कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० हजार टन युरिया भित्रियो

३० हजार टन मलमध्ये २० हजार वीरगन्ज र १० हजार टन भैरहवालाई

पर्सा — कृषि सामग्री कम्पनीले ल्याएको १० हजार टन युरिया मल आइपुगेको छ । २ हजार ५ सय टन मल बोकेको एउटा रेलवे र्‍याक बिहीबार वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेलवे स्टेसन आइपुगेको हो । 

१० हजार टन युरिया भित्रियो

भारतको विशाखापट्टनम बन्दरगाह हुँदै रक्सौल रेलवे स्टेसनसम्म कम्पनीको युरिया मल आइपुगेको कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जनाए । त्यहाँबाट ढुवानी गरी कम्पनीको वीरगन्जस्थित विभिन्न गोदाममा मल भण्डारण गर्ने गरिएको छ । हालसम्म चार र्‍याकमा १० हजार टन युरिया मल आइसकेको र निरन्तर यसै गतिमा आइरहे आउँदो डेढ साताभित्र सबै मल भित्रिसक्ने उनले बताए । भारतको आईपीएल कम्पनीले ग्लोबल टेन्डरबाट कम्पनीको ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको हो । उसले ओमानबाट खरिद गरी उक्त मल नेपाल ल्याएको हो । ३० हजार टन मलमध्ये २० हजार वीरगन्ज आउने र बाँकी १० हजार टन मल भैरहवा जाने बताइएको छ । त्यताको मल आईपीएलले भैरहवातर्फको भारतीय नाकामा रेलबाटै पुर्‍याइरहेको छ । कम्पनीको विराटनगर प्रादेशिक कार्यालयले पाउने ७ हजार ५ सय टन मल वीरगन्जबाट ढुवानी गरी त्यसतर्फ लगिनेछ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको युरिया मल माग भएका जिल्लामा परिचालनसमेत भइरहेको कुमारले जनाए ।

हालसम्म सिन्धुली, काठमाडौं, धुलिखेल, त्रिशूली, चन्द्रपुर, नवलपुर, गजुरी, ढल्केवर, कलैया र पर्वत कार्यालयमा गरी १ हजार १८ टन मल परिचालन भइसकेको उनले बताए । तीन र्‍याक मल रक्सौलबाट वीरगन्ज ल्याइसकिएको र अब चौथो र्‍याकमा आएको मलको प्रयोगशाला परीक्षणपछि उक्त मल पनि ल्याइने कुमारको भनाइ छ । गहुँबालीका लागि युरिया मलको माग आउन थालेकाले निर्धारित कोटाबमोजिम मल परिचालन गरिने उनले जनाए ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?