कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियम नमान्ने ९ वाणिज्य बैंक कारबाहीमा परे

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामक निकाय राष्ट्र बैंकको निर्देशन पालना नगर्ने ९ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन उल्लंघन गरेको, विपन्न वर्ग क्षेत्र कर्जा नपुऱ्याएको लगायत शिर्षकमा ती बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

नियम नमान्ने ९ वाणिज्य बैंक कारबाहीमा परे

जसअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन उल्लंघन गरेको भन्दै कृषि विकास बैंकलाई राष्ट्र बैंकले २० लाख रुपैयाँ जरिवाना गरेको छ । तोकिएको सीमाअनुसार विपन्न वर्ग क्षेत्रको कर्जा नपुर्‍याएको भन्दै बैंक अफ काठमाण्डूलाई पनि २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भेटिएपछि प्रभु बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कारबाही स्वरुप सचेत गराइएको छ । यस्तै, नियम विपरित कर्जाको ब्याजदरमा प्रिमियम बढाएको आरोपमा राष्ट्र बैंकले हिमालयन, सनराइज, ग्लोबल आईएमई र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कारबाही स्वरुप सचेत गराएको छ ।

आधार दरभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाइने राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको आरोपमा सनराइज र मेगा बैंक पनि कारबाहीमा परेका छन् । यस्तै प्रमुख कार्यकारी अधिकृत अवकास हुँदा थप सुविधा उपलब्ध गराएको भन्दै राष्ट्र बैंकले सनराइज बैंकको सञ्चालक समितिलाई कारबाही गरेको छ । तीन /चार वर्षसम्म पनि नियमित हुन नसकेको कर्जा (खराब कर्जा) मा कुनै किसिमको नोक्सानी व्यवस्था कायम नगरी झनै कर्जा भुक्तानी सीमा बढाएको भन्दै राष्ट्र बैंकले मेगा बैंकलाई सचेत गराएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?