कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरियाका भान्सामा सिस्नु

बाटोको किनारा, खेतबारी र जंगलमा खेर गइरहेको स्वास्थ्यवर्द्धक सिस्नु म्याग्दीका स्थानीयको आम्दानीको स्रोत
घनश्याम खड्का

म्याग्दी — गरिबको खाना भनेर उपेक्षित यहाँको सिस्नु हिजोआज सहरिया तथा धनीका भान्सामा पाक्न थालेको छ । खासगरी डाइबिटिज (मधुमेह) का बिरामीले खोजीखोजी खान थालेपछि बहुउपयोगी जंगली वनस्पति सिस्नुको माग बढेको हो । होटल, रेस्टुराँको मेनुमा सिस्नु परिकार थपिएका छन् । बाटोको किनारा, खेतबारी र जंगलमा खेर गइरहेको स्वास्थ्यवर्द्धक सिस्नु यतिबेला स्थानीयको आम्दानीको राम्रो स्रोतसमेत बनेको छ ।

सहरियाका भान्सामा सिस्नु

कात्तिक सुरुदेखि सिस्नु टिप्ने ‘पिक सिजन’ सुरु भएसँगै लेकाली बस्तीमा यसको पाउडर उत्पादन गर्ने मात्र नभई प्रायः ग्रामीण बस्तीका गृहिणीहरू चिम्टा र डालो बोकेर खेतबारी र जंगल–जंगल चहार्न थालेका छन् । सिस्नुको कलिलो मुन्टा र फूल खाने गरिन्छ । कलिलो सिस्नुको मुन्टा राम्रोसँग पखालेको गहिरो भाँडोमा राखेर नुन हालेर पकाइन्छ । राम्ररी पाकेपछि डाडुले बिस्तारै घोटिन्छ र लेदो बनाइन्छ । टिमुर, लसुन, प्याज र मसला राखी तातोपानी हालेर केहीबेर पकाएपछि सिस्नु सुप तयार हुन्छ ।

सिस्नु ठूलो हुँदा साना दानादार भई फुल्छ । त्यही फूल टिपेर ल्याएपछि घाममा सुकाई धुलो बनाइन्छ । हिलोआज सिस्नुका कलिला मुन्टा सुकाएर धुलो बनाई प्रयोग गर्ने चलन पनि बढेको छ । सिस्नुमा औषधीय गुण हुने भएकाले पछिल्लो समय सहरी उपभोक्ताको आकर्षण बढेको हो । सिस्नु मधुमेह र मुटुरोगका बिरामीले बढी खोज्ने गरेका छन् । सिस्नुमा भिटामिन, आइरनलगायतका तत्त्व प्रशस्त पाइने भएकाले गर्भवतीका लागि पनि उपयुक्त हुन्छ । ‘परिवारमा अर्को आम्दानी छैन, ३ वर्षदेखि यही सिस्नुको व्यवसायले ६ जनाको परिवार चलेको छ, बचेको पैसाले घरबारी पनि किनें,’ अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारकी पार्वती पुनले भनिन् । पार्वती मात्र होइन, जिल्लाका प्रायः सबै गाउँका महिला धेरथोर सिस्नुको व्यापारमा लागेका छन् ।

सिस्नुको माग बढेपछि यो ग्रामीण महिलाको फुर्सदको व्यवसाय र अतिरिक्त आम्दानीको स्रोत भएको छ । सिस्नु विदेशका आफन्तलाई पठाउने कोसेली बनेको छ । सहरका धेरैको भान्सामा सिस्नु पाक्न थालेपछि सदरमुकाममा सिस्नु, गुन्द्रुक, धजरा, सिमीसमेत रैथाने खाद्यान्न बेच्ने पसल नै खुलेका छन् । सहरका डिपार्टमेन्ट स्टोरमा समेत सिस्नु पाउडर उपलब्ध हुन थालेको छ । ‘सिस्नुको माग बढ्दो छ । बेनीमा रैथाने खाद्यवस्तु बेच्ने धेरै छन् ।

मैले मात्र वर्षमा तीन क्विन्टलभन्दा बढी सिस्नु पाउडर बेच्छु,’ बेनीस्थित धौलागिरि कोसेली घरकी मीना राम्जालीले भनिन् । ग्रामीण महिलाले सिस्नु टिपेर धुलो बनाउँछन् । त्यही धुलो प्रतिकिलो ६ सय रुपैयाँमा किनेर बजारका पसलेले एक हजार रुपैयाँसम्ममा बिक्री गर्छन् ।

सदरमुकाम बेनी बजारमा सिस्नु धुलो बिक्री गर्ने झन्डै एक दर्जन पसल छन् । कतिपय होटलले सुप बनाएरै बेच्छन् । नियमित रूपमा सुप बिक्री गर्ने सदरमुकामको शिख होटलकी सञ्चालक नौमती गर्बुजाले बताइन् । ‘ग्राहक आइरहने भएकाले सुप बिक्री गर्छु,’ उनले भनिन्, ‘यसको माग बढ्दो छ ।’ सिस्नु मान्छेले मात्र होइन परम्परादेखि नै दुधालु गाईभैंसीलाई पनि पोसिलो आहाराका रूपमा खुवाउने गरिथ्यो । एक दिन घाममा सुकाएपछि दुधालु गाईभैंसीलाई सिस्नु खुवाउँदा दूध धेरै दिने तर पनि बाक्लो लाग्ने हुन्छ । सिस्नुको फूल र जरा कुटेर खुवाउँदा कुखुराले बढी अन्डा दिने अनि मासु उत्पादन बढ्ने हुँदा बंगुरलाई पनि खुवाउने चलन छ । सिस्नु पूर्ण आर्ग्यानिक हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भएअनुसार सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्त्व, २४.५ प्रतिशत कुड प्रोटिन, क्रुड फाइबर ८ प्रतिशत, क्रुड फ्याक्ट १.५ प्रतिशत र जलांश ९.८५ प्रतिशत पाइने उल्लेख छ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?