बुटवल-नारायणगढ सडक ठेकेदारलाई अन्तिम २१ दिने समय, प्रगति नदेखिए ठेक्का तोडिने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल-नारायणगढ सडक ठेकेदारलाई अन्तिम २१ दिने समय, प्रगति नदेखिए ठेक्का तोडिने

विमल खतिवडा

काठमाडौँ — निर्माणमा प्रगति नभएको भन्दै सूचना निकालेर ठेक्का तोड्ने तयारी गरिएको नारायणगढ–बुटवल ठेकेदार कम्पनीलाई फेरि थप २१ दिनको समय दिइएको छ । गत असोज ९ गते नारायणगढ–बुटवल सडक योजना कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्दै २८ दिनभित्र अपेक्षाकृत प्रगति नदेखिए सिधै ठेक्का तोडिने चेतावनी दिएको थियो । तर प्रगति नभएपनि ठेकेदारको आग्रहमा अन्तिम पटक २१ दिनको समय दिइएको योजना कार्यालयले जनाएको छ ।


थपिएको समय अनुसार कात्तिक २९ भित्र ठेकेदारले निर्माण प्रगति बढाउनु पर्ने छ । आयोजना निर्देशनालयका निर्देशक सुशीलबाबु ढकालका अनुसार उक्त समयभित्र प्रगति नबढे ठेक्का तोडिने छ । अन्तर्राष्ट्रिय परामर्शदाताबाट २१ दिनको समय दिने निर्णय भएको उनले जानकारी दिए । 'यसअघि दिइएको समयमा १० दिनजति अस्वभाविक वर्षा भएकाले सोचेजस्तो काम गर्न नपाएको भन्दै ठेकेदारले समय थप गर्न माग गरेको थियो' निर्देशक ढकालले भने । निर्माण कम्पनीले यसअघि थपिएको समयमा उल्लेख्य प्रगति गरेकाले पनि २१ दिनको समय दिने निर्णय भएको उनको भनाइ छ ।

‘पहिलाका सबै शर्तहरु कायम हुने गरेर समय थप गरिएको हो,’ उनले भने, ‘तर यो अन्तिम मौका हो, फेरि थपिएको समयमा प्रगति नभए बीचमै ठेक्का तोड्न सकिने छ ।’ २८ दिनको समयमा के कति प्रगति भयो भन्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुन थापासहितको टोली स्थलगत अध्ययनका लागि सोमबार जाने उनले बताए ।

‘पटक पटक सचेत गराउँदा पनि काम नगरे अन्तिम विकल्पका रुपमा ठेक्का तोड्ने नै हो,’ निर्देशक ढकालले भने, ‘त्यसैले अब राम्रो काम गरे काम गर्न दिइने छ, नभए कुनै बहानाबाजीमा ठेक्का तोड्न रोकिने छैन ।’ यसको ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर म्याद सकिँदा प्रगति बल्ल २० प्रतिशत हाराहारी छ । गत साउन २२ मा पूर्वी खण्डमा ३८४ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ । ‘थपिएको समयमा खाल्डाखुल्डी पुर्नुपर्छ भनिएको थियो, त्यो पुरा गरेको छैन,’ उनले भने, ‘प्रगति पनि बढाउन भनिएको थियो, त्यो पनि हुन सकेन, अब पटक पटक खाल्डाखुल्डी पुर्न भन्न नपरोस्, आफ्नो दायित्वभित्र परेपछि यो काम आफैं जानेर गर्नु पर्छ ।’

प्रकाशित : कार्तिक १३, २०७९ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

दसैं मनाउन १८ लाखले उपत्यका छाडे

विमल खतिवडा

काठमाडौँ — यस वर्षको दसैं मनाउन करिब १८ लाखले उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान रहेको उनले बताए ।

दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरका अनुसार गत वर्ष करिब १६ लाख यात्रुले उपत्यका छाडेका थिए । ‘कोभिडपछि उपत्यकाबाट बढी यात्रु यही दसैंमा बाहिरिएका हुन्,’ स्वाँरले भने, ‘सोमबारसम्म १९ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’ यात्रुको चाप बढी हुँदा सवारी व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ ।

सुदूरपश्चिम जाने यात्रुको संख्या धेरै हुँदा त्यो क्षेत्रका लागि सवारी व्यवस्थापनमा समस्या भएको हो । ‘काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनलाई अपुग भएको ठाउँमा पठाइएको छ,’ उनले भने । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि शनिबार साँझसम्म ६२ हजार ४४ सार्वजनिक सवारी बाहिरिए भने ४ लाख ६९ हजार ३ सय ७ यात्रुले उपत्यका छाडेका छन् ।

धनगढीकी कल्पना रोकाय दसैंका लागि घर जान भन्दै टिकट लिन गत शुक्रबार सबेरै नयाँ बसपार्क पुगिन् । बिहान ३ बजे लाइन बसेकी उनले ८ बज्दासम्म टिकट पाइनन् । टिकट नपाएपछि काउन्टरका कर्मचारीलाई सोध्दा बस छैनन्, कसरी टिकट दिऊँ भन्दै पन्छिए । तर त्यहीं व्यवसायीले ३५ सय दिए टिकट छ भनिरहेका थिए । जबकि यातायात व्यवस्था विभागले काठमाडौंदेखि धनगढीसम्मको भाडा १९६२ रुपैयाँ तोकेको छ । सुपर एसी र एसी गाडी भन्दै व्यवसायीले बढी भाडा लिने गरेका छन् ।

