अवैध रूपमा भित्र्याइएका केही फोन ब्लकसमेत गरिएको आँकडा छ । मोबाइल आयातकर्ता मल्होत्राले पनि १ लाखभन्दा बढी मोबाइल सेट कुनै पनि बेला ब्लक हुन सक्ने स्थिति रहेको संकेत गरेका छन् ।

यस विषयमा मोबाइल बिक्रेता र उपभोक्ता अधिकारकर्मीहरूको भने अलि फरक धारणा छ । उनीहरूको आशंका सीमित आयातकर्ता र व्यापारीहरूलाई फाइदा पुर्‍याउन र वैदेशिक रोजगारीबाट एक, दुई थान मोबाइल फोन लिएर फर्कने सर्वसाधारणलाई मर्कामा पार्न यो प्रणाली अघि सारिएको हो कि भन्नेमा छ । ‘मोबाइल फोनहरू नियमनको हामीले विरोध गर्न खोजेको होइन तर सीमित व्यक्तिलाई लाभ हुने गरी यस्तो प्रणाली अघि सार्दा हामी जस्ता व्यापारी र सर्वसाधारणलाई मर्का परेको छ,’ न्युरोडस्थित मोबाइल फोन विक्रेता विवेक शर्माले भने, ‘यसमा पुनर्विचार हुनुपर्छ ।’

...

एमडीएमएसको विकासक्रम

०७२

मोबाइल डिभाइस व्वस्थापनसम्बन्धी अध्ययन र अवधारणा विकास

०७३ वैशाख १

मोबाइल ह्यान्डसेटको पहिचान हुने नम्बर (आईएमईआई) दर्ता सुरु

०७४ वैशाख २८

एमडीएमएस प्रणाली सञ्चालनलाई परामर्शदाता छनोट गर्न बोलपत्र आह्वान

०७५ वैशाख १०

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमसम्बन्धी विनियमावली निर्माण

असोज २६

टेन्डरका लागि आवेदन दिने १३ मध्ये ६ वटा संयुक्त भेन्चर छनोट

०७६ असार २

६ महिनाभित्र सिस्टम लागू गर्ने गरी विवादास्पद छविका कम्पनी संलग्न रहेको न्युमेरा, ओएसआई कन्सल्टिङ र नमस्ते ग्लोबलको जेभीलाई ठेक्का प्रदान

०७७ भदौ २८

चाबहिलस्थित प्राधिकरणको जग्गामा सिस्टम राखेर सफ्टवेयर अपलोड गरिएको

०७८ असार ३१

व्यावसायिक आयातकर्ताले एमडीएमएस प्रणालीको इम्पोटर्स मोड्युलमा अनलाइनबाट आईएमईआई दर्ता गर्ने व्यवस्था सुरू

साउन १

प्राधिकरणले एमडीएमएस लागू भएको जानकारी दिए पनि लागू हुन नसकेको

०७९ भदौ ३०

सफ्ट लन्चमार्फत आंशिक रुपमा एमडीएमएस लागू गरिएको

प्रकाशित : मंसिर १९, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

सम्पत्ति शुद्धीकरणको शंका लागे प्रमाणबिनै उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका लागे पर्याप्त प्रमाण नभएको अवस्थामा पनि वित्तीय जानकारी इकाई (एफआईयू) मा उजुरी गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकका लागि जारी गरेको एएमएल सीएफटीसम्बन्धी निर्देशिकामा यस्तो उल्लेख छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका लागेको अवस्थामा पनि प्रमाणसहित वित्तीय जानकारी इकाईमा पठाउनुपर्ने व्यवस्था थियो । शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह (एपीजी) र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) द्वारा नेपालको पारस्परिक मूल्यांकन टोली नेपालमा आएको समयमा राष्ट्र बैंकले पछिल्लो निर्देशिका जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले अब शंकास्पद कारोबारको जोखिमका आधारमा ग्राहकको वर्गीकरण गर्नुपर्ने भएको छ । यसअनुसार न्यून जोखिमका लागि १ देखि ३ अंक, निम्न मध्यम जोखिमका लागि ४ देखि ७, मध्यम जोखिमका लागि ८ देखि १३, उच्च मध्यम जोखिमका लागि १२ देखि २१ र उच्च जोखिमका लागि २२ देखि २५ अंकका साथ वर्गीकरण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यसअघि यसरी जोखिमका आधारमा ग्राहकको वर्गीकरण गर्नुपर्ने व्यवस्था थिएन । ग्राहकसँगै वस्तु तथा सेवा, आपूर्ति प्रणाली, भौगालिक स्थिति र अन्य गरी क्षेत्रगत रूपमा पनि जोखिमको वर्गीकरण गर्नैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

पछिल्ला वर्षमा नेपालमा वित्तीय क्षेत्रमा शंकास्पद आर्थिक कारोबारको उजुरी बढेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् । उक्त अवधिमा शंकास्पद कारोबारको दायरा विस्तार हुनुका साथै गोएएमएललगायत विद्युतीय प्रणालीमार्फत उजुरी गर्न मिल्ने भएपछि संख्या बढेको प्रतिवेदनमा जनाइएको छ । गोएएमएल सम्पत्ति शुद्धीकरणसम्बन्धी कारोबारका लागि विकास गरिएको रिपोर्टिङ प्रणाली हो । यस प्रणालीमा आबद्ध भएपछि कानुनमा तोकिएको सीमाभन्दा धेरै रकम वा गतिविधिसम्बन्धी कारोबार स्वचालित रूपमा वित्तीय जानकारी इकाईमा उजुरीका रूपमा पुगिहाल्छ । पछिल्ला महिनामा शंकास्पद कारोबारको उजुरी बढ्नुमा गोएएमएल प्रणालीमा सरोकारवालाको आबद्धता पनि एक प्रमुख कारण भएको बताइएको छ ।

