कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब काठमाडौं महानगरले सहकारीको नियमित अनुगमन गर्ने

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारी संघसंस्थाको नियमित रुपमा अनुगमन गर्ने भएको छ । महानगरभित्र भएका सहकारीहरुमा आफ्नो रकम जोखिममा परेको भन्दै सर्वसाधारणबाट उजुरी आउने क्रम बढेकाले  नियमित अनुगमन गर्नु परेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

अब काठमाडौं महानगरले सहकारीको नियमित अनुगमन गर्ने

सहकारीको नियमित अनुगमनका लागि कार्यपालिकाअन्तर्गत सहकारी समिति गठन गर्ने पनि उनले बताइन् । ‘आफ्नो बचत जोखिममा परेको भन्दै उजुरी आउने क्रम बढेको छ,’ महानगरअन्तर्गत सहकारी विभागको काम र योजनाका विषयमा बुधबार भएको अन्तर्क्रिया कार्यक्रममा डंगोलले भनिन्, ‘जनसाधारणले जम्मा गर्ने यो बचत रकमको जोखिम घटाउन सहकारीहरुमा नियमित अनुगमन गर्नुपर्छ ।’

विभागले अहिले १ सय १८ वटा सहकारीको उजुरी सुनुवाई गरिरहेको छ । जसमध्ये ७१ वटा आफैं हेरिरहेको छ भने ४७ वटालाई कारबाहीका लागि प्रहरीमा पठाएको छ । आफैं हेरिरहेको सहकारीका उजुरीहरुमा बचत फिर्ता, ब्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्यसमिति विवाद, लेखा समिति विवाद, ऋण असुली लगायत विषय रहेको महानगरले जनाएको छ।

हाल काठमाडौं महानगरपालिका क्षेत्रमा १ हजार ९ सय ५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी हुन् । २ सय ६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामूलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक/एक वटा र अन्य ५ वटा सहकारी छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?