३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बर्खाले सडकमा ३ अर्बको क्षति

विमल खतिवडा

काठमाडौँ — बर्खाका कारण आएको बाढीपहिरोले सडक पूर्वाधारमा ३ अर्ब रुपैयाँको क्षति भएको छ । असोजसम्म परेको पानीका कारण आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति कर्णाली राजमार्गमा भएको छ । दसैंका बेला लगातार पानी परेपछि चाडबाडमा घर हिँडेकाहरू पहिरोका कारण बीच बाटोमै अलपत्र परेका थिए । अहिले पनि केही सडक ठप्प रहेको सडक विभागले जनाएको छ ।

बर्खाले सडकमा ३ अर्बको क्षति

सुरुमा कर्णाली राजमार्गका दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेर समस्या भए पनि अहिले धेरै स्थानको सडक खुलेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘पछिल्लो समय कर्णालीमा अवरुद्ध सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ,’ थापाले भने, ‘खुलालु–सिमीकोट खण्डमा भने अहिलेसम्म सवारी सञ्चालनमा ल्याउन सकिएको छैन ।’ बाढीपहिरोबाट यस पटक सडक पूर्वाधारमा ठूलो क्षति भएको छ । कतै कालोपत्रे सडक बगेको छ, कतै ठूला ढुंगा खसेर सडक भत्किएका छन् । ‘क्षतिको विवरण सबैतिरबाट मागेका छौं,’ थापाले भने, ‘सडकलाई पहिलेकै अवस्थामा ल्याउन अनुमानित ३ अर्ब रुपैयाँ लाग्ने देखिन्छ ।’

करिब तीन महिनादेखि अवरुद्ध बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकमा गत आइतबारबाट सवारी गुड्न थालेका छन् । ‘दसैंपछि यो खण्डमा काम गर्न सजिलो भयो,’ उनले भने, ‘लामो मिहिनेतपछि सडक चलाउन सकिएको हो ।’ उक्त सडक गत साउन १८ देखि अवरुद्ध थियो । लेदोसहितको पहिरो खस्ने क्रम नरोकिँदा दसैंमा सडक सञ्चालनमा आउन सकेन । सडक अवरुद्ध हुँदा आवतजावत मात्र होइन, खाद्यान्न ढुवानीसमेत ठप्प बनेको थियो । सवारी चल्ने ठाउँसम्म खाद्यान्न ल्याउने त्यहाँबाट मान्छेले बोकेर गाडी चल्ने ठाउँसम्म लग्नुको विकल्प थिएन ।

‘बर्खाले कर्णाली राजमार्गको सुर्खेतबाटै समस्या आएको थियो, सुर्खेत र दैलेख खण्डमा समस्या आउनेबित्तिकै पहिरो पन्छाएर सवारी चलाइयो,’ उनले भने, ‘तर सडक बगेका ठाउँमा समस्या भएको छ । ठूला ढुंगा आएर सडकमा बसेकाले पन्छाउन समस्या भएको हो ।’ मान्मा–जुम्ला सडकखण्डमा अझै समस्या छ । सबैभन्दा बढी क्षति नाग्मा खण्डमा भएको सडक विभागको भनाइ छ । ‘यस क्षेत्रमा सडक साँघुरा छन्, एक लेनको सडक भएको र पहिरोले भत्किँदा सवारी सञ्चालनमा कठिनाइ भएको छ,’ थापाले भने, ‘कालीकोटको पिलीदेखि अघिदेखि ७ किमि सडक अझै ठप्प छ ।’ उक्त खण्डमा ठूला ढुंगा झरेर बसेकाले फुटाएर सडक चलाउने तयारी भइरहेको छ ।

‘कति सडक त खोलै किनारबाट भत्किएका छन्, सडकमा खोलो छ,’ उनले भने, ‘त्यस्ता सडकमा ग्याबिन पर्खाल लगाएर सञ्चालन गर्ने काम हुँदै छ ।’ खोड्पे–बझाङ सडक दसैंलगत्तै अवरुद्ध बन्यो । पहिरो खसेर ठप्प सडक अहिले सञ्चालनमा आएको महानिर्देशक थापाले बताए । कर्णाली करिडोरको खुलालुबाट ४ किमिअघिको सडकमा २ सय मिटर माथिबाट ढुंगा खसेर सडक बन्द छ । ‘यस खण्डमा ढुंगा खसिरहेकाले पहिरो पन्छाउने मेसिनसमेत लग्न सकिएको छैन,’ उनले भने, ‘ढुंगा खस्ने क्रम नरोकिएसम्म यस खण्डमा काम गर्न सक्ने अवस्था छैन ।’ दसैंताका मुस्ताङ र मनाङ जोड्ने सडक पनि पहिरोले ठप्प थिए । अहिले ती खण्डमा समस्या नभएको सडक विभागको दाबी छ । ‘धेरै सडक एकतर्फी भए पनि चलेका छन्,’ थापाले भने, ‘पानी परिहाले समस्या हुने हो, नत्र हिउँदमा मर्मत गरेर पहिलाकै अवस्थामा सडकलाई पुर्‍याइनेछ ।’ सडक मर्मतका लागि सडक बोर्ड नेपालबाट २० करोड रुपैयाँ आएको र त्यसैले सामान्य पहिरो पन्छाउने काम भएको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १६, २०७९ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?