कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भेरीमा पुल नहुँदा डोल्पामा महँगी दोब्बर

म्याद गुज्रियो, बनेनन् पुल, डोल्पा, जाजरकोटको पूर्वी र रूकुमको उत्तरी क्षेत्रका सर्वसाधारणलाई सास्ती
हरिहरसिंह राठौर

तल्लुबगर, जाजरकोट — जाजरकोट–डोल्पा सडकको डोल्पाखण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा तीन जिल्लाका बासिन्दालाई दैनिक सास्ती भोग्नुपरेको छ । तीन वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म नबन्दा डोल्पा, जाजरकोटको पूर्वी भेग र रुकुमको उत्तरी क्षेत्रका सर्वसाधारणले दुःख भोगिरहेका छन् । 

भेरीमा पुल नहुँदा डोल्पामा महँगी दोब्बर

जाजरकोटको रग्दास्थित चौखामा बेलिब्रिज, डोल्पाको खदाङ, करबगाड र त्रिपुराकोट बगरमा पक्की पुल र रूपगाडमा बेलिब्रिज समयमै बनेका छैनन् । पुल निर्माण हुने योजनास्थलमा जगमा सामान्य पिलर मात्र उठाइएको छ । जबकि ती स्थानमा हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो । जाजरकोटको होलुखोला, रिम्ना र चिसापानीमा पक्की पुल, कैनाखोला र नलगाडमा बेलिब्रिज निर्माण भई सवारीसाधनलाई सहज भए पनि अरु ठाउँमा नबन्दा यात्रुलाई सास्ती भएको हो ।

चर्को ढुवानी भाडाकै कारण जाजरकोटमा १६ सय पर्ने १ क्विन्टल सिमेन्ट डोल्पामा ३५ सय, बढीमा ११ हजार पर्ने एक बन्डल जस्तापाता १८ हजार, एक क्यारेट अन्डा ५ सय, फलामे रड प्रतिक्विन्टल १८ हजार, चिनी प्रतिकिलो १ सय ३०, दाल प्रतिकिलो २ सय रुपैयाँ र सामान्य चामल प्रतिकिलो १ सय रुपैयाँमा बिक्री हुने गरेको डोल्पाका व्यवसायी तेजप्रकाश बुढाले जनाए । ‘हामीलाई पनि समस्या छ, सडकमा पुल नबन्दा एकातिर समयमै सामान ढुवानी हुँदैन, ढुवानी भए पनि भाडा ज्यादै महँगो छ,’ उनले भने, ‘हामी त थोरै नाफा खाएर खाद्यान्न र निर्माण सामग्री बिक्री गर्न बाध्य छौं ।’

जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको भेरी नदीको तल्लु बगरमा बेलिब्रिज निर्माण गर्न गत आर्थिक वर्षमा मात्र बोलपत्र आह्वान गरिएको थियो । यो भेरी कोरिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य बेलिब्रिज हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्छ । तर त्यस ठाउँमा पक्की पुल नहुँदा ढुवानी भाडा अत्यधिक महँगो छ, जसका कारण तीन जिल्लाका बासिन्दा सडक सुविधा भए पनि अत्यधिक महँगीको मार खेप्न बाध्य छन् ।

पुलको ठेक्का सम्झौता ०७८ पुस १६ मा भएको हो भने ०७९ असार १५ भित्र बनाइसक्नुपर्ने थियो । तर अहिलेसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको काम मात्र भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि व्यवसायीलाई कार्यालयमै बोलाएर पुस मसान्तभित्र निर्माण सक्ने प्रतिबद्धता गराइएको चौरजहारीस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णले बताए । ३ करोड ८५ लाख रुपैयाँ लागतमा हिम/सगरमाथा/खड्का/कृष्ण जेभीलाई पुल निर्माण जिम्मा दिइएको छ ।

डोल्पा सदरमुकाम दुनै नजिकैको रुपागाट पुल पनि अलपत्र छ । यो पुल पनि ०७८ चैत मसान्तभित्रै सकिइसक्नुपर्ने थियो । जाजरकोटको नलगाड नगरपालिका–११ र रुकुम पश्चिमको आठबीसकोट–६ अनाहबीचमा रहेको भेरीमा पुल नबन्दा यात्रुहरूले दैनिक सास्ती भोग्नुपरेको डोल्पाको ठूलीभेरी नगरपालिकाका जयकृष्ण हमालको भनाइ छ । ‘सडक बन्यो । तर पुल नबन्दा हामीलाई जिल्लामा सडक पुगेको अनुभूति नै भएको छैन,’ उनले भने, ‘सडकखण्डमा झन्डै ५ दर्जन खोला छन्, भेरीमा पनि पुल बनेको छैन, पुल नभएपछि बीचबीचमा गाडीबाट झरेर झोलुंगे पुल तर्नुपर्छ, गाडीमा राखेका सामान यात्रुले नै पल्टी गरेर वारपार गराउनुपर्छ ।’

