मस्कको नीतिले ट्विटरका प्रयोगकर्ता अन्य सञ्जालमा सर्ने सम्भावना

एजेन्सी

काठमाडौँ — सर्वाधिक ४४ अर्ब डलरमा ट्विटर किनेयता इलन मस्कले कम्पनीमा अनेक विवादास्पद फेरबदल गरिरहेका छन् । यसले कतिपय प्रयोगकर्तालाई रुष्ट बनाएको छ । उनीहरू ट्विटरको विकल्प खोज्न थालेका छन् ।

मस्कको नीतिले ट्विटरका प्रयोगकर्ता अन्य सञ्जालमा सर्ने सम्भावना

ट्विटरमा भइरहेका परिवर्तनपछि मास्टोडनलगायत प्लाटफर्मले आफ्ना प्रयोगकर्ता उल्लेख्य मात्रामा बढिरहेको दाबी गरिरहेका छन् । युजर भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने र कन्टेन्ट मोडरेसन खुकुलो गरिनेजस्ता इलनका निर्णयपछि ट्विटरका प्रतिस्पर्धी सामाजिक सञ्जालका माध्यममा प्रयोगकर्ताको रुची र चासो बढेको र यसले प्रयाेगकर्ता सर्ने संभावना रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम राेयटर्सले जनाएको छ ।

के के छन् त ट्विटरका विकल्प ?

मास्टोडन
सन् २०१६ मा सुरु भएको यो कम्पनीका धेरै फिचर ट्विटरसँग मिल्दाजुल्दा छन् । यसमा विज्ञापन आउँदैन र अधिकतम ५ सय शब्दसम्म लेख्न मिल्छ । यसका मासिक १० लाख सक्रिय प्रयोगकर्ता छन् । अक्टोबर २७ यता झण्डै पाँच लाख नयाँ प्रयोगकर्ता थपिएको कम्पनीका प्रमुख कार्यकारी युगेन रोच्कोले बताएका छन् ।

कोहोस्ट
यो पनि विज्ञापनरहित सामाजिक सञ्जाल माध्यम हो । यसमा गरिएका पोस्टहरू ट्विटरमाझैं पछिल्ला पोस्ट सबैभन्दा माथि देखिन्छन् । यो एप चलाउन मासिक केही शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । चाँडै नै सब्क्रिप्सन खुला गर्ने पनि बताइएको छ ।

ट्रुथ सोसल
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेको यो कम्पनी दक्षिणपन्थीहरूमाझ चर्चित छ । हालै मात्र एप्पलको आईओएस र गुगलको स्वामित्व रहेको एन्ड्रोइडमा यो एपलाई समावेश गरिएको छ । यो एप संयुक्त राज्य अमेरिकामा मात्रै उपलब्ध छ । ट्विटर लगायत सामाजिक सञ्जालले आफ्ना खाता बन्द गरिदिएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सुरु गरेका थिए ।

ट्राइबल सोसल
यसमा प्रयोगकर्ताले लक्षित समुदायका लागि सामाग्री पोस्ट गर्न सक्छन् । यसले पोस्टहरूमा इन्गेजमेन्ट र बहस बढाउन मद्दत गर्ने कम्पनीको भनाइ छ । यो एप एप्पलको एप स्टोर र एन्ड्रोइडको प्लेस्टोर दुवैमा उपलब्ध छ ।

पार्लर
सन् २०१८ मा अमेरिकाको नासभिलमा स्थापना भएको यो सामाजिक सञ्जाल कम्पनी पनि दक्षिणपन्थीमाझ नै चर्चित छ । केही समयअघि र्‍यापर ये (कान्य वेस्ट) ले किन्न चाहेमा पार्लर बेच्न तयार रहेको यसका मालिकहरूले बताएपछि पार्लर थप चर्चामा आएको थियो । मेटा प्लाटफर्म (फेबसुक, इन्स्टाग्राम) र ट्वीटरका नीतिसँग असहमत जमातले पार्लर चालउने गरेका छन् ।

टम्बलर
सन् २००७ मा स्थापना भएको यस सोसल मिडिया साइटमा प्रयोगकर्ताले लामा, ब्लग शैलीका कन्टेन्ट, फोटो र जिफसमेत पोस्ट गर्न सक्छन् । ट्वीटरको डाइरेक्ट म्यासेजझैं यसमा प्रयोगकर्ताले आपसमा सन्देश आदनप्रदान गर्न सक्छन् ।

क्लबहासउ
लकडाउनका बेला हामीकहाँ पनि असाध्यै लोकप्रिय भएको यो एपमा लाइभ अडियो च्याट गर्न मिल्छ । यसका सार्वजनिक ‘रुम’ हरूमा विश्वभरका मानिससँग बोल्न वा तिनका कुरा सुन्न सकिन्छ । सार्वजनिक चासोका विषयमा च्याटरुम सुरु गरेर वार्तालाप गर्न मिल्छ ।

प्रकाशित : कार्तिक २३, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?