‘शंकास्पद कारोबारका गतिविधि पनि बढेका छन् । धेरै उजुरी करछली, हुन्डीलगायत पैसा ओसारपसार गर्ने अनौपचारिक माध्यमका छन्,’ स्रोतले भन्यो, ‘अनलाइनमार्फत ठगी, चिट्टा, बैंकिङ प्रणाली ह्याक गरी हुने चोरीलगायतका कसुर र संगठित अपराध पछिल्ला वर्षहरूमा बढ्दो छ ।’ वित्तीय जानकारी इकाईमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै करछलीसम्बन्धी रहेको बताइएको छ । त्यसपछि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, हुन्डीलगायत पैसाको अनौपचारिक ओसारपसारलगायत क्षेत्रको उजुरी आउने गरेको स्रोतको भनाइ छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्न सघाउनेलाई पनि कानुनबमोजिम कसुरकै बराबर सजायको व्यवस्था हुन लागेको सरकारले गर्न लागेको भए पनि त्यो पारित हुन सकेको छैन । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा उक्त व्यवस्था प्रस्ताव गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण निवारणमा हेलचेक्य्राइँ गर्दा नेपाल ‘ग्रे लिस्ट’ मा पर्न सक्ने जोखिम बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले उक्त विधेयक तयार पारे पनि त्यसले कानुनी मान्यता पाउन सकेन । उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भए पनि राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि कानुन बन्न नसकेको हो । भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबारलगायत वित्तीय अपराधका घटना न्यूनीकरणमा सरकारी नीति र संयन्त्र असफल हुँदा यस्तो जोखिम बढिरहेको समयमा सरकारले उक्त विधेयक तयार पारेको थियो ।

विधेयकमा पानीजहाज दर्ता, मालपोत, पर्यटन, भवन, दामासाही, धितोपत्र, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), सम्पत्ति शुद्धीकरणलगायत डेढ दर्जनभन्दा बढी ऐनमा संशोधनको प्रस्ताव गरिएको छ । जसअनुसार कसुर गर्न सहयोग पुग्ने गरी काम गर्न नहुने व्यवस्था पनि थपिएको छ ।सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन ०६४ बमोजिमका निरोधात्मक मापदण्डविपरीत गर्ने वा गराउने जिम्मेवारी भएको व्यक्तिले दफा ३, ४ र ५ बमोजिमका कसुर गर्न वा गराउन सहयोग गर्ने वा गराउने उद्देश्यले त्यस्ता निरोधात्मक मापदण्ड जानीजानी उल्लंघन गरे वा गराए कसुर गरेको मानिनेछ,’ विधेयकमा भनिएको छ ।

प्रचलित कानुनबमोजिम सूचक संस्थाले ग्राहकबाट लिएको सूचना तथा विवरण प्रचलित कानुनबमोजिम प्रकट गर्नुपर्ने अवस्थामा बाहेक गोप्य राख्नुपर्नेछ । कसैले त्यस्तो गोपनीयता उल्लंघन गरे नियमनकारी निकायले कारबाही गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ । विधेयकमा ऐनको उपदफामा रहेको ‘१० लाख रुपैयाँसम्म’ का शब्दको साटो ‘एक करोड रुपैयाँ’ भन्ने शब्द राखिएका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनमा लगानीको सीमा तोक्दा गैरआवासीय नेपाली तथा अन्य विदेशी लगानीकर्ताले लगानी गर्ने रकमको सीमा फरकफरक हुने गरी तोक्न सकिने व्यवस्था पनि विधेयकमा छ ।

मूल्यांकनका लागि एफएटीएफ टोली नेपालमा

शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह (एपीजी) र फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) टोली यति बेला नेपालमा छ । पछिल्लो करिब एक/डेढ वर्षदेखि अनलाइनमार्फत (अफसाइट) मूल्यांकन गर्दै आएको उक्त टोली स्थलगत (अनसाइट) मूल्यांकनका लागि नेपाल आएको स्रोतले बताएको छ । औपचारिक रूपमा सोमबारदेखि काम सुरु गर्ने टोलीले पुस १ सम्म नेपालमा बस्ने योजना छ । तर मूल्यांकनको काम नसकिए थप केही दिन पनि टोली नेपालमै रहने स्रोतको भनाइ छ । ‘अहिले टोलीले सबै सरोकारवालासँग छलफल गर्ने, आवश्यक कागजात झिकाउने, अध्ययन गर्ने काम गरिरहेको छ,’ स्रोतले भन्यो, ‘नेपालको स्थिति के कस्तो छ भन्नेबारे मूल्यांकन सकिएपछि थाहा होला ।’

यद्यपि सम्पत्ति शुद्धीकरण निवारणमा नेपालले आफ्नो स्थिति सुधार गर्नेभन्दा उल्टै कमजोर भएर ग्रे लिस्टमा पर्न सक्नेबारे चिन्ता रहेको जानकारहरूको भनाइ छ । विद्यमान कानुनी व्यवस्था समयानुकूल अद्यावधिक हुन नसक्दा तथा भएका कानुनको पालनामा समेत नेपाल कमजोर देखिँदा ग्रे लिस्टको जोखिम बढेको उनीहरूको दाबी छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित नभएकाले पनि त्यो जोखिम बढेको बताइएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×