कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

आयात प्रतिबन्धले व्यापार घाटामा सुधार

कमल नेपाल

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन, भदौ र असोजको समग्र व्यापार स्थितिअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात १६.२ प्रतिशतले घटेको छ ।

आयात प्रतिबन्धले व्यापार घाटामा सुधार

गत वर्ष सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षमा केही वस्तुमा लागेको प्रतिबन्धले आयात घट्न पुगेको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । ‘प्रतिबन्ध खोल्दा आयात बढ्न जान्छ, धेरै सवारीसाधन भन्सारमा आएर जाँचपास नभई थन्किएका छन्,’ उनले भने, ‘भन्सार पास भएपछि बल्ल यसको तथ्यांक देखिन्छ ।’

सरकारले मंसिर मसान्तसम्मका लागि चारपांग्रे सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल र तयारी विदेशी मदिराको आयात प्रतिबन्ध गरेको छ । उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाख दोस्रो सातादेखि नै आयातमा प्रतिबन्ध लगाएको हो । बीचमा भदौ १४ देखि भने ६ प्रकारका वस्तुको आयात खुलाइए पनि चार प्रकारका वस्तुमा प्रतिबन्ध कायमै छ ।

आयात १६ प्रतिशत घट्दा निर्यात भने ३५ प्रतिशत घटेको छ । साउन, भदौ र असोजमा समग्र ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जब कि गत वर्षको यसै अवधिमा ६५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । खासगरी सोयाबिन र पाम तेल निर्यात प्रभावित भएसँगै समग्र निर्यातमा कमी आएको खड्काले बताए ।

‘मुख्यतः युक्रेनबाट भटमास आयात हुन्थ्यो, त्यसैलाई प्रशोधन गरी निर्यात गरिन्थ्यो, युक्रेनमाथि रुसको आक्रमणसँगै यसको आयात घट्न गयो, निर्यात पनि स्वाभाविक रूपमा कमी आयो,’ खड्काले भने, ‘अर्कोतर्फ भारतले कर घटाएपछि पाम तेलको निर्यातमा कमी हुन गयो ।’ भटमास र पामको आयात पनि घटेको उनको भनाइ छ । ‘भटमास र पामको आयात कम भयो । प्रशोधित तेलको निर्यात पनि घट्यो । यसले आयातलाई भन्दा निर्यातलाई बढी प्रभाव पार्‍यो ।’

आयात घटेकाले समग्रमा तीन महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ छ । व्यापार घाटा १३ प्रतिशतले घटेको छ । गत वर्षको तीन महिनामा कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ थियो । मुलुकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । विभागका अनुसार तीन महिनामा २९ अर्ब २९ करोड रुपैयाँको डिजेल, १८ अर्ब २२ करोडको पेट्रोल, १४ अर्ब ९४ करोड रुपैयाँको एलपी ग्यास र ५ अर्ब १५ करोड रुपैयाँ बराबरको हवाई इन्धन भित्रिएको छ ।

समग्र आयात घट्दा पनि पेट्रोलियम पदार्थको आयात भने बढेको छ । कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा नै १६ प्रतिशत नाघेको छ ।

प्रकाशित : कार्तिक १४, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?