कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२७ करोडको हिसाब छैन, नमस्ते सहकारी कारबाहीको दायरामा

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका—६ नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडबाट सेवाग्राहीको रकम हिनामिना भएको भन्दै लुम्बिनी सहकारी बोर्डले कारबाही प्रक्रिया अघि बढाएको छ । उक्त संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो करिब दूई सातादेखि सम्पर्कविहीन छन् ।

२७ करोडको हिसाब छैन, नमस्ते सहकारी कारबाहीको दायरामा

सम्पर्कविहीन भएलगत्तै लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयले आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको जनाएको छ । जस अनुसार सेवाग्राहीका २७ करोड रुपैयाँ जम्मा भएको देखिएको जनाएको छ ।

तीमध्ये कति रकम लगानी भएको छ यकिन तथ्यांक छैन । केही फर्जी धितो बिनाको रकम झिकेको प्रारम्भिक अध्ययनमा भेटिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । ३ करोड रकम विभिन्न शिर्षकमा कर्मचारीले झिकेको उनले जनाए ।

यससँगै पछिल्लो समय जम्मा गरेको आफ्नो रकम झिक्न पाउँ भन्दै दैनिक रुपमा सहकारीमा आउने सेवाग्राहीको संख्या बढ्दो छ । संस्थाको कार्यालय बन्द भएकाले उनीहरूले स्थानीय प्रहरी प्रशासनमा निवेदन दिनुका साथै कारबाहीको माग गरेका छन् ।

बचत सहकारीमा रकम जम्मा गर्नेमा तरकारी, फलफूल, अण्डा बेच्ने व्यवसायीदेखि ठूला व्यापारी रहेका छन् । आकर्षक व्याजका लोभले केहीले सरकारी बैंकबाट ऋण लिएर उक्त सहकारीमा जम्मा गराएको स्रोतले बतायो । जहाँ २० हजारदेखि १ करोडभन्दा बढी रकम राख्ने बचतकर्ता पनि रहेको बताइएको छ ।

स्थानीय राजेश रेग्मीले बचतकर्ताको रकम अविलम्ब फिर्ता हुनुपर्ने भन्दै बचतकर्ताको पक्षमा आवाज उठाएका छन् । 'निकै दुःख गरी कमाएको धन फिर्ता नदिई सञ्चालक र प्रबन्धक फरार भएकोले राज्यले आवश्यक कारबाही गर्नुपर्छ,' उनले भने ।

उक्त संस्थाका सञ्चालक र प्रबन्धक सम्पर्कविहीन भएपछि यहाँका अन्य बचत सहकारीमा पनि आफ्ना रकम लिई खाता बन्द गरेको स्थानीयले बताए ।

अनुगमनकारी निकाय जिल्ला सहकारी संघ लगायतले नियमित नियमन नगरेको कारण यस्तो अवस्था आएको सेवाग्राहीले गुनासो पोखे ।

उक्त सहकारीमा भने तीन/तीन महिनामा गरिने लेखापरीक्षण समेत नगरिएको पाइएको छ । अध्यक्ष र प्रबन्धकले बैठक बसेको भन्दै संस्थाका पदाधिकारीको घर पुगेर सही गराउने गरेको सचिव मुकुन्द सुवेदी बताउँछन् । 'बचतकर्ताको रकम फिर्ता गर्नु पर्छ,' उनले भने 'फरार भएका रिजाल र महतोलाई पक्राउ गरेपछि वास्तविकता आउने छ ।'

रिजाल र महतो भारतमा भएको आशंका प्रहरी प्रशासनको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले उनीहरूको फोन स्विच अफ भएकोले प्रहरीले खोजी कार्य गरिरहेको जानकारी दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाले भने यसअघि सेवाग्राहीको रकम जसरी भए पनि फिर्ता गर्नुपर्ने बताएका थिए। यसैबीच लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्षसहितको टोली बुधबार बर्दिया आएर सहकारीका अन्य पदाधिकारी, बचतकर्ता, शेयरधनी लगायतसँग छलफल गरिरहेको छ ।

साथै यस घटनाबारे छानबिन समितिले काम गरिरहेको लुम्बिनी सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले बताए । उनले उक्त संस्थाका अध्यक्ष रिमाल र प्रबन्धक महतो फरार हुनु नै दोषी भएको प्रष्ट भएकाले कारबाहीको दायरामा ल्याउने बताए ।

लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयले छानबिन सुरु गरेको जनाएको छ । यस सम्बन्धमा लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले छानबिन प्रक्रिया अघि बढिरहेको जनाए । 'आवश्यक परे खाता बन्द गरिने छ,' उनले भने 'सञ्चालक समितिका सदस्यले ग्राहकको समस्या समाधान गर्ने प्रयत्न गरिरहेकाले अहिले खाता बन्द गर्दा समस्या आउनेछ ।'

यस घटनाका सम्बन्धमा प्रदेश सरकारले केन्द्रसँग पनि समन्वय गरेर कडा कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रदेश अर्थ तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २३, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×