१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोदो उत्पादन बढिरहँदा धान घट्यो

काठमाडौँ — सुदूरपश्चिममा गत वर्ष कोदोको उत्पादन ४०.४९ प्रतिशतले वृद्धि भएको देखिएको छ । तर धान उत्पादनमा भने ३१.४९ प्रतिशतले ह्रास आएको नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

कोदो उत्पादन बढिरहँदा धान घट्यो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा जिल्ला कृषि ज्ञान केन्द्रहरूले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेका कारण कोदो उत्पादनमा वृद्धि भएको अध्ययनमा उल्लेख छ । धान बाली पाक्ने समयमा परेको अत्यधिक वर्षाका कारण धान उत्पादनमा ह्रास आएको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९ मा सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनमा छ । अघिल्लो आर्थिक वर्ष आलुको उत्पादन १७.६९ प्रतिशतले वृद्धि भएको थियो । तेलहन उत्पादनमा भने १३.४६ ह्रास आएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सुदूरपश्चिममा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र घटेको छ । अघिल्लो वर्ष शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा गत वर्ष २.९० प्रतिशतले ह्रास आएको छ । गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.९३ प्रतिशत र धान बालीले ढाकेको क्षेत्रफल १.३९ प्रतिशतले घटेको छ । कोदो, फापर, आलु, भटमासको क्षेत्रफल क्रमशः १९.७०, १२.८४, १.४५ र ४.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै दलहन २७.८४ र तेलहनको क्षेत्रफल १७.८२ प्रतिशतले ह्रास आएको उक्त प्रतिवेदनमा छ । तरकारीले ढाकेको क्षेत्रफल गत वर्ष ३.४५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष ७.३८ प्रतिशतले वृद्धि भएको छ । फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल ७.६५ प्रतिशतले वृद्धि भएको छ । सुदूरपश्चिमअन्तर्गत बाजुरा, बझाङ, दार्चुला, डडेलधुरा र डोटीमा खाद्य तथा अन्न बालीको उत्पादनमा वृद्धि हुँदा अन्य जिल्लामा उत्पादनमा ह्रास आएको हो । सबैभन्दा बढी बाजुरामा ३१.३७ प्रतिशतले उत्पादन वृद्धि हुँदा कैलालीमा २५.६६ प्रतिशतले घटेको छ ।

वनजन्य उत्पादनतर्फ काठ उत्पादन ४५.२२, दाउरा उत्पादन ६१.४१ तथा अन्य उत्पादन ५२.१० प्रतिशतले वृद्धि भएको । औषधिजन्य वस्तु उत्पादनमा भने ३१.८५ प्रतिशतले ह्रास आएको छ । गत वर्ष औषधिजन्य उत्पादन ६८.०७, दाउरा १५.७३ तथा काठ उत्पादन १२.५६ प्रतिशतले वृद्धि भएको थियो । अन्य उत्पादनमा ३३.२३ प्रतिशतले ह्रास भएको थियो । प्रदेश वन ऐन, ०७६ बमोजिम वनक्षेत्रमा रहेका सुक्खाखडा र ढलापडा फलफूल तथा मसला बालीको समग्र उत्पादनमा ६.२५ प्रतिशतले बढेको छ ।

यस समूहअन्तर्गत केरा उत्पादन ३०.३७, अन्य फलफूल उत्पादन २६.६७ र मसला उत्पादन ७.७७ प्रतिशतले वृद्धि भएको छ । तर आँप उत्पादन ४७.६९, स्याउ उत्पादन २.९९ र सुन्तला उत्पादन १.३२ प्रतिशतले घटेको छ ।

पशुपन्छी उत्पादनअन्तर्गत दूध उत्पादन १.५९ प्रतिशतले बढेको छ । गत वर्ष १.१६ प्रतिशतले बढेको थियो । ‘मासुजन्य उत्पादन १.५५ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा मासु उत्पादन १.५९ प्रतिशतले वृद्धि भएको थियो,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.१७, खसी/बोका/भेडाको मासु उत्पादन १.५२, सुँगुर/बंगुरको मासु उत्पादन १.५ र भैंसी/राँगोको मासु उत्पादन १.२३ प्रतिशतले बढेको छ ।’ बसाइँसराइका कारण बाँझो हुँदै गएको पहाडी जिल्लाहरूका खेतीयोग्य जमिनलाई लिज एवम् करार खेतीमार्फत श्रम र सीप हुनेहरूमा पहुँच पुर्‍याई कृषि उत्पादन बढाउन सकिने राष्ट्र बैंकले जनाएको छ । सिँचाइको अथाह सम्भावनाका बाबजुद त्यससम्बन्धी परियोजना निर्धारित समयमै सम्पन्न नहुँदा सिँचाइका लागि मौसमी निर्भरतालाई समेत न्यूनीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सुदूरपश्चिमको कृषि क्षेत्रमा गत आर्थिक वर्षमा २६ प्रतिशतले कर्जा वृद्धि भई कुल १५ अर्ब २२ करोड ५४ लाख रुपैयाँ प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४७.६३ प्रतिशतले वृद्धि भएको थियो । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १८.७६ प्रतिशत छ भने सबैभन्दा कम ०.००३ प्रतिशत सुर्तीमा प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कैलालीमा ६५.५४ प्रतिशत र सबैभन्दा कम बाजुरामा १.०६ प्रतिशत छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?