२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वीरगन्ज नाकामा थन्किए सवारी

शंकर आचार्य

पर्सा — आयातकर्ताले जाँचपास गराई नलग्दा वीरगन्ज भन्सार नाकामा ठूलो संख्यामा नयाँ सवारी साधन थन्किएका छन् । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसर अहिले नयाँ सवारी साधनले भरिभराउ छन् । हाल चौकी परिसरमा ५ सय २४ नया जिप, कार, भ्यान र १ हजार ३ सय ८ बस ट्रकका चेसिस गरी १ हजार ८ सय ३२ नयाँ सवारी साधन छन् ।

वीरगन्ज नाकामा थन्किए सवारी

आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्जार्च जितेन्द्र रसाइलीले सवारी साधन आयातकर्ताले पुरानै एलसीबाट भारत तथा तेश्रो मुलुकबाट आयातित सवारी साधन यो भन्सार परिसरमा ल्याएर पार्किङ गरी राख्ने गरेको बताए । अत्यधिक मात्रामा सवारी साधन थन्किएपछि चौकी परिसरमा पार्किङको समस्या भएको छ । चौकीको अधिकांश भाग नयाँ सवारी साधनले भरिभराउ छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सारमा अड्किएका सवारी साधनको निकासको सम्बन्धमा मंगलबार सरोकारवालाहरु बीचको बैठक पनि निष्कर्षविहीन रहेको बताए । वीरगन्ज भन्सार कार्यालयको आयोजना र इन्टर मोडल यातायात विकास समितिको समन्वयमा आयोजित बैठकमा यो नाकाबाट सवारी साधन आयात गर्ने मुख्य आयातकर्ताहरु सिप्रदी, लक्ष्यमी क्लियरिङ, टोयोटा, आईएमई मोटर्स लगायतका प्रतिनिधिहरु तथा भन्सार र इन्टर मोडलका अधिकारीहरु समेत सहभागी थिए ।

बैठकमा सवारी साधन आयातकर्ता कम्पनीका प्रतिनिधिहरुले हालको अवस्थामा आफूहरुले वीरगन्जमा रहेका सवारी साधन जाँचपास गराएर लग्न असक्षम रहेको जवाफ दिएको सुवेदी बताउँछन् । ‘आयातकर्ताहरुले बैंकले अटो लोन नदिँदा नयाँ सवारी साधनको खरिद बिक्री नै ठप्प भएकाले तत्काललाई आफूहरु यहाँबाट सवारी साधन छुटाएर काठमाडौं वा अन्य गन्तव्यसम्म लग्न असमर्थता जाहेर गरेका छन्,’ उनले भने, ‘कतिपय आयातकर्ताले वीरगन्जबाट सवारी साधन जाचपास गराएर लगरे काठमाडौंमा भाडाको गोदाम राख्नुभन्दा यहाँ पार्किङ शुल्क तिरेरै राख्न लागत कम पर्ने भएकाले पनि यही राखेका छन् ।’

मुलुककै सर्वाधिक राजश्व संकलन गर्ने भन्सारको रुपमा चिनिने वीरगन्ज भन्सार कार्यालयले पछिल्ला महिनाहरुमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकि रहेको छैन । यो भन्सारको राजश्वमा सर्वाधिक योगदान नयाँ सवारी साधन र इन्धनको हुने गरेको छ । तर नयाँ सवारी साधन जाँचपास हुनै छाडेपछि त्यसको असर राजश्व असुलीमा पनि देखिएको हो ।

प्रकाशित : मंसिर १७, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?