कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

मुड्खु–तीनपिप्ले सडकलाई दुई महिनापछि बजेट

बालाजु–रानीपौवा–त्रिशूली खण्डको ठेक्काबारे अझै अन्योल
विमल खतिवडा

काठमाडौँ — बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्ड निर्माणका लागि करिब दुई महिनापछि अर्थ मन्त्रालयले रकमान्तर गर्न स्विकृती दिएको छ । सडकको भ्याटसहित ठेक्का रकम १५ करोड रुपैयाँ रहेकोमा पहिलो चरणमा १० करोड रुपैयाँ रकमान्तरका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थमा पठाइएको थियो ।

मुड्खु–तीनपिप्ले सडकलाई दुई महिनापछि बजेट

अहिले १० करोड रुपैयाँ मात्र आएको बालाजु–रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठले बताए । ‘अब थप पाँच करोड रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘त्यसकालागि अन्य आयोजनाको बजेटबाट रकमान्तर गरेर स्विकृतीकालागि अर्थ मन्त्रालय पठाइनेछ ।’

उनका अनुसार बेनी–जोमसोम सडक खण्डको १० करोड रुपैयाँ रकम रकमान्तर गरी स्विकृतीका लागि पठाइएको थियो । यो ठेक्का माघ २६ भित्र सक्नुपर्नेछ । ‘तोकिएको समयभित्र ठेकेदारले काम सक्नै पर्नेछ,’ प्रमुख श्रेष्ठले भने, ‘नसके ठेक्काको म्याद थप हुने छैन ।’ ठेक्का सम्झौता गत असोज २६ गते भएको हो । तोकिएको समयभित्र काम नसकिए ठेक्काको म्याद थप नहुने सडक विभागले जनाएको छ । ठेक्का कमलजीत–ड्रागन जेभीले पाएको हो । ‘अहिले वाल,नाली बनाउने र वेश राख्ने काम भइरहेको छ,’ उनले भने ,‘ठेक्का सम्झौता भएदेखि नै काम जारी छ ।’

बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरी बीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्ने भन्दै ठेक्का गरिएको हो । काठमाडौंको फोहोर लैजान सडकका कारण समस्या भएपछि चाँडो निर्माण सक्नेगरी ठेक्का गरिएको आयोजनालो जनाएको छ । बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । सातपटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ८ मा तीन वर्षका लागि कालोसूचीमा राखेको छ । बाँकी रहेको १२ किमि सडक खण्डको लागत अनुमान तयार पार्ने काम जारी रहेको आयोजनाले जनाएको छ ।

सुरुमा बालाजु–रानीपौवा खण्डको कुल ठेक्का रकम ३४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेकोमा १८ करोड ९५ लाख ४७ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । रानीपौवा–त्रिशूली खण्डको पनि ठेक्का तोडिसकिएको छ । पटकपटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो, जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्जुन–कोसी एन्ड न्यौपाने कम्पनीले जेभीमा लिएको हो । यस कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत साउनमा कालोसूचीमा राखिएको हो । जुन खण्डको दूरी ३४.१८ किमि छ ।

सडक विभागका अनुसार रानीपौवा–त्रिशूली खण्डमा सुरुदेखि नै काममा प्रगति थिएन । रानीपौवा–त्रिशूली खण्डको सुरु ठेक्का रकम ५० करोड ४२ लाख ९५ हजार रुपैयाँ हो । यसमध्ये २० करोड ७४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बालाजुदेखि मुड्खुसम्म कालोपत्र गरिए पनि सबैभन्दा बढी खाल्डाखुल्डी यही खण्डमा छ । रानीपौवा–त्रिशूली खण्डमा बर्खाले बनाइ सकेको सडक भत्किएको छ । ‘दुबै खण्डको ठेक्का एकैपटक गर्ने तयारी हो,’ प्रमुख श्रेष्ठले भने, ‘एउटै प्याकेजमा भने नहुन सक्छ ।’

प्रकाशित : कार्तिक २६, २०७९ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?