कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

२ दिनमा ४ हजार बिमितलाई कोरोना बिमा भुक्तानी

काठमाडौँ — बिमा प्राधिकरणको निर्देशनपछि पछिल्ला दुई दिनमा कोरोना बिमाका करिब ४ हजार बिमितले दाबी भुक्तानी पाएका छन् । सबै निर्जीवन बिमा कम्पनीहरूले मंगलबार र बुधबार गरी उक्त संख्यामा बिमितलाई भुक्तानी दिएको बिमक संघले जनाएको छ ।

२ दिनमा ४ हजार बिमितलाई कोरोना बिमा भुक्तानी

‘दुई दिनमा प्रत्येक कम्पनीले कम्तीमा २ सयभन्दा बढी बिमितलाई भुक्तानी गरेका छन् । केही कम्पनीले साढे ३ सयदेखि ५ सय जनासम्मलाई पनि भुक्तानी दिएका छन्,’ बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले भने, ‘यसरी हेर्दा करिब ४ हजार बिमितले भुक्तानी पाइसकेको देखिन्छ ।’

कोरोना बिमाबापत दाबी गरेकामध्ये पहिलो चरणमा व्यक्तिगत र परिवार गरी कम्पनीहरूले करिब १६ हजार बिमितलाई भुक्तानी गर्न लागेका छन् । प्राधिकरणका अनुसार कोरोना बिमा गर्ने व्यक्तिगत र परिवार करिब २५ हजार छन् । तीमध्ये अहिले १६ हजारलाई भुक्तानी दिन लागिएको हो । आठ दिनदेखि १० दिनभित्रमा ती बिमितले भुक्तानी पाइसक्ने गरी वितरण भइरहेको अध्यक्ष क्षेत्रीको दाबी छ ।

कम्पनीहरूले पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बिमा भुक्तानी भइरहेको बताएका छन् । बिमा भुक्तानी गर्ने बिमितको नाम र दाबी मितिलगायत विवरणको सूची सबै कम्पनीहरूले आफ्नो वेबसाइटमा सार्वजनिक गरेका छन् । त्यही सूचीबाट क्रमश: बिमा भुक्तानी भइरहेको बिमक संघले जनाएको छ ।

सरकारसँग शोधभर्ना माग्ने सर्तमा बिमा कम्पनीहरूले गत मंगलबारदेखि कोरोना बिमाको रकम भुक्तानी सुरु गरेका हुन् । नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार २५ प्रतिशत दायित्व स्वीकार नगर्ने तर पहिलो चरणमा वितरण गरेको थप रकम शोधभर्नाका लागि नियामक निकायमा लिखित आग्रह गर्ने बिमक संघको निर्णयपछि कम्पनीहरू कोरोना बिमा भुक्तानी गर्न तयार भएका हुन् ।

प्राधिकरणले गत मंगलबार सबै बिमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूलाई डाकेर भुक्तानी दिन निर्देशन दिएको थियो । नियामक निकायबाट निर्देशन आए पनि ३ वटा कम्पनीले मात्र भुक्तानी गर्नेबारे सञ्चालक समितिबाट निर्णय गराएका थिए भने १७ वटाले सोमबारसम्म पनि निर्णय गरेका छैनन् । प्राधिकरणले गत कात्तिक १७ मा २५ प्रतिशत रकम बिमा कम्पनी र १२ प्रतिशत रकम नेपाल पुनर्बिमा कम्पनीलाई भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको थियो । प्राधिकरणको उक्त निर्देशन कोरोना बिमा मापदण्ड, २०७७ को व्यवस्थाविपरीत भएको भन्दै बिमा कम्पनी र नेपाल पुनर्बिमाले रकम दिएका छैनन् । नेपाल पुनर्बिमा कम्पनीले सञ्चालक समितिबाट निर्णय नै गरेर कोरोना बिमामा थप रकम भुक्तानी दिन नसकिने जानकारी बिमा प्राधिकरणलाई दिइसकेको छ ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?