कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षदेखि अलपत्र सडक कालोपत्र योजना

घनश्याम खड्का

म्याग्दी — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सडकअन्तर्गत निर्माण गर्नुपर्ने अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरे–चित्रे १८.५ किमि सडक कालोपत्र कार्यक्रम अलपत्र परेको छ । सडक निर्माण नसकिँदै प्राधिकरणले जिल्लामा रहेको आयोजना कार्यान्वयन इकाइ हटाएपछि सडक स्तरोन्नतिको काम अलपत्र परेको हो । 

एक वर्षदेखि अलपत्र सडक कालोपत्र योजना

सम्झौताअनुसार ०७७ जेठ २२ सम्म कालोपत्र भइसक्नुपर्ने थियो । तर ४५ प्रतिशत मात्रै काम सकेर प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ ०७८ भदौ मसान्तदेखि फिर्ता गरेपछि कामले निरन्तरता नपाएको हो । प्राधिकरणले योजनाको बाँकी काम प्रादेशिक पूर्वाधार कार्यालय म्याग्दीलाई हस्तान्तरण गर्न खोजेको थियो । तर कार्यालयले सकार्न नमानेपछि ०७८ असोज १ देखि योजना अलपत्र छ ।

पोखरे–चित्रे १८.५ किमि सडक कालोपत्र स्तरवृद्धि कार्यक्रम कसले हेर्ने भन्ने विषयमा विवाद रहिरहेकैले गत वर्ष बजेटविहीन भएको प्रतिनिधिसभाका निवर्तमान सदस्य भूपेन्द्रबहादुर थापाले बताए । चालु आर्थिक वर्षमा भने उक्त सडक संघीय मन्त्रालयअन्तर्गत पोखरास्थित पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएको छ । ‘चालु आर्थिक वर्षमा उक्त योजना हेर्ने निकाय टुंगो गरी ८ करोडभन्दा बढी बजेट निकासा भइसकेको छ,’ थापाले भने, ‘अब ठेकेदारसमेत काममा फर्कन्छन् । सोही सडकअन्तर्गत पाउद्वार गाउँ जोड्ने घारखोला पुल पनि अलपत्र परेको थियो, चालु वर्षमा पूर्वाधार कार्यालय पोखरालाई बजेट निकासा भइसकेको छ । काम छिटो हुने विश्वास लिएको छु ।’

पोखरे–चित्रे सडकको भौतिक प्रगति ५४ र वित्तीय प्रगति ५२.२५ प्रतिशत मात्र छ । सम्झौतामा १८.५ किमि सडक कालोपत्र गर्ने उल्लेख भए पनि आयोजनाले समय–समयमा डिजाइन परिवर्तन गरी ४.३ किमि ढुंगाको स्वेलिङ, २.३ किमि आरसीसी ढलान र बाँकी कालोपत्र गर्ने रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइले त्यति बेला बताएको थियो ।

सडकका विभिन्न खोल्सामा भलबाढी तर्काउन ९० एमएमका ११ मध्ये ४ वटा र ६० एमएमका ३३ वटा ह्युमपाइप राख्न बाँकी छ । आयोजना कार्यान्वयन इकाइको पछिल्लो रिभाइज डिजाइनअनुसार पहिरो जोखिमयुक्त क्षेत्रमा पिच गर्दा बेस, सबबेस मिलाउन १० टनभन्दा बढीको रोलिङ मेसिनले लोड दिँदा वरपरको पूरै जमिन भाइब्रेट भई थप पहिरो जान सक्ने भएकाले कतै ढुंगाको सोलिङ मात्र, कतै ढलान र धेरै कालोपत्र गर्न लागिएको आयोजनाका प्राविधिकले बताए । ढुंगा सोलिङ र ढलान ४.४ मिटर चौडा र कालोपत्र भने डबलकोट ३.७५ मिटर र सिंगलकोट ४.५ मिटरको रहने बताइएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?