डोल्पाको ठूलीभेरी नगरपालिकास्थित रूपगाडमा पुल नबन्दा काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनुपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जनाए । ‘सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडक र भेरी करिडोरका लागि यहाँ पुल बन्न अत्यन्त जरुरी छ,’ उनले भने, ‘रुपागाडसँगै अरु ठाउँमा पनि पुल नबन्दा डोल्पामा उत्पादित स्याउ, जिम्बु र अन्य जडीबुटीले बजार पाएका छैनन्, दैनिक उपभोग्य सामान पनि महँगो भाडा तिरेर ढुवानी गर्नुपर्छ ।’ नेपालगन्जबाट सदरमुकाम दुनैसम्म प्रतिकिलो ८० रुपैयाँसम्म ढुवानी भाडा तोकिएको छ, जसका कारण डोल्पालीहरूले सडक पुगे पनि महँगीको मार खेप्नुपरेको उनले बताए ।

पक्की पुल नबन्दा झोलुंगे पुलमा स्थानीय मजदुरलाई प्रतिकिलो ४० रुपैयाँमा सामान बोकाएर सामान पल्टी गर्नुपर्ने बाध्यता भएको डोल्पाका व्यापारी हरिचन्द्र बुढाको भनाइ छ । जिल्लामा हुने सबैखाले निर्माणका सामग्री यही सडकबाट ढुवानी हुने भएकाले हरेक सामग्री महँगो र तोकिएको समयमा नपुग्ने समस्या छ । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिका–११ तल्लुसम्म कालोपत्रका लागि ठेक्का भएर काम सुरु गरिए पनि सडकमा पुल नै नबन्नु दुःखद भएको उनी बताउँछन् ।

सडक स्तरोन्नतिको काममा पनि ढिलाइ भइरहेको स्थानीय अगुवा राजेन्द्रविक्रम शाहले जनाए । पुल र सडक स्तरोन्नतिमा ढिलाइ हुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा समेत सुस्ती छाएको छ । भेरी करिडोरमा निर्माण हुन बाँकी चार पुल आगामी वैशाखसम्म निर्माण सकिने सडक डिभिजन कार्यालयका प्रमुख कर्णको भनाइ छ । सुर्खेत, नेपालगन्जलगायत स्थानमा पुल निर्माणका सामग्री भण्डारण गरी राखिएका छन् । ठेकेदार कम्पनीलाई ती सामग्री छिटो ल्याएर पुल निर्माणको काम सक्न ताकेता गरिरहेको उनले बताए ।

भेरी करिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म १ सय १८ किमि सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । यससँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको कामसमेत थालेको थियो । पहिलो चरणमा जाजरकोटको जिरो पोइन्ट (बोहरा पासागाड) बाट रिम्नासम्मको १७ किमि कालोपत्रको काम सुरु गरिएको हो । काम भने अहिलेसम्म एक मिटर पनि भएको छैन । निर्माणको जिम्मा लिएका ठेकेदारले सडक चौडा बनाउने काम मात्र गरिरहेका छन् ।

जाजरकोट खण्डको भूभागमा वातावरणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम सुरु भएको रुकुम चौरजहारीस्थित सडक डिभिजन कार्यालय प्रमुख आशुतोष कर्णले बताए । कालोपत्रको ठेक्का यती बिल्डर्सले लिएको छ । तर ठेकेदार कम्पनीले जिम्मा लिएको एक वर्षमा सामान्य काम पनि नसकिएको स्थानीय भद्र बोहराले बताए ।

रणनीतिक महत्त्वको यो सडक ०६५ सालमा जाजरकोटको पासागाडदेखि डोल्पा सदरमुकाम दुनैसम्म खन्न सुरु गरिएको थियो । रेखांकन विवादका कारण सुरुका दुई वर्ष सडक निर्माण रोकिएको थियो । तर रेखांकन पुनर्निर्धारण भएपछि ०६६ सालदेखि निर्माणले तीव्रता पाएको थियो । तीन वर्षअघि मात्र नेपाली सेनाले ट्र्याक खोलेर सरकारलाई सडक हस्तान्तरण गरेको थियो ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×