कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मार्बल, टायलमा नगद मार्जिन हट्यो

काठमाडौँ — मुलुकको विदेशी विनिमय सञ्चितिमा सुधार हुन थालेपछि राष्ट्र बैंकले यसअघि कडाइ गरेका केही वस्तुको नगद मार्जिनसम्बन्धी व्यवस्था हटाएको छ ।

मार्बल, टायलमा नगद मार्जिन हट्यो

शुक्रबार राष्ट्र बैंक विदेशी विनिमय विभागले परिपत्र जारी गरेर मार्बल, टायल, प्लास्टिकलगायत वस्तुको नगद मार्जिनसम्बन्धी यसअघिको व्यवस्था हटाएको हो । यसअघि राष्ट्र बैंकले करिब १४ सय वस्तु आयातका लागि नगद मार्जिनको व्यवस्था गरेको थियो । तीमध्ये अहिले हर्मोनिक कोड ६८ अन्तर्गतका वस्तुको नगद मार्जिनसम्बन्धी व्यवस्था राष्ट्र बैंकले हटाएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही वस्तुको आयातका लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रूपमा पुनरावलोकन गर्दै लगिने बताएको थियो । ‘केही वस्तुको आयातका लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रूपमा पुनरावलोकन गर्दै लगिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकले गत पुस ५ मा गरेको नगद मार्जिनसम्बन्धी व्यवस्थाबमोजिम हर्मोनिक कोड ६८ अन्तर्गतका सबै वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको हो । करिब डेढ वर्षअघि राष्ट्र बैंकले मार्बल, टायल, प्लास्टिक, सिमेन्ट, काँचका सामान, सेरामिकलगायत वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटेको परिपत्रमा उल्लेख छ ।

गाडी, मोटरसाइकल, हवाईजहाजलगायतमा बिछ्यौनाका रूपमा प्रयोग हुने सामग्रीलगायत आयातका लागि नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गरेको हो । सार्वजनिक खरिद कानुन लागू हुने निकायले सार्वजनिक निकायहरूले सार्वजनिक खरिद कानुनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपूर्ति गर्ने समान आयात गर्दासमेत नगद मार्जिन राख्नु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित : मंसिर १७, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?