‘प्रहरीले बढी भाडा लिनेलाई कारबाही गर्नुको साटो उल्टै मयूर यातायातमा ३ हजार रुपैयाँको टिकट काटेर जान दबाब दिइरहे,’ रोकायले भनिन्, ‘उक्त गाडीमा जानेको नाम मात्र टिपिएको थियो, टिकट दिएको देखिएन, बिनाटिकट नै यात्रुलाई जबर्जस्ती गाडी चढ्न दबाब दिइएको थियो ।’ प्रहरी र व्यवसायीले गाडी छैन भन्दै यात्रुलाई डर देखाएर बढी भाडा लिई गाडी चढ्न दबाब दिएको उनको आरोप छ । ‘सोर्स लगाएर आउनेले तुरुन्त टिकट पाउँथे,’ उनले भनिन्, ‘निकै कष्ट सहेर धनगढी रुटमै चल्ने बसको टिकट पाएँ ।’

जिम्मेवार निकाय लाचार बन्दा व्यवसायीले यात्रुसँग मनपरी भाडा असुलिरहेको उनको भनाइ छ । ‘काउन्टरनजिकै यात्रु सहायता कक्ष राखिएको छ, त्यहीं बस्ने प्रहरीले बढी भाडा लिन र गाडी चढ्न दबाब दिन्छन्,’ उनले भनिन्, ‘कारबाही गर्ने निकायको हालत यस्तो छ, यात्रुले कसलाई गएर गुनासो गर्ने ?’ समस्या रोकायको मात्र होइन, पूर्वदेखि पश्चिम जाने सबैजसो यात्रुले तोकिएको भन्दा बढी भाडा तिरेर गन्तव्यमा पुगे । केही यात्रु भने गाडीमा सिट नहुँदा टुल, मुडामा बसेर घर जान बाध्य भए । टिकट नपाएपछि रिजर्भमा जाने यात्रु गाडी व्यवसायीले जति पैसा माग्छन्, त्यति तिर्न बाध्य छन् । टिकट नपाएपछि यात्रु दोब्बर भाडा तिरेर घर जान बाध्य छन् । गुनासो गर्दा कसैले चासो नदिएको यात्रुहरू बताउँछन् । ‘टिकट लिन जाँदा काउन्टरका कर्मचारी प्रहरीका डीआईजी, एआईजी र मन्त्री, नेताको बुकिङ छ, त्योभन्दा अरूको टिकट छैन भन्दै कुरै सुन्दैनन्,’ काठमाडौंबाट इलाम जाने एक यात्रुले भने, ‘निकै प्रयास गरें, इलामसम्मको टिकट नपाएपछि झापा बिर्तामोडसम्मको मात्र टिकट पाएँ ।’ यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने बढी भाडा लिनेलाई कारबाही गरेको दाबी गरिरहेका छन् ।

बढी भाडा लिनेलाई कारबाही गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले बताए । ‘पहिलाभन्दा अहिले गुनासो कम छ, टाढा जाने यात्रुको हकमा गाडीको समस्या छ,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनलाई समस्या भएको ठाउँमा पठाएर व्यवस्थापन गरेका छौं ।’ कोभिडलगायत कारणले दुई वर्षदेखि घर जान नपाएका यात्रु यो दसैंमा गएका छन् । ‘सुरुमा गाडी नभएर पनि समस्या भएको हो,’ पाण्डेले भने, ‘तोकिएको भन्दा बढी भाडा लिनेलाई जरिवाना गरेर लिएको रकम फिर्ता गराइएको छ ।’ काठमाडौं, साँगासहित १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुको गुनासो सुन्ने गरिएको उनको भनाइ छ ।

यात्रुसँग बढी भाडा लिने ५४ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताए । ‘कोटेश्वरमा बिहान यात्रुको चाप बढी हुन्छ । त्यसैले यो खण्डमा धेरैबेर गाडी रोकेर यात्रु चढाउन र झार्न दिइएको छैन,’ उनले भने, ‘एकछिन अड्किए गाडीको ताँती गौशालासम्म पुग्छ । त्यसैले यस क्षेत्रमा त्यहीअनुसार ट्राफिक व्यवस्थापन गरेका छौं ।’ दसैंका लागि सोमबारसम्म उपत्यकाबाट बाहिरिने यात्रु हुनेछन् । नयाँ बसपार्क, कलंकी, कोटेश्वरमा दसैंका लागि घर जाने यात्रुहरूको भिडमभीड छ । पश्चिम जाने यात्रुको भीड कलंकी र नयाँ बसपार्कमा लाग्ने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले काउन्टरमा टिकट काट्नेले यात्रुसँग बढी भाडा नलिएको दाबी गरे ।

प्रकाशित : आश्विन १७, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×